‘मनमोहन अधिकारीको घडी बन्धकी राखेर धरौटी राख्न पाँच सय जुटायौं’
नेपाल कम्युनिष्ट पार्टीको जन्मकालदेखि नै त्यसमा लागेका कृष्णराज वर्मा २०१५ सालमा भएको पहिलो संसदीय आम निर्वाचनमा सप्तरीबाट उठेका थिए।
कृष्णराज वर्मा पूर्वी नेपालको सप्तरीबाट उदाएका कहलिएका कम्युनिष्ट नेता थिए। नेपाल कम्युनिष्ट पार्टीको जन्मकालदेखि नै त्यसमा लागेका उनी २०१५ सालमा भएको पहिलो संसदीय आम निर्वाचनमा सप्तरीबाट उठेका थिए। तर, १०७ मतको झिनो अन्तरबाट पराजित भए। सप्तरी उनको राजनीतिक कर्मक्षेत्र भए पनि उनको पुर्ख्यौली नुवाकोट भएको र वर्मा थर लेख्दै आएका उनी वास्तवमा खनाल थरका ब्राह्मण परिवारका सदस्य भएको तथ्य पत्ता लाग्यो, उनको आत्मकथनबाट।
२०१७ सालमा गिरफ्तार भएर जेल परेका उनी पार्टी फुट्दा रायमाझी समूहमा लागेका थिए। रायमाझीसित अलग्गिएर विष्णुबहादुर मानन्धरसित मिली छुट्टै पार्टी गठन गरेका उनले पछि मानन्धरसित पनि छुट्टिएर २०४६ मा आफ्नै पार्टी खोलेका थिए, जो धेरै समय चलेन। एक पटक उनी एमाले पनि प्रवेश गरेका थिए, तर धेरै टिक्न सकेनन्।
धेरै जना आफ्नो जीवनको उत्तरार्धमा राजनीतिबाट विरक्त भएको र अझ राजनीतिमा लागेकामा पछुताएको देखिएको छ। नौ दशक उमेर पार गरिसकेका उनको मनोदशा र विचार कस्तो छ त भनी बुझ्ने मनसायले पोहोर साल जनै पूर्णिमाको एक दिनअघि (२०७८ भदौ ५) म लगायत हिमाल का रविन गिरी र सन्त गाहा मगर उनलाई भेट्न काठमाडौं सुकेधारास्थित उनको निवास गएका थियौं। उमेरले ल्याउने स्वाभाविक कम्पन उनको आवाजमा पटक्कै थिएन। प्रष्ट थियो बोली अनि सम्झना पनि उत्तिकै तेज। केही समयअघि तराई सम्बन्धी किताब लेखेका उनी पछिल्लो समय अर्को पुस्तक लेखिरहेका थिए। तर, १९८७ पुस २५ मा जन्मेका वर्माको २०७८ फागुन २२ गते देहावसान भयो।
वर्मासँगको त्यो भेटघाटमा हामीले दुई घण्टाभन्दा बढी समय कुराकानी गरेका थियौं। हाम्रो कुराकानी निर्बन्ध र संरचनाविहीन थियो। त्यसै भेटवार्ताको सार यहाँ प्रस्तुत छ।
– वसन्त थापा
२०१५ सालको आम चुनावका कुरा बताइदिनुस् न।
आफ्नै जिल्ला सप्तरीबाट उठेको थिएँ। १०७ भोटले हारें। मेरो २७० भोट बदर भयो।
एक जना थारूले जिते। एक थारू कमरेडले हामीलाई घात गरे। थारू–थारू मिले ...।
त्यस वेला कम्युनिष्ट पार्टीको पक्षमा जुन माहोल बनेको थियो, त्यस हिसाबले चार सीटभन्दा बढी आउनुपर्ने धेरैको अनुमान थियो।
सप्तरी, सिराहा गरेर ६ सीट थियो। हामी ६ वटैमा लडेका हौं। त्यसमध्येको चार सीट जित्छौं भन्ने अनुमान थियो। तर, हाम्रो तयारी साह्रै कमजोर थियो। डिपोजिट आफ्नै पैसा बाहेक जम्मा ६ सय रुपैयाँले चुनाव लडेका थियौं। हामीले आफ्नो क्षमताभन्दा बढी उम्मेदवार बनायौं, तर आर्थिक रूपमा शून्य जस्तै थियौं। जब एउटा सीटमा मुद्दा पर्यो, विराटनगर गएर मुद्दा खेप्दा कमरेड मनमोहन अधिकारीजीको घडी बन्धकी राखेर डिपोजिटका लागि पाँच सय जुटाएका थियौं।
धेरै ठाउँमा तपाईंहरू थोरै मतान्तरले पराजित हुनुभएको थियो होइन ?
हो। प्रतिशत हिसाब गर्दा पनि हामीले कुल मतमा ७ प्रतिशत पाएका थियौं। तर, जितेको सीट ४ मात्रै थियो। केही सीटमा त हामीले जबर्जस्ती नै उम्मेदवार उठाएका थियौं, प्रचारका लागि। व्यवस्थित रूपमा केही पनि थिएन। चुनावको घोषणापत्र पनि जनतामा पुग्न पाएको थिएन।
चुनावको वेला म एउटा बूथमा भएको समयमा बीपी कोइराला त्यहाँ पुगेका थिए। उनले मलाई देखाउँदै आफ्ना कार्यकर्तालाई भने, ‘जे होस्, कम्युनिष्टहरूको समर्पणसँग हामी सक्दैनौं। तिमीहरू विचार गर त, एउटा गुन्द्री बिछ्याएको छ, यी कम्युनिष्ट नेता बसिराख्या छन्। यत्रा फाइल छन्, त्यसबाट नाम टिपेर मान्छेलाई भोट खसाल्न पठाउनुपर्ने। यिनीहरूको डेडिकेसन त हेर। तिमीहरू कहाँ छौ ? खै तिमीहरूको गुन्द्री कहाँ बिछ्याएको छ ?’ उनले भनेका के हुन् भने– तिमीहरूले आफ्नो बस्ने अड्डा पनि बनाएका छैनौ।
बिपीले भने जस्तै हामीसँग समर्पण र लगाव त थियो, अरू केही पनि थिएन।
चार सीट त आयो। तर, प्रमुख प्रतिपक्ष त गोर्खा परिषद् भयो हैन?
तर, वास्तविक प्रतिपक्षको भूमिका त हामीले नै खेल्यौं नि।
२०१७ पुस १ गते तपाईं कहाँ हुनुहुन्थ्यो?
मस्कोबाट फर्केर दिल्लीमा आइपुगेको थिएँ। मस्कोमा ८१ देशका कम्युनिष्ट नेताहरूको भेला थियो। त्यो सकिएपछि हामी चार जना म, कमल रेग्मी, हिक्मत सिंह र शम्भुराम श्रेष्ठ फर्किहाल्यौं। किनभने, हामीले तेस्रो कंग्रेसको तयारी गर्नु थियो।
उता बस्नेमा चाहिं को को थिए?
केशरजंग रायमाझी मात्रै। उनलाई सन्चो भएन र छोडिदियौं।
हामी दिल्ली आएपछि अरूहरू सोझै काठमाडौं जाने भएकाले त्यहीं बसे। म चाहिं राजविराज आएर काठमाडौं जाने भएकाले प्लेनबाट पटना र त्यहाँबाट रेलमा राजविराज आएँ। राजविराज जाँदै गर्दा बाटोमा हिरालाल विश्वकर्मा गाडीमा आउँदै रहेछन्। उनले हात उठाएर ‘ए बर्माजी, विचार गरेर जानुहोला है’ भने। के भनेको बुझिनँ, बाटो खराब भएकाले राम्रोसँग जानु भनेको होला भन्ठानें। तर, राजविराज पुगेपछि गिरफ्तार गरिहाले।
दिल्लीमा रहेकाहरू उडेर वा गुडेर कसरी आउने योजना थियो ?
उनीहरू दरभंगा हुँदै रेलबाट आउने कुरा थियो। तर, उनीहरूले राजाको ‘कू’ बारे दिल्लीमै थाहा पाए। दरभंगामा साथीहरूसँग भेटेर सबै कुरा बुझे। तत्कालै नेपाल आएनन्। अलि पछि मात्रै आए। म चाहिं पुस १ गते बिहान हिंडिहालें, थाहा पाइनँ। २ गते यहाँ आउँदा गिरफ्तारीमा परिहालें।
पुस १ पछि धेरै नेता देश बाहिरै थिए। यहाँ हुनेले राजाको कदमलाई समर्थन गरेकाले पार्टी फुट्यो भन्छन्। खास कुरा के हो?
यसमा पुष्पलालजी र अलिकति पार्टीको पृष्ठभूमि बताउनुपर्ने हुन्छ। हाम्रो पार्टीमा एउटा गम्भीर प्रश्न थियो। कम्युनिष्ट पार्टीको स्थापना १९४९ सेप्टेम्बर १५ मा भयो। पार्टी गठन भएको चार वर्षपछि पुष्पलालजी नेतृत्वबाट हट्नुभयो। त्यो चार वर्षमा पार्टीको नीति के थियो, नीति कार्यान्वयन भइरहेको थियो कि थिएन भनेर कहिल्यै लेखाजोखा भएन। खालि एउटै कुरा के भनियो भने, ‘पुष्पलालजीले कम्युनिष्ट पार्टीको स्थापना गर्नुभयो’, ‘पुष्पलालजीले कम्युनिष्ट पार्टीलाई सञ्चालन गर्नुभयो’। तर, ठोस काम के गर्नुभयो भन्ने कुराको मूल्याङ्कन भएन।
एउटा ऐतिहासिक कुरा पनि भनूँ, ‘कम्युनिष्ट पार्टीको सम्मेलन’ १९५१ सेप्टेम्बर २७ मा भयो। त्यस वेला निस्किएको कम्युनिष्ट पार्टीको घोषणापत्र आजसम्म धेरैले देखेका छैनन्। मैले पनि देख्न पाइनँ। पहिलो पटक यो देख्दै छु।
कहाँबाट कसरी प्राप्त गर्नुभयो?
रसिया बस्ने कृष्णप्रकाश श्रेष्ठले यो पहिलो भाग पाएका रहेछन्। तर, दोस्रो भाग छैन।
योभन्दा अगाडि निस्केको पहिलो घोषणापत्र पनि धेरैले देखेका छैनन्। २०५३ सालमा पुुष्पलालजीको १७औं स्मृति दिवस मनाउँदा त्यो छापिएर आयो, अनि बल्ल मान्छेले थाहा पाए। तर, डकुमेन्टमा के छ, नीति के थियो भन्ने कुरा कसैलाई मतलब भएन। केवल कम्युनिष्ट पार्टी जिन्दावाद, समाजवाद जिन्दावाद भन्ने काम भयो।
कम्युनिष्ट पार्टीको पहिलो घोषणापत्रमा पुष्पलालजीले निजी स्वामित्वको प्रथा पूर्णतः समाप्त गर्नुपर्छ, निजी सम्पत्ति तथा उद्योगधन्दा राष्ट्रियकरण गर्दै सामूहिक स्वामित्वको प्रथा लागू गर्नुपर्छ भनेका छन्। के २००७ सालमा हाम्रो जस्तो मुलुकमा निजी स्वामित्व पूर्णतया निर्मूल गर्न सकिन्थ्यो होला? हामीले सोध्नुपर्ने प्रश्न त्यस जमानामा यस्ता कुरा किन उठे, कसरी उठाइयो भन्ने हो।
त्यसैगरी, १९५१ सेप्टेम्बर २७ मा पार्टीको पहिलो सम्मेलनमा पुष्पलालजीले प्रस्तुत गरेको पहिलो घोषणापत्र पूर्णतः गलत थियो।
कुनै पनि जनवादी पार्टीको नारा परतन्त्र, औपनिवेशिकता लगायत सबै किसिमको बन्धनबाट मुक्ति पाउने हुनुपर्ने हो। राजनीतिक स्वतन्त्रता र सार्वभौमिक स्वाधीनता गरिसकेपछि विकासको बाटो कता लैजाने हो, त्यतातिर लाग्नुपर्यो। तर, पुष्पलालजीले १९४९ सेप्टेम्बर १५ मा कम्युनिष्ट पार्टी स्थापना गरेर घोषणापत्र निकाल्नुभयो। यो २००६ सालतिर राणाकालको कुरा भयो, जति वेला देशमा कुनै पार्टी खुल्न सक्ने अवस्था नै थिएन। २००७ कात्तिक २४ गते नेपालमा राणाविरोधी क्रान्ति शुरू भयो। नेपाली कांग्रेसले ‘राणाशाही मूर्दावाद’ को नारा लगायो, तर पुष्पलालजीको नारा त्यो थिएन। क्रान्ति शुरू हुँदा पनि उहाँ पुरानै नारा लिएर हिंडिरहनुभएको थियो। कतिसम्म भने अन्तरिम सरकार गठन भएर राजाले प्रजातन्त्रको घोषणा गरिसक्दा पनि उहाँको नारा उही थियो।
२००७ सालमा पुष्पलालजीको कस्तो भूमिका रह्यो?
वास्तवमा २००७ सालको क्रान्तिमा पुष्पलालजी र कम्युनिष्ट पार्टीको भूमिका ‘नेगेटिभ’ थियो।
त्यसो भए त्यस वेला जतिले स्वतन्त्रताको लागि लडे, व्यक्तिगत रूपमा लडेका हुन् त, पार्टीको झण्डा अन्तर्गत होइन?
व्यक्तिगत आधारमै लडे। किनभने, पुष्पलालजी बिपी, मातृका, सुवर्णशमशेर आदि सबैबारे ‘क्रिटिकल’ हुनुहुन्थ्यो। उहाँले कांग्रेसलाई संयुक्त मोर्चा बनाएर लडौं भन्नुभयो। तर, कांग्रेसले किन मोर्चा बनाउँथ्यो? कांग्रेसलाई भारतको त्यत्रो साथ थियो। उहाँ (पुष्पलालजी) भन्नुहुन्थ्यो छ भने, ‘यो क्रान्ति केही पनि होइन। सत्तामा भएका राणा र सत्ताबाट फालिएका राणाबीचको लडाइँ हो।’
त्यस वेला उहाँले एउटा पनि पर्चा निकालेको देखिँदैन। उहाँले भन्नुपर्थ्यो– ‘क्रान्ति शुरू भयो। जनता हो, सबै जना यस क्रान्तिमा होमिऔं।’ तर, उहाँले त्यस्तो आह्वान नेपाली युवा र जनता कसैलाई गर्नुभएन।
तपाईं पुस २ गते गिरफ्तार भएर जेलमा कति बस्नुभयो?
राजविराजको जेलमा दुई वर्ष बसें। पछि धेरैलाई छोडेका थिए, त्यसै सिलसिलामा छुटें।
केशरजंग रायमाझीले राजालाई समर्थन गरेकाले तपाईंहरूलाई छोडेको भन्छन् नि!
होइन, रायमाझीहरूलाई पनि ‘सपोर्ट’ गरेर छोडे भन्ने कुरा हामीलाई थाहा छैन।
तपाईं १७ सालपछि पनि जेल पर्नुभयो?
सात वर्ष जति जेलमा बसें। २००८ सालदेखि २०१३/१४ सालसम्म चाहिं लगातारै जेल परें।
कम्युनिष्ट पार्टीमा प्रतिबन्ध लाग्दा कहाँ हुनुहुन्थ्यो?
पहिलो पटक कम्युनिष्ट पार्टी प्रतिबन्धित हुँदा केही समय भूमिगत बस्नुपर्यो। २०१३ सालमा खुला भइहाल्यो।
नेपाल बाहिर बसेकाहरूले तेस्रो महाधिवेशन बनारसमा गरे क्यार हैन?
तेस्रो महाधिवेशन त हामी छुट्नुभन्दा पहिले नै २०१९ वैशाख ४ गते भइसकेको थियो।
पार्टीको विभाजन चाहिं कहाँबाट शुरू भयो?
पार्टीको विभाजन अघि मैले भनेका विमतिका कुराबाट शुरू भएको हो। पुष्पलालजीलाई नेतृत्वबाट हटाइयो। किनभने, उहाँको नीति साह्रै उग्रवादी भयो।
१९४९ सेप्टेम्बर १५ देखि १९५१ सेप्टेम्बर २७ सम्म दुई वर्षमा कम्युनिष्ट पार्टीले खासै केही गरेन। अन्तरिम सरकार बनेपछिका सात/आठ महीनामा केही सङ्घर्ष गर्यो। त्यसबीचमा सशस्त्र सङ्घर्ष भएको छ, नेपाली कांग्रेसले गोली चलाएको छ, मान्छे मरेको छ, दिल्ली सम्झैताका विरोधमा आन्दोलन भएका छन्, केआई सिंह काण्ड भएको छ। यी सबै कुरालाई लिएर ठूलै सङ्घर्ष भए। त्यसै क्रममा कम्युनिष्ट पार्टी जुझारु देखियो र पार्टीको प्रभाव प्रशस्त पर्यो। पार्टीको विस्तार पनि भयो र यसबाट प्रभावित प्रजा परिषद्ले कम्युनिष्ट पार्टीसँग संयुक्त मोर्चा बनायो।
त्यसबाट पुष्पलालजी बढी उत्साहित हुनुभयो। उहाँले राष्ट्रिय मुक्ति आन्दोलनकै नेतृत्व गरेर यही सरकारबाट नै हामीले नयाँ जनवादी क्रान्ति, जनवादी सत्ता कायम गर्न सक्छौं भन्न थाल्नुभयो। त्यसपछि उहाँले हामी बलियो भयौं भन्ने भ्रममा फेरि अर्को उग्रवादी धार समात्नुभयो, अनि त ओरालो यात्रा शुरू भयो। उहाँकै उग्रवादी धारका कारण केआई सिंह काण्डमा पर्नुभयो।
२००९ सालमा नेपाली कांग्रेसको महाधिवेशन भयो। त्यसवेला कांग्रेसलाई तोड्न उहाँले प्रजा परिषद् सहितको संयुक्त मोर्चाको मञ्चबाट धुवाँदार आक्रमण पनि गर्नुभयो। यो देखेपछि प्रजा परिषद्ले भदौमा मोर्चा भङ्ग गरिदियो। मोर्चा तोडिएपछि अब कता जाने, कुन नारा लिएर जाने भन्ने द्विविधा भयो। नयाँ जनवादी क्रान्ति गर्न त्यस किसिमको शक्ति त थिएन।
यस्तो परिस्थितिमा पुष्पलालजीको नीति उग्र भयो भन्दै सबैले विद्रोह गरे। उहाँले अहिलेको बाटो छाड्नैपर्छ, नमाने नेतृत्वबाट हट्नुपर्छ भन्ने कुरा उठ्यो। उहाँलाई हट्न बाध्य पारियो।
तपाईं जेलबाट छुटेपछिको राजनीतिक यात्रा बताउनुस् न।
पार्टी निष्क्रिय भइसकेको थियो, कसरी सम्हाल्ने र कसले सम्हाल्ने भन्ने स्थिति थियो। सबैजना छरिएका थिए। एक कमरेडमाथि अर्काको विश्वास थिएन।
त्यही ताका म राजविराजबाट सगरमाथा टाइम्स अखबार निकाल्थें। अखबार बन्द गरेर २०२२ सालमा काठमाडौं आएँ। रायमाझी सहित सबैलाई जम्मा गरेर पार्टीलाई नयाँ किसिमबाट कसरी अगाडि लैजाने भनेर बहस चलाएँ। साथीहरूसँग सम्पर्क गरें, सङ्गठन गरें, र २०२३ सालमा पार्टीको तेस्रो सम्मेलन गराएँ। त्यो सम्मेलनमा जम्मा १९ जना सदस्य थिए।
तेस्रो अधिवेशन त कसैले बनारस भेलालाई भन्छन् नि!
बनारसमा गरेको त कंग्रेस थियो। पुष्पलालजीले मरिमेटेर गराउनुभएको थियो। रायमाझीहरू आदि सबैको विरोधमा जेहाद छेड्ने काम पनि उहाँले नै गराउनुभएको हो। तुलसीलाल अमात्यले यो सब गरेका होइनन्।
त्यत्रो कंग्रेस गराएपछि पुष्पलालजीले के पाउनुभयो त? उहाँका दुई जना मान्छे पोलिटब्यूरोमा आए, पाँच जना केन्द्रीय कमिटीमा आए। महासचिव तुलसीलाल भए। उनको बहुमत आयो। बनारसमा पुष्पलालजी हार्नुभएको हो।
पेकिङपन्थी र मस्कोपन्थीका रूपमा पार्टी औपचारिक रूपमा विभाजन हुँदा देशभित्र बसेका तपाईंहरू रायमाझीको समूहमा गोलबद्ध हुनुभयो। बाहिर बसेका पुष्पलालजीको बेग्लै र यता तपाईंहरूको बेग्लै पार्टी थियो हैन?
हो। हामीले तेस्रो अधिवेशन गर्यौं। अधिवेशन गरेर पार्टी पुनर्गठन गरिहाल्यौं, पुनःसङ्गठित भयौं। पुराना मान्छे पनि ल्यायौं।
त्यसमा सबै त आएनन् नि?
हामीकहाँ जोडिने जति आए। पुष्पलालजीकहाँ पनि त जम्मै गएनन् नि। जम्मा ६ जनालाई लिएर उहाँहरूले तेस्रो सम्मेलन गराउनुभएको हो।
पञ्चायत विरुद्धको आन्दोलनमा तपाईंको ‘पोजिसन’ कस्तो रह्यो?
पहिला रायमाझीजीहरू, विष्णुबहादुर मानन्धरजीहरू साथमै हुुनुहुन्थ्यो। त्यस वेला हामीले संसद् पुनःस्थापनाको माग अघि सारेका थिएनौं। नेपाली कांग्रेसले चाहिं संसद्कै नारा दिइरह्यो। राजाले संसद् भङ्ग गर्ने बित्तिकै कांग्रेसले भङ्ग गर्न पाइँदैन, त्यही संसद् जारी गर् भनेर सबै सांसद आन्दोलनमा उत्रेका भए हामी पनि बाध्य भएर सहभागी हुनुपर्थ्यो। सांसदहरू सबै जिल्लामा उत्रिदिएका भए अर्को माहोल खडा गर्ने थियो। त्यो माहोल खडा हुन सकेन। भारतले हतियार सहित मद्दत गर्छ र त्यसको भरमा राजालाई न्याकेको न्याक्यै पार्छौं भन्ने उनीहरूको बुझाइ थियो। तर, स्थिति यसरी विकसित भयो, भारतले त्यसरी सहयोग गर्नै सक्दैनथ्यो।
के कारणले रायमाझीहरूसँग फुटेर तपाईं आफैंले पार्टी खोल्ने अवस्था आयो?
कम्युनिष्ट एकीकृत गर्न हामीले पाँचौं अधिवेशनमा प्रस्ताव ल्यायौं। त्यो प्रस्तावमा हाम्रो र रायमाझीको एकमत हुन सकेन। उनले सम्मेलन अवधिसम्म आफ्नो ‘डकुमेन्ट’ पारित गराउन सक्दो कोशिश गरे। तर, साथीहरूले उनको प्रस्ताव अस्वीकृत गरिदिए, अनि रायमाझी बिस्तारै हामीसँग छुट्टिए।
हामीले पहिला पाँच वटा पार्टीलाई एकताबद्ध गर्ने कोशिश गर्यौं। त्यो भनेको हाम्रो, विष्णुबहादुरजी, मनमोहनजी, तुलसीलालजी र सहानाजीको पार्टी। तर, पुष्पलाल र विष्णुबहादुरजीले हामीसँग एकता गर्न कुनै हालतमा मान्नुभएन। किनभने, उहाँहरू हामीसँग भर्खर भर्खरै छुट्टिएकाले रिस तातै थियो।
मनमोहनजीले एकता गर्ने हो भने सबैसँग गर्ने हो, नत्र कसैसँग नगर्ने भन्नुभयो। त्यस कारण एकता हुन सकेन।
२०४२ सालमा आइपुग्दा नेपाली कांग्रेसले प्रजातन्त्रका लागि सत्याग्रहको नारा दियो। त्यस वेला सात वटा मुख्य वाम पार्टीमध्ये तुलसीलाल, मनमोहन, नारायणमान बिजुक्छे (सहाना र विष्णुबहादुर आउनुभएन) आदि गरी पाँच पार्टीको मोर्चा बनाएर हामीले सत्याग्रहमा विना शर्त सहयोग गर्यौं। हाम्रो भनाइ थियो, यो आन्दोलन प्रजातन्त्रको निम्ति भएकाले यसलाई पूर्ण सहयोग गर्नुपर्छ।
पार्टी राजनीतिबाट कहिलेबाट निवृत्त हुनुभयो?
२०५० सालपछि बिरामी परें। मुटु रोग भयो। त्यसपछि छोडें।
पछि तपाईं नेकपा (एमाले)मा पनि लाग्नुभयो हैन?
गएँ। तर, दुई–चार महीनामै छोडिदिएँ।
नेपालमा भइरहेको कम्युनिष्ट आन्दोलनबारे तपाईंको धारणा के छ?
के चाहिं मान्नुपर्छ भने, आम जनतामा कम्युनिष्टप्रति झुकाव र समर्पण छँदै छ। तर, कुनै पनि पार्टीले सही नीति ल्याएन। एउटा यस्तो तागत आओस् जसले यी सबैलाई एकत्र गरेर एउटा शक्तिको रूपमा लिएर जान सकोस्।
त्यस्तो सम्भावना छ त?
छ, सम्भावना छ।
किनभने, जनता अहिले पनि कम्युनिष्टले भनेको सुनिरहने, सपना देखाएको पत्याउने सोझा भएकाले हो?
सामान्यतया तपाईंले भनेको कुरा ठीक हो। तर, अहिले धेरै कुराको अर्थ नै बदलिरहेको छ।
कुनै वेला पतलुन लगाउने, चप्पल लगाउने, कपाल फरर्र उडिराख्या जस्तो बनाउने मान्छे नै कम्युनिष्ट हुन्थे, कम्युनिष्टको छवि त्यस्तो थियो। अब लवाइको त्यो बन्धन रहेन। धेरै कुराका मानक फेरिए। कम्युनिष्टको पनि अर्थ बदलिंदै गएको छ।
पुरानो ढङ्गबाट सोच्नुभयो भने त यहाँ सबै कुरा सकिइसक्यो। तर, नयाँ किसिमबाट सोच्दा टाई–सुट लगाएका, एक–डेढ करोडका गाडी चढ्ने पनि कम्युनिष्ट हुन सक्छन् भन्ने भयो। त्यस कारण अब पुरानो मानकलाई छोडिदिऔं, नयाँ किसिमबाट हेरौं। नयाँ किसिमबाट हेर्दा समात्नुपर्ने जे विषय हो, त्यसलाई मात्रै हेरौं, अरू त्यागौं।
त्यसो भए तपाईं निराश हुनुहुन्न?
कत्ति पनि निराश छैन। अहिले पनि त्यसो हुन सक्ने सम्भावना छ। तर, यति धेरै धूलो थुप्रिंदा थुप्रिंदा मूल कुरा नै पुरिए जस्तो भएको छ। त्यसभित्रबाट मूल कुरा झ्किेर अगाडि सार्ने काम सजिलो चाहिं छैन।
तपाईंलाई कम्युनिष्ट पार्टीमा लागेको पछुतो लाग्छ कि?
लाग्दैन। त्यस्तो कहिल्यै लागेन। बरु मलाई त अझै पनि के लाग्छ भने, एउटा बाटो अझै छ, सम्भावना अझै छ। यसबीचमा कम्युनिष्ट पार्टी गलत बाटोमा रह्यो। पार्टीहरूले थुप्रै अवसर पाएका पनि हुन्, तर त्यसको उपयोग गर्नमा असफल रहे। किनभने, जो अगुवा थिए, तिनले उचित कदम चाल्न नसक्दा आज यो अवस्थामा आइपुगिएको हो। त्यसलाई सुधार्न म आज पनि मरिमेटेर लागेकै छु। अहिले पनि म लेखिराखेकै छु।
के लेखिराख्नुभएको छ?
मेरो प्रश्न छ, सात सालमा क्रान्ति भएको हो? मेरो नयाँ ‘थेसिस’ छ– क्रान्ति भएको होइन। दुई सय पृष्ठ जति लेखिसकें।
अनि त्यो परिवर्तनलाई के भन्नुहुन्छ त?
भारतले आफ्नो स्वार्थ पूरा गर्न रचेको नाटक। भारतको एउटा स्वार्थ थियो, त्यो पूरा गर्न उसले क्रान्ति गराइदियो। क्रान्तिको बहानामा आफ्नो काम पूरा गर्दा कुनै दोष पनि नलाग्ने भएकाले त्यो बाटो अपनायो।
त्यति वेला भारतमा पाँच सयभन्दा बढी राज्य–रजौटा थिए, धेरै राज्य त हाम्रो देशभन्दा ठूला थिए। एउटा नेपाल लिन उनीहरूलाई गाह्रो थिएन नि, हैन?
गाह्रो थिएन। जुन दिन ब्रिटिशले भारत स्वतन्त्र भएको घोषणा गर्यो, त्यही वेलादेखि हाम्रोमा राजतन्त्र त सिद्धिगयो। केको आधारमा राजतन्त्र रहने यहाँ? राजतन्त्र रहने आधार त ब्रिटिश बाहेक केही थिएन।
अर्को हास्यास्पद कुरा, कांग्रेसले क्रान्ति गर्यो रे। हतियार चलायो, बन्दूक पड्कायो, सबै चीज भए। तर, त्यो क्रान्तिको अन्त्य अन्तरिम सरकार गठनबाट भयो, जसमा राणा प्रधानमन्त्री मोहनशमशेर नै प्रमुख थिए। क्रान्तिकारी सरकारको प्रधानमन्त्री राणा किन भए? कुनै तुक छ? छ भने भारतको नियत छ, अरू छैन। उता, कांग्रेसलाई फौजी सहयोग दिएर क्रान्ति गराउँदै छ भने सम्झैता किन गरियो?
त्यति मात्र होइन, १९५० जुलाई ३१ मा शान्ति र मैत्री सन्धि हुने बित्तिकै कांग्रेसलाई क्रान्ति गर्न किन लगायो? सन्धि भएको तीन महीनामै भारतले क्रान्ति शुरू गराइदिएको हो नि। किनकि, उसको आवश्यकता पूरा भयो, उसलाई त सन्धि पास गराउनु थियो। विजयशमशेरहरूलाई लगाएर चारैतिरबाट दबाब दिएर सन्धि गराउन लगाए। सन्धि गराएपछि राणा फालिदिए। त्यसैले भनेको, त्यो क्रान्ति कांग्रेसले गरेको होइन।
तर, हामीले सात सालको क्रान्ति नै मान्दै आएका छौं, त्यस क्रममा मृत्यु भएकाहरूलाई शहीद मानिरहेका छौं । कम्युनिष्ट पार्टीले पनि चुनौती दिएन । अहिले आएर तपाईंलाई यो बोध कसरी भयो ?
किनभने, ऐतिहासिक तथ्य र विवरण नपढीकनै सबै कुरा मानेर हिंडिराखेका थियौं। एउटा अवधारणा बनाइदिए, त्यसैलाई मान्दै आइयो। विगत केलाइयो भने गल्ती पहिलादेखि नै भएको देखिन्छ।
सात सालपछिको एउटा गल्ती औंल्याउनुभयो। अर्को गल्ती कुन हो?
कांग्रेसबाट क्रान्ति शुरू गराउँदा राजालाई ‘सपोर्ट’ गराउनुपर्थ्यो। तर, राजाबाट किन शुरू गराइयो? किनकि, त्यस वेलासम्म कांग्रेसमाथि विश्वास नै थिएन। राजा त सय वर्षदेखि आफ्नो अधिकारबाट वञ्चित भएर बसेको छ, उसले अधिकार पाउँदा डटेर बस्न सक्छ भन्ने भारतीय बुझाइ थियो। अनि फोकटमा कांग्रेसको हातमा सत्ता दियो। क्रान्तिका क्रममा केही मान्छे मरे, तीप्रति त सम्मान नै गर्नुपर्छ। तर, कांग्रेसले के त्यत्रो गर्यो र उसैले राज्य नै पाउनुपर्ने? किनभने, कहीं न कहीं कसै न कसैलाई त दिनुपर्थ्यो। राणा सत्ताच्युत भइसकेको अवस्थामा चल्तीका कसलाई दिने भन्दा कांग्रेसले पायो। जसबाट कांग्रेस भारतप्रति वफादार पनि हुने भयो।
अहिलेसम्म पनि वफादार नै छ, तर आज त्यसमा भ्वाङ परिसकेको छ।
धेरै कम्युनिष्ट पार्टी आफू सरकारबाट हट्नुपर्दा, पार्टी फुट्दा विदेशीलाई दोष लगाउने गर्छन्। पार्टी र संस्थासँग विश्वास नभएर यस्तो भएको हो कि नेपालको कम्युनिष्ट आन्दोलन बिगार्न बाह्य हस्तक्षेप नै हुने गरेको हो?
हामीले नै हाम्रो राजनीति बिगार्दै गयौं। हामीले के ध्यानमा राखेनौं भने, हामी चीन र भारतको बीचमा छौं। एक सय ३० करोड जनसङ्ख्या भएको भारतले तीनतिरबाट हामीलाई घेरेको छ। नेपाल विशिष्ट प्रकारको भूपरिवेष्टित देश हो, भारतले चाहेन भने कतैबाट पनि छिर्न सकिंदैन। र, तेस्रो ऊसँगको सीमा खुला छ। यस्तो भौगोलिक अवस्थितिका कारण पनि देशको राजनीति कता लैजाने भनेर हाम्रा नेताहरूले सोच्नुपर्थ्यो। पहिला त देश जस्तो बन्धनमा जकडिएको छ, त्यसबाट मुक्त हुनुपर्यो। त्यतातिर लाग्न नसक्दा स्वाभाविक रूपले भारत हावी हुने भयो।
उता, हिजोसम्म चीन धेरै विकसित थिएन। ठूला पहाडका कारण जुन भौतिक दूरी थियो, आज विकासले गर्दा चीनतर्फ पनि सजिलै आउजाउ गर्न सकिने भयो।
भारतले कुनै वेला चीन विकसित भएर आउनेछ भनेर पहिलेदेखि नै उत्तरी सिमानामा आफ्नो पूर्ण नियन्त्रण हुनुपर्छ र नेपालमाथिको राजनीतिक वर्चस्व पनि हाम्रै कायम रहनुपर्छ भनेकै हो। यी दुई बाहेक तेस्रो स्वार्थ, सन् १९५० को सन्धिबाट सिमाना खुला गराइयो। ५० को सन्धिको सबैभन्दा ठूलो घात नेपाललाई केही भएको छ भने सीमा खुला गर्ने नीति नै हो। त्यही स्वार्थ पूरा गर्न नै उसले २००७ सालमा क्रान्तिको रचना गरेको हो। क्रान्ति गराएर सबै स्वार्थ पूरा गरायो, सम्झैता हुने बित्तिकै राणालाई फालिदियो ।
सात सालपछि राजाको चीफ सेक्रेटरी भएर भारतबाट गोविन्द नारायण आए। मन्त्रिमण्डलको बैठकमा सीपीएन सिन्हा भारतका तर्फबाट बस्न पाउने भए। उत्तरी नाकामा १७/१८ ठाउँमा सुरक्षा पोस्ट बनाएर भारतीय फौज बस्न थाले।
भारतीय विस्तारवादी भनेर नारा लगाउने कम्युनिष्टहरू शक्ति वा सत्तामा पुगेपछि त्यसो मान्दैनन् नि!
नेपालमा सबैभन्दा चर्को रूपमा साम्राज्यवादको नारा लगाउने नै कम्युनिष्ट हुन्। तर, यिनीहरूले ‘भारतको विस्तारवाद’ भनेको के हो भन्ने कहिल्यै पनि भन्न सकेनन्।
माथि भारतसँगको खुला सीमा, भूगोल, हाम्रो भूपेरिवेष्टित अवस्थाको कुरा जो बताएँ, यी तीन अवस्थाको अन्त्य होस् भन्ने नारा खै? कमसेकम अन्तर्राष्ट्रिय सीमा बनाउन सकेको भए अहिले जस्तो खुला प्रवेश त हुने थिएन। यी तीन विषयलाई सम्बोधन गर्ने बित्तिकै भारतसँग नयाँ आयाममा सम्बन्ध शुरू हुन्छ। ऊसँगको निर्भरतामा पनि कमी आउँछ। हामीले ठूल्ठूला विषय उठायौं, आधारभूत कुरा नै उठाएनौं। आज पनि भारतले हाम्रो सीमामा दखलअन्दाजी गरेर बसेको छ।
हामी कम्युनिष्टले विस्तारवादको यस्तो, उस्तो नारा लगायौं, ठीकै हो। तर, तपाईंले चाहिं सन् १९५० को सन्धि हुन लाग्दा खबरदारी गर्न सक्नुपर्थ्यो। खबरदार भनेर विश्वेश्वर बाबुले किन भन्न सक्नुभएन? पतन हुन लागेको सरकारसँग सन्धि नगर, हामी आउँदै छौं अनि स्वतन्त्र नेपाल र भारतबीच सन्धि गरौंला भनेर किन भन्न सकिएन?
दुई–तीन वर्षयताको कुरा गरौं, गएको चुनावमा एमाले र माओवादी केन्द्र मिलेर झण्डै दुई तिहाइ बहुमत ल्याए। पार्टी एकता भयो, तर फुट्यो। यसबारे तपाईंको विश्लेषण के छ?
त्यो एकता नै होइन नि। एकता गर्ने भए सबै प्रक्रिया अनुसार मिल्ने तयारी गर्थे। कुनै खास भित्री उद्देश्यका लागि एकताको कुरा आयो। यसमा दुवैको स्वार्थ थियो। पुष्पकमल दाहालले पनि आफ्नो दाउ हेरेका थिए। ओली बिरामी छन्, चाँडै सबै कुरा मेरै जिम्मामा आउने त हो भन्ने ध्याउन्न थियो उनको।
उता, ओलीले सम्झेका थिए, दाहाललाई अलिकति प्रलोभन छ, त्यो मिलाइदिऊँ। तर, उनले के विचार गरेनन्, अर्को मान्छे माधव नेपाल पर्खेर बसेका छन्, कि दुईलाई कुनै पनि हालतमा मिल्न दिनु हुँदैन भनेर। मूलतः यी तीन जनाको खेलले आज यो अवस्था आएको छ। जसको समाधान केही देखिँदैन, यसै भइहाल्छ भनेर भन्न सकिन्न।
(हिमालको २०७९ जेठ अङ्कमा ‘सात सालको क्रान्ति भारतले रचेको नाटक थियो’ शीर्षकमा प्रकाशित अन्तर्वार्ता।)
तस्वीरहरूः अमित मचामसी/हिमालखबर