सेप्टिक ट्यांकमा शिशुको शव फेला
दाङको राप्ती गाउँपालिका-३ मसुरियामा एक नवजात शिशुको शव सेप्टिक ट्यांकभित्र फेला परेको छ।
मसुरियाकी १५ वर्षीया किशोरीको १६ दिने शिशुको शव बुधबार बिहान घर पछाडि रहेको सेप्टिक ट्यांकभित्र फेला परेको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ।
मंगलबार राति आमा र शिशु सँगै सुते पनि बिहान छिमेकीले बच्चा नदेखेपछि खोजीनिधी गर्दा सेप्टिक ट्यांकमा भेटेका थिए। शिशुको शव फेला परेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए।
शिशुलाई मारेर फालेको हुन सक्ने प्रहरीको अनुमान छ। प्रहरीले ती किशोरीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। उनका श्रीमान् को हुन् भन्ने पहिचान हुन नसकेको प्रहरीले बताएको छ।