चीवरकाे सम्मान
बुद्ध, धर्म र संघको मर्यादा कायम गर्न नसक्नेले चीवरको प्रयोग नगर्नु राम्रो हो। सदैव हेक्का राख्नुपर्ने कुरा हो, रातो वा पहेंलो रङको चीवर कुकृत्य लुकाउने वस्तु होइन।
गौतम बुद्धले बौद्ध धर्ममा भिक्षुत्व ग्रहण गरेकाहरूलाई चीवर लगाउनुपर्ने नियम बनाएका थिए। त्यो वेला चीवरहरू आजभोलि जस्तो बनिबनाउ नभएर बडो मुश्किलले मात्र प्राप्त हुन्थ्यो।
कतिसम्म भने, मसानघाटमा फालिएका कपडा बटुलेर ल्याई निश्चित आकारप्रकारमा सिलाएर गेरुवा रङले रङ्ग्याई शरीरमा लगाउने पनि गरिन्थ्यो। पछि राम्रो चीवर दानमा प्राप्त हुँदा पनि कतिपय भिक्षुले अनित्य दर्शनको बोध गर्न मसानमा फालिएका कपडाबाटै काम चलाउने र त्यसैलाई आदर्श मान्ने गरेको पनि पाइन्छ।
आजभोलि चीवरको आकारप्रकारमा मात्रै नभएर रङमा पनि विविधता आउन थाल्यो। तिब्बती बौद्ध धर्ममा दीक्षित भिक्षुहरूको निश्चित आकारप्रकार र कलेजी रङको चीवर हुन थाल्यो। तिब्बती समाजमा चीवर बौद्ध भिक्षुले मात्रै लगाउँछन् भन्ने छैन। गैरभिक्षुले चीवरको सम्मान गर्दै आफूले पनि चीवर लगाउँदा बनावटमा केही फरक पारेको हुन्छ।
तिब्बती भाषाको ‘लामा’ शब्दको अर्थ ‘गुरु’ हो। यस्तै बौद्ध भिक्षुका लागि तिब्बती भाषामा प्रयुक्त हुने शब्द ‘घेलुं’ वा ‘घेलुङ’ हो। भिक्षुहरू स्वतः गुरु पनि हुन्छन्, तर सबै गुरु भिक्षु हुँदैनन्। भिक्षु हुन निश्चित विधि पुर्याएर निर्दिष्ट विनय (नियम) को पालना गर्नुपर्दछ। तर, त्यस्तो पाबन्दी वा विनय गुरु लगायत उपासक-उपासिकामा हुँदैन।
भिक्षु हुने प्रक्रियामा रहेका प्रशिक्षार्थीलाई श्रामणेर वा श्रामणिका भनिन्छ। यसलाई गुम्बामा तिब्बती भाषामा ‘गेछुल्’ र ‘गेछुल्मा’ भनिन्छ। यिनीहरूको व्यवस्था वा क्रियाकलाप भिक्षु-भिक्षुणीकै जस्तो हुन्छ, तर उपसम्पदा (पूर्ण रूपमा भिक्षु-भिक्षुणी हुने प्रक्रिया, यसै दिनदेखि उसको उमेर गणना हुन्छ) हुनु र नहुनुमा मात्र फरक हुन्छ।
२० वर्षभन्दा कम उमेरका श्रामणेर र श्रामणिकालाई उपसम्पदा दिइन्न। उमेर पुग्दा पनि कोही श्रामणेर र श्रामणिका नै भएर बस्न चाह्यो भने पनि त्यो पाउँछ। तर, सबैलाई उच्च सम्मानयुक्त शब्द, श्रद्धा र व्यवहार हुन्छ। सम्बोधन गर्दा गुम्बामा सबैलाई ‘लामा’ र थेरवादी बौद्ध विहारमा भन्ते नै भनेर सम्बोधन गर्ने गरिन्छ।
सामान्यतः लामा भन्नाले तिब्बती बौद्ध धर्मको अनुयायी वा बौद्ध भिक्षुलाई बुझ्ने आम प्रचलन छ। तर, सबै लामा बौद्ध भिक्षु नै हुन्छन् भन्ने अनिवार्य छैन र यस्तो बुझाइ गलत हो।
प्रशिक्षणका क्रममा रहेका कारण श्रामणेर र श्रामणिकाबाट भूलचुक हुने सम्भावनालाई नकार्न सकिन्न। यसबाट स्पष्ट हुन्छ, बौद्ध भिक्षुले लगाउने खालको चीवर लगाएकै भरमा उसलाई सोझै बौद्ध भिक्षु भनेर बुझ्दा र उसले गरेका गल्तीहरूलाई बौद्ध भिक्षुको गल्ती मान्दा साँचो अर्थमा सही बौद्ध भिक्षुको प्रतिष्ठामा असर पुगिरहेको हुन्छ। बुद्ध, धर्म र संघको मर्यादा कायम गर्न नसक्नेले चीवरको प्रयोग नगर्नु राम्रो हो।
बौद्ध धर्म विभिन्न सम्प्रदाय र उपसम्प्रदायमा विभक्त भए पनि विनय (नियम) एउटै हुन्छ। समय, भूगोल र परिस्थिति अनुसार विनयमा केही लचकता ल्याउन सकिने प्रावधान पनि छ। त्यस्तै, सम्प्रदायविशेषले केहीलाई अपनाउने र केहीलाई नअपनाउने पनि हुन्छ।
जस्तो, थेरवादी बौद्ध भिक्षुहरू विकाल भोजन गर्नु हुँदैन भनेर मध्याह्नपछि भोजन नगरी एक छाक मात्रै खाने हुन्छन्। अन्यले यस विनयलाई अनुशीलन गरेको पाइँदैन। बिरामी परेको प्रतिकूल परिस्थितिमा थेरवादी भिक्षुले यो विनय पालना नगर्दा पनि दोष लाग्दैन। विकाल भोजन नगर्ने लगायत अन्य नियमहरू कसैले पालना गरेन भने त्यसलाई ती व्यक्तिको व्यक्तिगत कमजोरीका रूपमा लिइन्छ।
सामान्य बौद्धजन (उपासक-उपासिका) ले दैनिक रूपमा पालना गर्नुपर्ने भनेर पञ्चशील निर्दिष्ट गरिएको हुन्छ। कुनै पनि प्राणीको हिंसा नगर्नु, नदिएको कुरा प्राप्त नगर्नु (चोरी नगर्नु लगायत), व्यभिचार नगर्नु, झूटो नबोल्नु र जाँडरक्सी तथा अन्य लागूपदार्थको सेवन नगर्नु पञ्चशीलमा पर्दछ। अवसरविशेषमा थप ती शील विलासीपूर्ण नरम खालको बिछ्यौनामा नसुत्नु, नृत्य, गीतसङ्गीत जस्ता मनोरञ्जनात्मक सामग्रीहरूमा नझुल्नु र विकाल भोजन नगर्नुलाई जोडेपछि अष्टशील बन्छ।
सामान्यतः सर्वसाधारणले उपोसथ व्रत पालना गर्ने वलामा अष्टशील पालना गर्ने गरिन्छ। भिक्षु र भिक्षुणी तथा श्रामणेर र श्रामणिकाको जीवन यापन गर्नेले आठै वटा शीलका अतिरिक्त अन्य दुई शील सुगन्धित पदार्थ, माला, वस्तु आदि प्रयोग गरेर नहिंड्ने र जवाहरात, सुनचाँदी जस्ता बहुमूल्य वस्तु नछुने तथा त्यसमा आशक्त नहुने पालना गर्नुपर्ने प्रावधान छ।
शीलहरू कसले कति पालना गर्यो वा गरेन भनेर अनुगमन गर्ने निकाय वा प्रावधान बौद्ध समाजमा पाइँदैन। शील भनेको चियोचर्याको विषय नभएर व्यक्तिगत रूपमा इमानदारीका साथ पालना गर्ने कुरा हो। शील शतप्रतिशत नै पालना गर्नु राम्रो हो, नसके पालनाका लागि प्रयत्नशील भइरहनु पनि एक खालको बौद्ध साधना नै हो। खुलमखुला शील भङ्ग गर्ने र शीलको विरुद्ध ठाडै बोल्नेभन्दा पालना गर्न खोज्ने वा पालना गर्न नसकेर लज्जाबोध गर्ने भिक्षु वा सर्वसाधारण व्यक्तिलाई असल मान्नुपर्छ।
शील पालना सबै तह र तप्काका बौद्धका लागि महत्त्वपूर्ण विषय हो। शील पालना जति बलियो भयो त्यति नै सहज रूपमा समाधि लाग्ने र समाधिले प्रज्ञा उत्पन्न हुने हुन्छ। यही भएर शीलले सम्पन्न सर्वसाधारण व्यक्ति वा भिक्षु-भिक्षुणी सम्मान र श्रद्धाको पात्र हुन्छन्।
बौद्ध भिक्षु-भिक्षुणीहरूले शील मात्रै पालना गरेर पुग्दैन, निश्चित विनय पनि पालना गर्नुपर्छ। व्यभिचार नगर्ने शील साधारण गृहस्थीका लागि हो भने विहार वा गुम्बामा बसी विनय पालना गर्नेका लागि कुनै पनि हालतमा कसैसँग यौनसम्बन्ध नराख्ने हो। विभिन्न घटना र परिस्थिति अनुसार बुद्धद्वारा समय समयमा बनाएका विनय (नियम) हरूको सङ्कलन ‘विनयपिटक’ त्रिपिटकभित्रै पर्दछ।
बुद्ध र बौद्ध समाजलाई बुझिनसकेकाको नजरले जोकोही बौद्ध भिक्षु वा बौद्धजनमा बुद्धत्व खोज्ने र पढेको वा सुनेका बुद्धको व्यक्तित्व ती बौद्ध भिक्षुमा नदेखिएपछि निराश हुँदै नकारात्मक टिप्पणी गर्नु हाम्रो समाजको एउटा कमजोरी हो। बुद्ध र बौद्ध फरक विषय हुन्।
बुद्धको शिक्षालाई अनुशीलन गर्छु भनेर निश्चित जीवन पद्दति अपनाउनेहरू गृहस्थहरू बौद्ध हुन् भने बौद्ध समाजबाटै उच्चस्तरको अध्ययन र साधनाका लागि घरवार नै छाडेर विहार वा गुम्बामा बस्न जाने भिक्षु-भिक्षुणी तथा श्रामणेर र श्रामणिका हुन्। भिक्षु-भिक्षुणीलाई निर्दिष्ट गरिएका सबै विनय श्रामणेर र श्रामणिकालाई अनिवार्य रूपमा लागू हुँदैन। यिनीहरूको स्वभाव, स्तर र चरित्र व्यक्तिगत रूपमा बेग्लाबेग्लै हुन्छन्।
बुद्धकै वेलामा पनि सबै भिक्षु-भिक्षुणी एउटै स्तर र चरित्रका थिएनन्। स्वयं बुद्धसँगै द्वेषभाव राख्ने, ठाडो मुख लाउने, आपसमा झगडा गर्ने, ईर्ष्या गर्ने आदि पनि हुन्थे। नयाँ भिक्षुहरूलाई सम्हाल्न नसकेर हैरान भएका पुराना भिक्षुहरू पनि हुन्थे। यस्तो अवस्थामा बुद्धले तालीम दिन नसक्ने हो भने नयाँ भिक्षुहरूको जिम्मा नलिन सुझाव दिने गरेको पनि पाइन्छ। यस दृष्टिबाट हेर्दा बौद्ध संघमा कमी-कमजोरी आजभोलिको मात्रै समस्या होइन, तर व्यवस्थापन गर्न सकिन्छ।
विहार वा गुम्बामा बस्न जानु बौद्ध धर्मको अध्ययन र साधनाका लागि हो। सांसारिक भएर साधना गर्न गाह्रो हुन्छ। आजभोलि तिब्बती बौद्ध परम्परा अनुसारको गुम्बामा भिक्षु भएरै पनि विवाह गर्ने र त्यसको औचित्य सावित गर्न अनेक तर्क गरेर बस्ने गरेको पाइन्छ। सक्य नामको उपसम्प्रदायमा त धर्मगुरुको उत्तराधिकारी वंशजका आधारमा हुने गरेको पाइन्छ, तर यस्तो प्रावधान विनयपिटकमा पाइँदैन।
चीवर नै लगाएको तर भिक्षु नभएर गृहस्थ लामा जीवन अपनाएका व्यक्तिलाई देखेर पनि कतिपय सर्वसाधारण रनभुल्लमा पर्ने गरेको पाइन्छ। तर, सदैव हेक्का राख्नुपर्ने कुरा हो, रातो वा पहेंलो रङको चीवर कुकृत्य लुकाउने वस्तु होइन। कतिपय अवस्थामा आपराधिक कर्ममा संलग्न पाएर कानूनी सजाय भोग्ने गरेको पनि नपाइने होइन। बौद्ध भिक्षुको भेषमा आपराधिक कर्म गर्नेहरूलाई नियन्त्रण गर्न थाइल्यान्ड लगायत कतिपय बौद्ध राष्ट्रमा छुट्टै प्रहरी विभागको व्यवस्था पनि गरिएको हुन्छ।
विनय बलियो हुन्जेल बुद्ध शासन (बौद्ध धर्म वा बुद्धको प्रभाव) सुस्थिर र सशक्ति हुने बुद्धवचन छ। कोही भिक्षु शीलमा बसेनन् वा उनमा विचलन आयो भने संघ मात्र नभएर उपासक-उपासिकाहरूले समेत संवेदनशील भएर सरोकार राख्नुको तात्पर्य यही हो।