चितवनमा भेटियो नयाँ प्रजातिको चरा
चितवनमा नयाँ प्रजातिको चरा भेटिएको छ। नेपाल पक्षीविद् संघ बागमती प्रदेशका अध्यक्ष वासु बिडारीले खैरहनी नगरपालिका–११ पिडहनी क्षेत्रको धानबारीमा नयाँ प्रजातिको चरा भेटिएको जानकारी दिए।
बर्ड एजुकेशन सोसाइटी सौराहाका सदस्य राजु तामाङले ६ दिनअघि उक्त चराको तस्वीर खिचेका थिए। नयाँ चरा भेटिएपछि चराविज्ञ हेमसागर बराल सहितको विज्ञ समूह मंगलबार चितवन आएर थप अध्ययन गरेको थियो।
बिडारीका अनुसार, मंगलबार पनि चरा भेटिएको थियो। विज्ञहरूले उक्त चरा चाइनिज पोन्ड हेरोन भएको बताएका छन्। यो चरा चीन, भारत लगायत देशमा पाइन्छ। फिरन्तेका रूपमा यो चरा यहाँ आएको हुन सक्ने अनुमान गरिएको छ। यो चरा लजालु स्वभावको भएको बिडारीले बताए।
यससँगै नेपालमा चराको प्रजाति सङ्ख्या ८९१ पुगेको छ। चितवनमा मात्रै ६५० प्रजातिका चरा रहेको पाइएको छ। -रासस