भरतपुर महानगर कार्यपालिकामा कांग्रेसको बहुमत
भरतपुर महानगरपालिकाको नगर कार्यपालिकामा नेपाली कांग्रेसको उपप्रमुख सहित बहुमत सदस्य निर्वाचित भएका छन्।
कार्यपालिका सदस्यको जेठ २४ गते भएको निर्वाचनमा आठमध्ये पाँच जना कांग्रेसबाट निर्वाचित भएसँगै कार्यपालिकामा कांग्रेसको बहुमत भएको हो।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको सूचना अनुसार कार्यपालिकाको महिला सदस्यमा पाँचमध्ये चार जना कांग्रेसबाट निर्वाचित भएका छन्। कांग्रेसबाट वडा सदस्यमा सिर्जना अधिकारी, सुकमाया परियार, शारदा पोखरेल र नर्मदा सापकोटा निर्वाचित भएका हुन्। यस्तै, नेकपा (माओवादी केन्द्र) की बीना नेपाली पनि निर्वाचित भएकी छन्।
दलित तथा अल्पसङ्ख्यकबाट कांग्रेसका गोपाल दराई, माओवादी केन्द्रका विष्णुबहादुर भुजेल र नेकपा (एकीकृत समाजवादी)की कोपिला उपरकोटी निर्वाचित भएको सूचनामा उल्लेख छ। भरतपुर महानगरमा निर्वाचित कार्यपालिका सदस्य सहित महानगर परिषद् सदस्य सङ्ख्या १५० पुगेको छ। जसमध्ये कांग्रेसका ७६, नेकपा (एमाले)का ५२, माओवादी केन्द्रका ११, एकीकृत समाजवादीका ६, राप्रपाका चार र स्वतन्त्रका एक जना छन्। कार्यपालिकामा कांग्रेसका २२, एमालेका ६, माओवादी केन्द्रका ६, एकीकृत समाजवादीका चार र स्वतन्त्रका एक जना विजयी भएका छन् । महानगरपालिकामा २९ वडा छन् । रासस