काठमाडौं महानगरको सार्वजनिक शौचालयको सङ्केत सार्वजनिक
काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालयको सङ्केत चिह्न सार्वजनिक गरेको छ।
महानगरका मेयर बालेन्द्र साहले सङ्केत चिह्न सार्वजनिक गर्दै आफ्नो शौचालय सर्वसाधारणलाई प्रयोग गर्न दिन इच्छुक होटल‚ रेस्टुरेन्ट‚ ब्यांक लगायतलाई एक साताभित्र सम्पर्कमा आउन सामाजिक सञ्जालबाट आग्रह गरेका छन्।
साहले लेखेका छन्‚ “काठमाडौं महानगरपालिकाले होटल, रेस्टुरेन्ट, ब्यांक लगायतले शौचालय सार्वजनिक रूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिने भए सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ।”
महानगरपालिकाको कार्यपालिकाको जेठ १६ मा बसेको पहिले बैठकले महानगरभित्रका होटल‚ रेस्टुरेन्ट‚ ब्यांक‚ व्यापारिक भवन‚ मल‚ शपिङ कम्प्लेक्स‚ कम्पनी तथा गैरसरकारी संघसंस्थाका शौचालयलाई सार्वजनिक बनाउन आह्वान गर्ने निर्णय गरेको थियो। सोही बमोजिम आइतबार सात दिनभित्र सम्पर्क गर्न महानगरपालिकाले सूचना जारी गरेको थियो।