प्रहरीको गोली लागेर बर्दियामा एक युवतीको मृत्यु
बर्दियाको मधुवन नगरपालिकास्थित ओराली बजारमा प्रहरीले चलाएको गोलीबाट एक युवतीको मृत्यु भएको छ।
बाघ स्थानान्तरणको माग गर्दै प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको थियो। गोली लागेर मधुवन-२ की १८ वर्षीया नवीना थारूको मृत्यु भएको स्थानीय सीताराम थारूले जानकारी दिए।
सोमबार बारीमा दाउरा काट्ने क्रममा बाघले आक्रमण गर्दा मधुवन-२ सोनाहाकी ४१ वर्षीया अस्मिता थारू घाइते भएकी थिइन्। त्यसपछि वन्यजन्तुबाट सुरक्षाको माग गर्दै स्थानीयले सडक बन्द गरेका थिए। सडक खुलाउने क्रममा स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको प्रत्यक्षदर्शीको भनाइ छ।
प्रदर्शनकारीले दुई वटा मोटरसाइकल नियन्त्रणमा लिएर आगो समेत लगाएको प्रहरीले बताएको छ। झडपमा स्थानीय र प्रहरी सहित २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक हृदय सापकोटाले जानकारी दिए।
भीडलाई नियन्त्रणमा लिन प्रहरीले ११ सेल अश्रुग्यास र केही राउन्ड हवाई फायर समेत गरेको सापकोटाले बताए। प्रदर्शनकारीले ढुङ्गा हान्न नरोकेपछि प्रहरी गोली चलाउन बाध्य भएको उनको भनाइ छ।
प्रदर्शनकारीहरूले बाघको स्थानान्तरण गरिनुपर्ने, जङ्गल क्षेत्रमा तारबार गरिनुपर्ने र स्थानीयलाई बाघबाट सुरक्षा दिनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका हुन्।