नेप्से दोहोरो अङ्कले घट्यो, कारोबार पनि ओरालो
धितोपत्र बजारको शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ।
यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि लगातार ओरालो लागेको नेप्से परिसूचक यस साताको पहिलो कारोबार अर्थात् आज सोमबार पनि सोही लयमा रहेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार, नेप्से परिसूचक १२.८९ अङ्कले ओरालो लागेर दुई हजार ६५.८२ अङ्कमा ओर्लिएको छ। त्यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.१२ अङ्कले ओरालो लागेर ४००.३६ अङ्कमा ओर्लिएको छ।
नेप्सेको ओरालो यात्रा जारी रहँदा कारोबार रकम समेत ओरालो लागेको छ। कुल २२८ कम्पनीको ४४ लाख नौ हजार ६९१ कित्ता शेयर एक अर्ब २७ करोड ३३ लाख ८५ हजार २७७ मूल्यमा खरीद-बिक्री भयो।
नेप्सेका अनुसार, कारोबार भएका कुल १३ उपसमूहमध्ये ६ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ भने सात उपसमूहको शेयर मूल्य घटेको छ। ब्यांकिङ १९.०४, व्यापार ०.१२, होटल तथा पर्यटन १.२४, जलविद्युत् ४.९९, निर्जीवन बीमा ४९.५४, जीवन बीमा १९८.३२ र लगानी ०.२१ अङ्कले घटेको छ।
त्यस्तै, विकास ब्यांक ११.९३, वित्त ३.३, उत्पादन २१.०९, अन्य १.५९, लघुवित्त २२.६ र सामूहिक लगानी कोष ०.०४ अङ्कले बढेका छन्।
सोमबारको कारोबारपछि बजार पूँजीकरण २९ खर्ब ४१ अर्ब १४ करोड १३ लाख १७ हजार ६१९ बराबर पुगेको छ।
नेप्सेका अनुसार, उपकार लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो। बलेफी हाइड्रोपावर ९.९६, नारायणी डेभलपमेन्ट ब्यांक ६.४७, मिथिला लघुवित्त ४.३७ र सिद्धार्थ इक्विटी फन्डका लगानीकर्ताले ३.९० प्रतिशतले कमाए।
त्यस्तै, हिमालयन ब्यांक ९.९९, माहुली लघुवित्त ७.६६, नेपाल लाइफ इन्स्योरेन्स ३.९२, मनकामना स्मार्ट लघुवित्त ३.९२ र गुराँस लघुवित्तका लगानीकर्ताले ३.८६ प्रतिशतले गुमाए। (रासस)