यो दृश्य सहन शक्ति चाहिन्छ
अबका मानिसमा नेतृत्व र नीतिलाई हेर्न दृष्टिकोण फेरिएको छ। यही दृष्टिकोणले दृश्य फेरेको छ। यो दृश्य सहन शक्ति चाहिन्छ।
झण्डै देशैभरिका मानिसको नजर एउटै तस्वीरमा अडिएको थियो। तस्वीर हो‚ काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले लिएको शपथको। अग्रपङ्क्तिमा थिए‚ मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोल। राजनीति र उमेरले अनुभवी‚ परिपक्व जनप्रतिनिधिहरू उनीहरूभन्दा पछिल्लो पङ्क्तिमा उभिएका थिए।
मानिसहरूले हेर्न चाहेको तर नपाएको एक तस्वीर थियो यो। तस्वीरमा नयाँ युगको जबर्जस्त नजारा छर्लङ्ग थियो। नेपाली राजनीतिको दृश्य फेर्न नचाहनेका लागि यो एक भयानक सत्य हो। परिवर्तन चाहनेहरूका लागि आँखैमा राखिरहूँ जस्तो दृश्य।
समावेशिताको नाममा र विरासतको राजनीतिलाई मलजल गर्ने दलहरूको कुरुप अनुहार पनि यही तस्वीरमा लुकेको छ। पछिल्लो पङ्क्तिको जनप्रतिनिधिको लस्करमा लुकेको छ। पछाडि उभिएका असमावेशी लस्करलाई अगाडि उभिएका दुई तन्नेरीले नेतृत्व दिंदै गरेको दृश्य, कुनै चित्रकारको कल्पना होइन। यी दुवै युवाको मिहिनेत र लगन साथमा जनमतको परिणाम हो। अबका मानिसमा नेतृत्व र नीतिलाई हेर्न दृष्टिकोण फेरिएको छ। यही दृष्टिकोणले दृश्य फेरेको छ। यो दृश्य सहन शक्ति चाहिन्छ।
पहिलो मिटिङमै तेजोवध
महाभारतको कथामा अर्जुन र कर्णको युद्ध कौशलता हाराहारीकै हुन्छ। कुरुक्षेत्रको मैदानमा दुई आमनेसामने हुन्छन्। अर्जुनको रथको सारथि कृष्ण हुन्छन्। कृष्ण एक सिङ्गो ब्रह्माण्ड, अर्जुनका मेरुदण्ड। कर्ण एक्लै उभिन्छन्, सामान्य सारथिको भरमा। युद्धको क्रममा कर्णको रथ भासिन्छ। भासिएको रथ निकाल्न संघर्ष गरिरहेका कर्णलाई अर्जुनका सारथिले तेजोवध गर्न थाल्छन्।
उनी भनिरहन्छन्‚ “हेर‚ यो युद्धमा तिमी हार स्वीकार गर। अर्जुनलाई तिमी कुनै हालतमा परास्त गर्न सक्दैनौ। अर्जुनको युद्ध कौशलतालाई तिमी भेट्नै सक्दैनौ।” यसरी कृष्णले लगातार अर्जुनको महिमा गाएर कर्णको तेजोवध गरिरहन्छन्। उही स्तरको पराक्रमी भएर पनि कर्ण पराजित हुन्छन्।
विधि र प्रक्रियामा पोख्त तर नियतमा खोट भएका जनप्रतिनिधिले गरेको संरचनागत भ्रष्टाचार नै नेपालको मूल समस्या हो। विधि र प्रकिया मिलाउँदै जान सकिन्छ। खिया परेको नियत सफा गर्न वर्षौं लाग्न सक्छ।
महानगरको पहिलो बैठकको प्रत्यक्ष प्रसारण हेरिरहँदा महाभारतकै सोही दृश्य मेरो आँखामा नाचिरह्यो। वडा नम्बर ३२ का वडाध्यक्ष नवराज पराजुलीले छलफलको क्रममा मेयर बालेनलाई यसरी हेरे, मानौं बालेन स्कूल हापेर सिनेमा हलमा पुगेका उनका भतिजा हु्न्। पराजुलीले मेयरलाई भने‚ “हेर्नुस्‚ तपाईं एक्लो हुनुहुन्छ। बोलीमा ध्यान दिनुस्। के गर्दै हुनुहुन्छ, एक-एक काममा सतर्क रहनुस्।” सौहार्द रूपमा चलिरहेको बैठकमा उनले मेयरलाई धम्कीपूर्ण भाषामा सतर्क गराउनु र एक्लो छौं भन्ने देखाउन खोजे। यही हो तेजोवध।
उनले सौर्यको तेज बोकेको आफ्नो चुनाव चिह्नको रवाफ दिए। पूर्व मेयर विद्यासुन्दर शाक्यको महिमा गाए। विजयी भएर के के काम गरें भन्न नसक्ने पराजुलीले चुनाव चिह्नको धाक लगाउन भने धक मानेनन्। राज्यको विकास र नैतिकतासम्मको प्रवचन दिए। समयको मितव्ययिताको प्रवचन दिएका वडाध्यक्ष पराजुली आफैंले मिटिङको एक चौथाइ समय लिए। यस्ता मानिसले बुझ्नुपर्दछ कि महाभारतमा जस्तै आजको युगमा कर्णको रथ भासिनेछैन। जनता जागेका छन्।
वडा नम्बर ११ का वडाध्यक्ष हीरालाल तण्डुकारले परिचयका क्रममै भने‚ “शपथ लिंदा गोपनीयताको लिने, मिटिङ गर्दा ओपनीयताको गर्ने?” उनको सोधाइमा खिसी टिउरी थियो। उमेरमा सानो भए पनि बालेन निर्वाचित भएर आफ्नै बलमा उभिएका मानिस हुन्। उनलाई स्वीकार गर्न गाह्रो मानेका वडाध्यक्षहरूको बोली र व्यवहारमा राजनीतिक संस्कार जीर्ण देखियो। प्रस्ताव पेश गर्ने र निर्णय सुनाउने विधि र प्रक्रिया नमिलेको भन्दै वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजाल सडक आन्दोलनको शैलीमा कराए। उनले भनेका कुरा सामान्य रूपमा नै भन्न सकिन्थ्यो।
विधि र प्रक्रियामा पोख्त तर नियतमा खोट भएका जनप्रतिनिधिले गरेको संरचनागत भ्रष्टाचार नै नेपालको मूल समस्या हो। विधि र प्रकिया मिलाउँदै जान सकिन्छ। खिया परेको नियत सफा गर्न वर्षौं लाग्न सक्छ। विधिमा खोट भएकाभन्दा नियतमा दोष भएकाहरूलाई नागरिकले चनाखो भएर हेरिरहेका छन्।
महानगरका सबै वडाध्यक्ष घमण्डले फुलेका थिएनन्। सहयोगी भाव देखाउने पनि थिए। वडा नम्बर ६ का वडाध्यक्ष भुवन लामाले काठमाडौंको समस्या आफ्नो इज्जतको सवाल भएको बताए। स्वतन्त्रबाट विजयी मेयरलाई कसरी सहयोग गर्ने भन्ने सुझाव दिए।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले युवा जनप्रतिनिधिहरूप्रति देखाएका स्नेह, भरोसा र सहकार्य रहरलाग्दो छ। चिरिबाबु आफैं एक कर्मठ र इमानदार जनप्रतिनिधि हुन्। औंला ठड्याउने पार्टीका जनप्रतिनिधि र चिरिबाबु जस्ता जनप्रतिनिधिबीचको भेद छुट्याउने हैसियत नागरिकले राख्छन्। उनीहरू राजनीतिक पार्टी, स्वतन्त्र या उमेर हेरिरहेका छैनन्‚ इमान र कर्म हेरिरहेका छन्।
पहिलो मिटिङमा सौहार्दपूर्वक पेश भएका मेयर बालेनलाई औंला ठड्याएर ‘पख्लास्’ को भाषामा बोल्ने ती जनप्रतिनिधिले आफ्ना मतदातालाई कस्तो व्यवहार गर्लान्? भोट माग्दा भुइँसम्म झुक्न जान्नेले जितपछि त्यो विनम्रता कता विसर्जन गर्छन्! हामीले कस्ता जनप्रतिनिधिलाई छान्दा रहेछौं भन्ने थाहा पाउन पनि देशभरका नगरपालिका र गाउँपालिकाको मिटिङ लाइभ हुनुपर्दछ।
गोपनीयता होइन, पारदर्शिताको शपथ
महानगरपालिकाको बैठक लाइभ गरेकामा जनता खुशी छन्। यो कदमसँग चिढिनेहरू पनि छन्। ‘लोकरिझ्याइँ’ भन्नेहरू पनि छन्। तर‚ सुरक्षा र अन्य संवेदनशील विषयमा आवश्यक परे गोप्य बैठक होला, जनसरोकारको चासोमा पारदर्शिता नै चाहिन्छ।
लोकप्रिय देखिन गलतलाई गलत नभन्नु लोकरिझ्याइँ हो। लोकको हितका लागि काम गरेर रिझाउन खोज्नु इमानदारी हो। स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएकाहरूको हुर्मत लिन लोकरिझ्याइँ शब्दको पनि गलत प्रयोग भएको देखिन्छ। जुनसुकै विषयमा ‘अल्टर’ देखिन खोज्नु आलोचनात्मक चेत होइन। यो एक किसिमको आदत हो। नशा हो। अक्सर नेपाली बौद्धिक जमातमा यो नशा डरलाग्दो छ।
जुनसुकै विषयमा ‘अल्टर’ देखिन खोज्नु आलोचनात्मक चेत होइन। यो एक किसिमको आदत हो। नशा हो। अक्सर नेपाली बौद्धिक जमातमा यो नशा डरलाग्दो छ।
महानगरको पहिलो मिटिङमै विधि मिलेन भनेर उग्र रूप देखाएका काठमाडौं-१६ वडाध्यक्ष रिजालले एउटा भिडिओ क्लिपमा भनेका छन्‚ “जनताले मुख हेरेर होइन, रूख हेरेर भोट दिएका हुन्।” भनाइमा जस्तै अराजक गतिविधि गरे पनि चुनाव चिह्नको भरमा चुनाव जित्न सकिन्छ भन्ने उनको आत्मविश्वास देखिन्छ। कामभन्दा चुनाव चिह्नमा भरोसा भएको राजनीतिलाई पर्दाभित्रको खेल चाहिएको हो। तर‚ जनता पारदर्शिता चाहन्छन्।
ट्वीटर प्रयोगकर्ता ओमकुमार थापा लेख्छन्‚ “काठमाडौं महानगरका मेयरले पद बहालीपछि पहिलो बैठक लाइभ गराएपछि केही वडा अध्यक्षहरूले विरोध गरेछन्। बैठक कसरी सञ्चालन गर्ने त्यसको विधि र प्रकिया होलान्‚ त्यो मेयरले सिक्नुपर्छ। तर‚ अँध्यारो कोठामा गोप्य बैठक गरेर आफूलाई फाइदा हुने निर्णय गर्न पल्केकाहरू तिलमिलाउनु चाहिं स्वाभाविकै हो।”
पारदर्शिता लोकतन्त्रको सौन्दर्य हो। नागरिकको प्रत्यक्ष निगरानीमा विधि र प्रणाली रहन्छ। महानगरको बैठक हेरेकी नुवाकोटको सिसडोल निवासी एक महिलाले आफ्नो दैलोमा पुगेका मेयरलाई भनिन्‚ “इमानदारीपूर्वक काम गर्नुस्। हाम्रो समस्या सम्बोधन गरेर जानुस्। हामीले हेरिरहेका छौं, कसले तपाईंलाई दुःख दिन्छ।” बैठकको प्रत्यक्ष प्रसारणले सूचनाको हक नागरिकको दैलौमै पुर्याइदियो।
नागरिक अगुवा देवेन्द्रराज पाण्डे लेख्छन्‚ “लाइभ बैठकबारेको सवालमा मलाई लाग्छ, समस्या ओपनीयताको होइन गोपनीयताको हो। पारदर्शिताको युगमा केको गोपनीयता। शपथ, सनातनी गोपनीयता होइन, घूस खान्नँ, पक्षपात गर्दिनँ भने पुग्छ जस्तो लाग्छ।”
पाण्डेको जस्तै तर्क मेयर बालेनको पनि छ। पहिलो बैठकमा उनले भने‚ “के लुकाउनु छ र, गोप्य बैठक गर्ने। हामी सबैले मिलेर नागरिकका लागि काम गर्ने हो।”
आजसम्म महानगरपालिकाको फोहोरमा कसको नियन्त्रण छ भन्ने बहुसङ्ख्यक नागरिकले पत्तो पाएका थिएनन्। लाइभ मिटिङमा वडाध्यक्षहरूले पालैपालो यो कुरा राखेपछि, सार्वजनिक जानकारीको विषय बन्यो। समस्या कहाँ कहाँसम्म जेलिएको भन्ने भेउ पाए। राज्य संयन्त्रको काम-कारबाही र समस्याबारे जानकारी पाउनु नागरिक अधिकार हो।
लोकतन्त्रको एक खम्बा पारदर्शिता हो। पारदर्शिताले जनप्रतिनिधिको लोकतान्त्रिक संस्कारलाई मद्दत पुग्छ। राजनीतिक दलहरूमा आन्तरिक लोकतन्त्र बलियो हुन थाल्छ। ताजा हावा बहन थाल्छ। चुनाव आउनु पूर्व नै मतदाता आफ्नो मतको दिशा तय गर्न सक्छन्।
लोकतन्त्रको एक खम्बा पारदर्शिता हो। पारदर्शिताले जनप्रतिनिधिको लोकतान्त्रिक संस्कारलाई मद्दत पुग्छ। राजनीतिक दलहरूमा आन्तरिक लोकतन्त्र बलियो हुन थाल्छ।
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका तल्लो र माथिल्लो गाउँमा विभाजित छ। स्थानीय तह निर्वाचनमा तल्लो गाउँका भूपेन्द्र बस्नेत नेकपा (एमाले) बाट निर्वाचित भए। नेपाली कांग्रेसका उम्मेदवारलाई आफ्नै पार्टीकाले अन्तर्घात गरेको आरोप माथिल्लो गाउँकाले तल्लो गाउँकालाई लगाएका छन्। यही निहुँमा चुनाव लगत्तै खानेपानीको पाइप काटिएको खबर सार्वजनिक छ।
नागरिकलाई मान्छे होइन‚ भोट देख्ने फोहोरी राजनीतिले लामो समय पार गरिसक्यो। एउटा चुनाव सकिएपछि अर्को आउँछ भन्नेसम्म हेक्का राखेको देखिंदैन। मान्छेको प्यासमा, गाँसमा राजनीति गर्ने दल प्रथाले राम्रैसँग सवक सिक्नुपर्ने वेला भएको छ। डोजरे प्रतिनिधिको डोजरको जस्तो पेलाइ नागरिकले कति सहने?
दृश्य बदल्न दृष्टिकोण बदल्नुपर्छ। नागरिकले यो चुनावबाट आफ्नो दृष्टिकोण बदलिएको सङ्केत दिएका छन्। अब आउने चुनावहरूमा जनप्रतिनिधि हुने रहर जागेकाहरूले आफूलाई बदल्न थालून्।
चनाखा नागरिक
यति वेला नेपाली नागरिकको आँखा चुनावपछिका परिदृश्यमा केन्द्रित छन्। भोट हालेपछि शान्त रहने नागरिक यो पटक जागिरहेछन्। खास गरी स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका जनप्रतिनिधिहरूलाई स्थापित राजनीतिक पार्टीका नेता तथा कार्यकर्ताहरूले काम गर्न दिन्छन् वा दिंदैनन् भनेर चनाखो भई हेर्दै छन्। काठमाडौं महानगरपालिकाको पहिलो बैठक लाइभ भएपछि नागरिक खबरदारी अझै प्रष्ट रूपमा देखिएको छ।
सामाजिक सञ्जाल यसका लागि अस्त्र भएको छ। सञ्जाल प्रयोगकर्ताहरूले संयमता अपनाएर खबरदारीमा ध्यान दिने हो भने यो परिवर्तनको अस्त्र बन्न सक्छ। भारतीय पत्रकार रवीश कुमार भनिरहन्छन्, “चित्त नबुझेको कुरा सामाजिक सञ्जालमा दिनको दश पटक लेख।” बोलिरहे केही न केही त बदलिन्छ भन्ने उनको विश्वास छ।
भारतीय लेखक रोमिला थापर सामाजिक सञ्जाल र समाजका व्यक्तिहरूले निरन्तर खबरदारी गर्नुपर्ने बताउँछिन्। उनले यस्तो समूहलाई ‘अर्गानिक इन्टेलेक्चुअल’ को संज्ञा दिएकी छन्। अहिले सामाजिक सञ्जालका अनेक माध्यममा मानिस अभिमत सहित प्रकट भइरहेछन्। टिकटकमा एक जना ज्येष्ठ नागरिक रूपेश महर्जन भन्दै थिए‚ “साना भनेर मान्छे नगनेर हुन्छ। नयाँलाई सहयोग गरेर काम गर्न दिनुपर्छ। राम्रो कुरा जानेका छन् भने पुरानाले सिक्न पनि पर्छ।” महानगर बैठक लाइभ हेरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
शपथ लगत्तै काठमाडौं र धरानका मेयरको कामलाई मानिसले चनाखो भएर हेर्न थालिहाले। धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ शपथ लिएको भोलिपल्टै काममा हान्निए। कार्यभार सम्हालेसँगै धरानवासीको धारामा पानी आउन थाल्यो। मानिस यतिमै धेरै खुशी भए।
यस्तै‚ काठमाडौंका मेयर शपथ नलिंदै काठमाडौंको फोहोर विसर्जन गर्ने ठाउँ सिसडोल पुगे। स्थानीयका कुरा सुने। कार्यभार सम्हालेपछि उपमेयर सहित फेरि पुगे। काठमाडौंको ज्यादतीका कारण सिसडोलवासी आक्रोशित छन्। मेयर र उपमेयरले ठूलो समूहको गुनासा, रिस, आवेग सबै धैर्यपूर्वक सुने।
तीन दशकदेखिको अव्यवस्था तीन दिनमा सम्हाल्न सकिंदैन। यो कुरा नबुझे झैं गर्ने सामाजिक अभियन्ताहरू भने आफ्नो आलोचनात्मक चेत जोगाउने सुर्तामै मग्न छन्। सामाजिक सञ्जालमा उनीहरूको पूर्वाग्रही आक्रोश हेर्नलायक छ। तटस्थ नागरिक भने सबै कुरा निष्पक्ष हेर्दै छन्।
ट्वीटरमा जुगल भूर्तेल लेख्छन्‚ “काठमाडौंको फोहोर व्यवस्थापन गर्न सबै राजनीतिक दलले शहरका मेयरलाई सहयोग गर्नुपर्छ। यो अस्तव्यस्तताको जडमा तिनै दलको विगतको असक्षमता जिम्मेवार छ। तिनको वर्षौंदेखिको फोहोर मेयर एक्लैले एकैछिनमा सोहर्न सक्दैनन्। बाहिर बसेर रमिता नहेरौं। बहुत महँगो पर्ला आगामी निर्वाचनमा।” भूर्तेलले भने जस्तै समस्यालाई हेर्ने सर्वपक्षीय दृष्टिकोण चाहिन्छ। दशकौंदेखि थुप्रिएको रछ्यानमा उभिएका युवा प्रतिनिधिहरूलाई सघाउने मन चाहिन्छ। उनीहरूको अवस्थाप्रति ‘कम्प्यासन’ चाहिन्छ।
तन्नेरी जनप्रतिनिधिहरूले गरेको प्रयासको प्रतिफल पनि देखिन थालेको छ। काठमाडौंका केही रेस्टुरेन्टको शौचालय सर्वसाधारणको प्रयोगमा आएको फोटो देखिएको छ। यो दृश्य वर्षातको मौसममा पानीको पहिलो थोपा जस्तो भयो। पानीले छुँदा माटोको सुगन्ध छरिए जस्तै भयो।
शौचालयकै प्रसङ्गमा ट्वीटरमा मस्तानी लेख्छिन्‚ “मन जित्न शौचालय नै काफी छ। केही सिक्नुस् नेताहरू। आखिर नेपाली जनताले देश सिंगापुर जस्तो बनोस् भनेका हैनन्। ठूला कुरा किन गर्यौ। कमसेकम यस्ता आधारभूत कुरामा सहज पहुँच र विकास गरिदिएको भए आज तपाईंहरूलाई हेर्न दृष्टिकोण पनि फरक हुन्थ्यो।” सार्वजनिक शौचालयको पहल स्वस्फूर्त हुँदै जान थालेको छ। होण्डा कम्पनीले पनि आफ्ना सबै शोरुमहरूमा निःशुल्क शौचलय उपलब्ध हुने सूचना सार्वजनिक गरेको छ।
नागरिक अभिमतलाई निरन्तर गरिएको अपहेलना र बेवास्ता मानिसलाई बिझेको देखिन्छ। आफूले चुनेका र मन पराएका जनप्रतिनिधिलाई काम गर्न नदेलान् कि भन्ने भय र सतर्कता दुवै देखिन्छ। दलीय दासताबाट मुक्त हुन खोजिरहेको समयका मानिसलाई नेतृत्व गर्न अब सजिलो छैन। उनीहरूको चेतनालाई जिस्क्याउन बानी परेका बौद्धिकहरू पनि फेरिनुपर्नेछ।
बौद्धिक विचलन
स्वतन्त्रहरूको उम्मेदवारी र विजयले नेपाली समाजमा विभिन्न किसिमले प्रभाव जमाएका मानिसको परिचय उजागर गरिरहेको छ। परम्परागत राजनीतिक दलका कार्यकर्ताहरू आत्तिनु नयाँ कुरा भएन। बौद्धिक भनेर चिनिएका र छाउन चाहेने मानिसहरूमा बढी विचलन देखियो।
मत परिणामपछि स्थापित राजनीतिक दलका शीर्ष र युवा नेताले अपेक्षा विपरीत संयमता देखाए। विजयी स्वतन्त्र उम्मेदवारहरूप्रति सद्भाव पनि प्रकट गरे। दलहरूले आत्मसमीक्षा गरेर अघि बढ्नुपर्ने अभिव्यक्ति दिए। आत्मसमीक्षाको अनिकाल नै रहेको नेपाली राजनीतिमा यति पनि धेरै मानौं, अहिलेका लागि।
नेपाली सञ्चार माध्यममा लामो समय एकलौटी सत्ताका सम्राट् बनेका केही लेखक तथा बौद्धिकहरू भने तिलमिलाएको देखिन्छ। उनीहरूमा दलका नेतामा भन्दा बढी छटपटी देखिन्छ। गायक बालेन साहले काठमाडौं र लेखक गनेस पौडेलले पोखरा महानगरको मेयरमा उम्मेदवारी दिएका थिए। एकै चिह्नमा उठेका दुई स्वतन्त्र उम्मेदवारप्रति बौद्धिकहरूको व्यवहार भने एकै देखिएन। गनेसको मनोबल बढाउन लेखक खगेन्द्र सङ्ग्रौला पोखरा नै पुगे। उनकै पदचाप पछ्याँउदै अर्का लेखक कुमार नगरकोटी पनि उतै देखिए। बाँकी लेखकहरूको सामाजिक सञ्जाल अभियान कम रोचक थिएन। वीरगञ्जमा राप्रपाबाट उम्मेवारी दिएका लेखक गिरीश गिरीलाई लेखकहरूले मायाको वर्षात नै गरिदिए।
लेखन र पत्रकारितामा आफूलाई सम्राट्कै अर्को रूप देख्ने मानिसहरू रन्थनिएर अबको पुस्तालाई केही फरक पर्दैन।
तर‚ उनीहरूले बालेनप्रति देखाएको पूर्वाग्रह भने छक्क पर्ने खालको थियो। गिरीलाई “पार्टी जे भए नि मतलब छैन” भन्नेमध्येका कतिपयले बालेनलाई राप्रपाको मान्छे भन्दै हिंडे। त्यतिले मात्र पुगेन‚ यो ज्ञानेन्द्र शाहको मान्छे भन्न थाले। अचम्मको कुरा के छ भने, गणतान्त्रिक मुलुकका ज्ञानेन्द्र एक सामान्य नागरिक हुन्। भोलि उनले नै चुनाव लड्न चाहे भने पनि पाउनुपर्छ। लोकतन्त्रमा कुनै पनि नागरिकको अधिकार घटी वा बेसी हुँदैन। बालेनलाई राजाको मान्छे हो भन्दै उपहास गर्नु त गिरेको बौद्धिकता हो।
लेखक गनेसले अभियानका क्रममा मे ७ मा एक ट्वीट लेखे, “अटेरी अभियानले स्थानीय निर्वाचनलाई दलीय नबनाऔं भन्छ। तर‚ यो निर्दलीयताको पक्षपाती होइन। दलीय होस् वा स्वतन्त्र, स्थानीय चुनावमा उम्मेदवारको अध्ययन, योजना, इमानदारी र व्यवस्थापकीय कलाको मूल्याङ्कन गर्ने हो। उसको दल हेर्ने होइन। दल हेर्नका लागि संघ र प्रदेशका चुनाव बाँकी नै छन्।” उनको यो ट्वीटलाई “करिवन सहमत” क्याप्सन लेखेर खगेन्द्र सङ्ग्रौलाले रिट्वीट गरे। निकटताकै आधारमा सङ्ग्रौलाले गनेसलाई कसैका मान्छे देखेनन्‚ आफ्ना देखे।
बालेनको जित निश्चित भएपछि मे १७ मा सङ्ग्रौलाले ट्वीट लेखे, “लोकतन्त्र मै हुँ भन्ने दाजुहरूको कुशासन, भ्रष्टाचार, नातावाद, स्वेच्छाचारका उपज हुन् बालेन। बालेनको उदय माने एक प्रतिक्रिया, एक रहस्य, एक धमाका। हिजो कोही कोही ‘राजा आऊ देश बचाऊ’ भन्थे, आज कोही कोहीले ‘बालेन आउन देश बचाऊ’ भन्न बेर छैन। देश बचाउनेका कर्कश रटना सुनेर मेरो देशै चकित छ।” उनले एक अभिव्यक्तिमा स्वतन्त्र उम्मेदवारहरूको समर्थन गर्ने नागरिकलाई हरिल्वाँठ भनेर होच्याएका पनि छन्। गनेसको चुनावी अभियानमै होमिएका सङ्ग्रौलाले पत्रकार अखिलेशलाई बालेनको समर्थन अड्कलेर गर्न उर्दी दिए। उनले कस्तो रङको लोकतन्त्रका लागि मलजल गरिरहेछन् उनै जानून्।
पत्रकार किशोर नेपाल बालेन र उनका समर्थकलाई धारावाहिक घृणाको वर्षात गरिरहेछन्। उनको बेतुकका घृणा टिप्पणी गर्नलायक विषय पनि रहेन। लेखन र पत्रकारितामा आफूलाई सम्राट्कै अर्को रूप देख्ने मानिसहरू रन्थनिएर अबको पुस्तालाई केही फरक पर्दैन।
काठमाडौंका भित्री बस्तीका बासिन्दामा बालेनप्रतिको झुकाव छक्क पर्ने खालको थियो। उमेर पुगेका महिलाहरू उनी आँगनमा उभिन पुग्दा रोएका थिए। बालेनको र्याप सुनेर पक्कै रोएनन् होला। राजनीतिक दलहरूले दिएको दिक्दारीका आँसु मात्र होइन‚ केही गर्छु भनेर लगनका साथ आफ्नो आँगनमा उभिएका‚ युगौंदेखि नफेरिएको नेतृत्वको मुहार र शहरको मुहार युवाहरूले फेर्छन् कि भन्ने आश भरोसाले रोए। धरानमा हर्क साम्पाङलाई मानिसहरूले गरेको माया र भरोसा आश्चर्य लाग्ने खालको छ। चुनावी अभियानमा वास्तै नगरे जस्तो गरेको देखिए पनि मतपेटिकामा भने हर्कलाई चूपचाप माया वर्षाए।
अठोट सहित उभिएका स्वतन्त्र उम्मेदवारप्रति मतदाताले दिएको माया राजनीतिक दलप्रतिको वितृष्णा मात्र देख्नु पूर्वाग्रह हो। जनमतको वास्तै नगरी बौद्धिक विष वमन गरिरहनु नागरिक चेतको अपमान हो। दल र बौद्धिकहरूको भूमिका नागरिकको कठघरामा उभिएको छ। वेलैमा सम्हालिनु राम्रो हुन्छ।
परिवारभित्र हुने हिंसाको विरोध गर्ने महिलालाई परिवार विरोधीको संज्ञा दिइन्छ। परिवार तहसनहस गर्न खोजेको आरोप लगाइन्छ। वास्तवमा परिवारभित्र भइरहने अन्यायको पर्दा महिलाहरूले उघारिदिएका मात्र हुन्। हिंसारहित परिवार बन्नुपर्छ भनेर बदनाम भएरै लागिरहेका हुन्। दलहरूभित्र बढ्दै गएको अराजकताको विरोध गर्नेले पनि अहिले लोकतान्त्रिक विधिका बाधक उपनाम पाइरहेछन्। निरङ्कुशताको वकालत गरेको आरोप सहिरहेछन्।
परिवारभित्रको हिंसा विरोध गर्नेलाई परिवार विरोधी भन्नु र दलको दादागिरीको विरोध गर्नुलाई लोकतन्त्र विरोधी भन्नु एकै हो। परिवार हिंसारहित हुनुपर्छ‚ राजनीतिक दलहरू नागरिकप्रति उत्तरदायी हुनुपर्दछ। मानिसले चाहेको कुरा यही हो। स्वतन्त्र उम्मेदवारहरूसँग झस्किनेहरूले दलमा रहेको फोहोर सफा गर्न थाल्नुपर्यो। स्वतन्त्रहरूको जागरण स्वागतयोग्य छ। आगामी चुनावहरूमा उनीहरू अझै जागून्। लोकतन्त्रका खातिर जागून्। फेरिएको नयाँ युग दृश्य हेर्न जनता आतुर छ।