काठमाडौंको फोहोर आजदेखि उठाउने सहमति
काठमाडौं उपत्यकाको फोहोर आजदेखि व्यवस्थापन हुने भएको छ। शहरी विकास मन्त्रालय‚ काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका बासिन्दाबीच सोमबार फोहोर व्यवस्थापन गर्ने सहमति भएको हो।
काठमाडौं उपत्यकाका काठमाडौं‚ ललितपुर महानगरपालिका र अन्य नगरपालिकाको फोहोर करीब एक महीनादेखि व्यवस्थापन हुन सकेको छैन।
सहमति अनुसार‚ शहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षमा बञ्चरेडाँडामा ल्यान्डफिल साइट प्रभावित क्षेत्रमा विभिन्न पाँच वटा सडकका लागि ४२ करोड ५० लाख विनियोजन गर्नेछ। यस्तै, नदी नियन्त्रण, सामुदायिक भवन‚ मन्दिर निर्माण र वृक्षरोपणका लागि एक करोड ७० लाख विनियोजन गर्ने सहमति भएको छ।
यस्तै‚ वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन प्राप्त भएपछि जग्गा अधिग्रहण प्रक्रिया शुरु गर्ने‚ प्रतिवेदनको सिफारिशका आधारमा प्रभावित क्षेत्रका स्थायी बासिन्दाका लागि १० शय्याको अस्पताल सञ्चालन गर्न नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई अनुरोध गर्ने सहमतिमा उल्लेख छ।
काठमाडौं महानगरपालिकाले धुनीबेसी नगरपालिकाका वडा नम्बर १‚ ३‚ ४ र ककनी गाउँपालिकाका वडा नम्बर १‚ २ र ३ का प्रभावित स्थायी बासिन्दालाई नेपाल स्वास्थ्य बीमा बोर्डबाट विधि र प्रक्रिया पूरा गरी दोहोरो नपर्ने गरी एक साताभित्रै स्वास्थ बीमा गर्ने सहमति भएको छ।
धुनीबेसी र ककनीको पूर्वाधार विकासका लागि विगतमा उपलब्ध गराउँदै आएको अनुदानलाई निरन्तरता दिने‚ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको प्रतिवेदनलाई आधार मानी १० दिनभित्र रासायनिक वा जैविक उपचार गरी दुर्गन्ध हटाउने कार्यको प्रारम्भ गर्ने प्रतिबद्धता जनाइएको छ।
यस्तै‚ साउन १ गतेदेखि उपत्यकामा उत्पादन हुने फोहोरलाई स्रोतमै वर्गीकरण गरी लैजाने व्यवस्था गर्ने र ईआईए प्रतिवेदनको आधारमा व्यवस्थापन योजना बनाएर ६ महीनाभित्र सिसडोलको पोस्ट ग्लोजर प्रक्रिया शुरू गर्ने सहमति भएको छ।