भुटान विरुद्धको खेलमा १३.१ ओभरमै नेपालको जित
आईसीसी यू-१९ महिला विश्वकपको एशिया क्वालिफायरमा नेपालले भुटानलाई चार विकेटले पराजित गरेको छ।
मलेशियाको क्वालालम्पुरमा सोमबार भएको खेलमा नेपालले १३.१ ओभरमै जित हासिल गरेको हो। भुटानले दिएको ६७ रनको लक्ष्य नेपालले ६ विकेटको क्षतिमा पूरा गर्यो।
नेपालका लागि सानु राजवंशीले ३०, साना प्रभीनले १२, श्रृष्टि जैसीले आठ, आस्मा पुलामी मगरले तीन, किरणकुमारी कुँवर र अलिशाकुमारी यादवले दुई-दुई रन बनाए।
भुटानका लागि संग्या वाग्मोले तीन, अञ्जुली घले र सोनामले एक-एक विकेट लिए।
यसअघि भुटानले ९ विकेटको क्षतिमा ६६ रन बनाएको थियो। भूटानका लागि नग्वाङ छोदेन र संज्ञा वाग्मोले ११-११ रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्क पनि जोड्न सकेनन्।
नेपालका लागि अनु कडायत, मनीषा उपाध्याय र कृतिका मरासिनीले दुई-दुई तथा स्नेहा महराले एक विकेट लिएका थिए।