यस्ता छन् हेटौंडाकी मेयर लामाका योजना
हेटौंडा उपमहानगरकी नवनिर्वाचित मेयर मीना लामाले आफ्नो पाँच वर्षीय कार्यकालमा हेटौंडालाई सुविधायुक्त सुन्दर शहरका रुपमा चिनाउने योजना बनाएको बताएकी छन्।
मेयर लामाका योजना उनकै शब्दमा:
स्थानीय तहको निर्वाचन भर्खरै सम्पन्न भएको छ। कतिपय नयाँ त कतिपय अनुभवी जनप्रतिनिधि आएका छन्। नयाँलाई समय लाग्ला, अनुभवी भने पहिलो दिनदेखि नै काममा जुटिसकेका छन्। म पनि पाँच वर्ष उपमेयर भएर काम गरिसकेकाले मेयरको जिम्मेवारी निर्वाह गर्न अप्ठ्यारो महसूस गरेकी छैन, पहिले दिनदेखि नै काममा तल्लीन छु।
पहिलो कुरा, मैले पाँच वर्ष उपमेयर भएर गरेको कामले नै हेटौंडा उपमहानगरका बासिन्दाले मेयरमा जिताएका हुन्। चुनाव ताका धेरैले ‘पुरुषसँग महिलाले प्रतिस्पर्धा गर्न सक्दिनन्’ भनेका थिए। तर, हेटौंडाबासीले ममाथि विश्वास गर्नुभयो, छोरीले पनि काम गर्न सक्छिन् भनेर जिम्मेवारी सुम्पिनुभयो।
हेटौंडाले त मलाई निर्वाचित गर्यो, तर अन्यत्र भने जति महिला नेतृत्वमा आउनुपर्ने हो, आएनन्। संविधानले गरेको व्यवस्था अनुसार पनि महिला नेतृत्वमा आएनन्। टिकटका लागि पार्टीमा हस्तक्षेप गर्न सकेनौं, पहुँच पुगेन।
राजनीतिक आन्दोलनमा सहभागी भयौं। पुरुषले नेतृत्व गरे, हामी त्यसमै सन्तुष्ट भयौं, आफूले नेतृत्व लिन खोजेनौं। अब आफ्नो दलमा पनि बोल्नुपर्छ, आफ्ना कुरा राख्नुपर्छ, नेतृत्व लिने कोशिश गर्नुपर्छ।
हाम्रो सामाजिक व्यवस्थामा महिलाले धेरै जिम्मेवारी निर्वाह गर्नुपर्छ। घरव्यवहार हेर्नुपर्छ, सन्तानको हेरचाह गर्नुपर्छ। त्यसपछि मात्रै आफ्नो पेशागत काम गर्ने समय मिल्छ। म पनि आम नेपाली महिलाले जस्तै घरपरिवारका सबै काम गरेर आएकी हुँ।
यसको एउटा फाइदा पनि छ, व्यवस्थापन गर्ने क्षमता निर्माण हुन्छ। त्यसैले बालबालिका, घरपरिवार वा श्रीमान्लाई समय दिनुपरेकाले अन्य काम गर्न सक्दिनँ कि भनेर कमजोर सोच्नु हुँदैन। घरपरिवारसँगै समाजलाई पनि सही दिशामा डोर्याउन सकिन्छ, आँट गर्नुपर्छ।
अब नयाँ पुस्तालाई नेतृत्वमा ल्याउन सबैले सहयोग गर्नुपर्छ। मैले पनि महिला नेतृत्व विकासका लागि केही योजना बनाएकी छु। जसलाई अबको पाँच वर्षमा पूरा गर्नेछु। महिला सशक्तीकरण, सीप विकास, आर्थिक रूपमा आत्मनिर्भर र सशक्त बनाउने योजना छन्। यसका लागि उपमहानगरमा महिला प्रतिष्ठान बनाएर अघि बढ्छौं। त्यस्तै, कानून अनुसार केही रणनीतिक योजना पनि बनाउँछौं।
हेटौंडामा महिला जागरण समूह छन्। तिनीहरू मार्फत महिलालाई सीप प्रदान गर्न, क्षमता विकास गर्न र सशक्तीकरणका लागि काम गर्न सकिन्छ। विद्यालय स्तरमा पनि बालिकाको आत्मबल अभिवृद्धिका लागि काम गर्नु छ।
महिला र बालिकामाथि हुने हिंसामा शून्य सहनशीलता अपनाउनुपर्छ। यस्ता हिंसाका घटनामा कानून अनुसार कारबाही गर्न पहल गर्ने त भइहाल्यो, सामाजिक रूपमा पीडितलाई सहज वातावरण बनाउन काम गर्छौं। यसका लागि सामाजिक चेतना अभिवृद्धिमा ध्यान दिनुपर्छ। यसका लागि स्थानीय तहमा आवश्यक ऐन–कानून निर्माण गर्नेछौं।
छोरीलाई यसो नगर, उसो नगर भन्दै गर्दा छोरालाई पनि सँगसँगै सिकाउनुपर्छ। छोरीहरूको सम्मान गर्न छोरालाई पनि सचेत गराउनुपर्छ। त्यतातिर पनि केही काम गर्नेछौं।
महिलाका मुद्दालाई प्राथमिकता दिए पनि समग्र हेटौंडाको जिम्मेवारी निर्वाह गर्नुपर्नेछ। अबको पाँच वर्ष हेटौंडालाई राम्रो शहरका रूपमा विकास गर्न केही योजना बनाएकी छु।
हेटौंडाको चौतर्फी विकासको अजेन्डा सबैको साझा अजेन्डा हो। यसमा यो पार्टी र त्यो पार्टी भन्ने छैन। सबैसँग हातेमालो गरेर अघि बढ्छु।
हेटौंडा आफैंमा सुन्दर छ। यसलाई अझ हरियाली शहर बनाउनु छ। यो बागमती प्रदेशको राजधानी पनि भएकाले राम्रो र विकसित शहरमा परिणत गर्नु छ।
विकास निर्माणका धेरै काम गरिरहँदा महिला, बालबालिका, लैङ्गिक अल्पसङ्ख्यक, ज्येष्ठ नागरिकको क्षेत्रमा पनि काम गर्नुपर्नेछ। युवा, कृषक तथा उत्पादनशील क्षेत्रमा पनि हामीले काम गर्नुपर्ने हुन्छ। यसका लागि योजनाबद्ध ढङ्गले काम गर्नेछौं।
मेयर र उपमेयर हुनुमा धेरै फरक छ। मैले उपमेयर हुँदा पनि काम नगरेको भने होइन। स्थानीय स्वायत्त ऐन, २०७४ ले व्यवस्था गरे अनुसार न्यायिक समिति, राजस्व, अनुगमन तथा संघसंस्थासँगका समन्वयका विषयहरू थिए। उपमेयर हुँदा कानून निर्माण गर्नुपर्ने जिम्मेवारी पनि थियो। मैले उपमेयर हुँदा सम्पूर्ण क्षेत्रमा सक्रियतापूर्वक सहभागिता जनाएकी थिएँ।
उपमेयर हुँदा चाहेर पनि धेरै काम गर्न सकिनँ। त्यति वेला गर्न नसकेका काम अहिले गर्न सक्छु। अहिले जारी रहेको विकास निर्माणका ठूला योजना पूरा गर्नुपर्ने दायित्व छ। धेरै विकास निर्माणको काम पनि शुरू गर्नुपर्नेछ।
हेटौंडाको स्वास्थ्य क्षेत्रको अवस्था अलि गम्भीर छ। हेटौंडा अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग समन्वय गरेर यो क्षेत्रलाई सुधार्ने मेरो पहिलो योजना रहेको छ। सरकारी अस्पताललाई सर्वसुलभ रूपमा सेवा प्रवाह गर्न आवश्यक पर्ने वातावरण तयार पार्न पहल गर्नेछु।
जनताको प्रत्यक्ष चासोका विषय भएका कारण हामी समन्वयबाट पछाडि हट्न मिल्दैन। पाँचवर्षे कार्यकालमा हेटौंडाभित्र महिला प्रसूति अस्पताल र ज्येष्ठ नागरिक अस्पताल निर्माण गर्ने योजना छ। प्रदेश र संघसँगको सहकार्यमा यो काम गर्नेछौं।
स्वास्थ्य क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई समेत प्रोत्साहन गर्नेछौं। प्रत्येक वडामा एम्बुलेन्सको व्यवस्था गर्नेछौं। वडामा रहेको स्वास्थ्य क्लिनिकलाई विशेषज्ञ डाक्टर सहित सुविधासम्पन्न बनाउने गरी काम गर्नेछौं।
युवालाई स्वरोजगार बनाउन नयाँ योजना ल्याउँछौं। हेटौंडाको माटोलाई उत्पादनसँग जोड्न युवाशक्तिलाई अगाडि बढाउनै पर्छ। कृषि होस् वा अन्य उत्पादनशील क्षेत्रमा काम गर्ने जनशक्ति तयार गर्न जरुरी छ। त्यो युवाबाट मात्रै सम्भव हुन्छ। त्यसैले युवालक्षित विशेष कार्यक्रम ल्याउँछौं। युवालाई स्वरोजगारका माध्यमबाट आत्मनिर्भर बनाउने प्रयास रहनेछ।
यसै गरी हेटौंडा नगरलाई बालमैत्री नगर घोषणा गर्ने, ज्येष्ठ नागरिकलाई अस्पताल र स्वास्थ्योपचार सेवा विस्तार गर्ने योजना छ। युवा स्वरोजगार उत्पादन र क्षमता विकास, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरको खेल क्षेत्रको विकासका लागि महिलाको आकर्षण बढाउनुपर्छ।
देशमा अधिकारका लागि धेरै परिवर्तन भएका छन्। सबैको अधिकार स्थापित हुन जरुरी पनि छ। आफ्नो अधिकार प्राप्तिका लागि सही नेतृत्व सही स्थानमा हुनुपर्छ भनेर हेटौंडाबासीले बुझेका छन्। मेरो कार्यकालमा उनीहरूको समस्यालाई आफ्नै सम्झेर काम गर्नेछु।
हेटौंडाको विकास र समृद्धि बनाउन मलाई आम मतदाताले चुन्नुभएको हो। मैले गर्ने निर्णय हेटौंडाको हितका लागि हुनेछ। मैले गर्ने कार्य हेटौंडालाई समृद्ध बनाउनमै केन्द्रित हुनेछ। जुनसुकै पार्टीबाट निर्वाचित भएर आएको भए पनि हाम्रो एउटै लक्ष्य भनेको जनताको सेवा गर्ने, हेटौंडालाई परिवर्तन गर्ने र समृद्ध बनाउने हो। हेटौंडालाई साँच्चिकै राजधानी शहर बनाउनेछौं।
निर्वाचनमा होमिंदा हाम्रा झण्डा र ब्यानर फरक थिए। अब विजयी भइसकेपछि हामी ती सबै कुरालाई बिर्सिएर साझा सेवक भएका छौं। त्यस कारण कार्यपालिका सदस्य होस् वा वडा सदस्य सबै जना एकजुट भएर काम गर्नुपर्छ।