‘लाहुरेमा पनि प्रेम र आँसु हुन्छ भन्ने नै सिकाइएन’
लाहुरेमा पनि प्रेम र आँसु हुन्छ भन्ने कुरा नसिकाउँदा उनीहरूले आफ्नो पीडा बाहिर ल्याउन नपाएको एक कार्यक्रमका वक्ताहरूले बताएका छन्।
लेखक टीम आई गुरुङले लाहुरेको कथा बहादुरी र इमानदारीको मात्र नभएर दुःख र आँसुको पनि भएको बताएका छन्।आइतबार तमू बौद्ध सेवा समिति नेपालले काठमाडौंमा आयोजना गरेको ‘लाहुरे बहादुरी र वास्तविकता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै लेखक गुरुङले पहिलो र दोस्रो विश्वयुद्धदेखि नेपालमा प्रजातन्त्र ल्याउनसम्म गोर्खालीले खेलेको भूमिकालाई बेलायत र नेपाल सरकारले उपेक्षा गरेको बताए।
आयो गोर्खाली पुस्तकका लेखक गुरुङले भने, “गोर्खालीले एउटा देशको नागरिक भएर अर्को देशको बन्दूक चलाए। ज्यान गुमाए, तर पैसा थमाएर मात्र फिर्ता पठाइयो।”
उनको भनाइमा सहमति जनाउँदै अभियन्ता एल. बी. घिसिङले गोर्खा लाहुरेको अझै पनि श्रम शोषण भइरहेको बताए। “अझै पनि हामीलाई पेन्सन भनेर ३५० पाउन्ड दिंदा बेलायती नागरिकलाई १३ सय पाउन्ड दिन्छन्। त्यसैले हामीलाई बहादुर भनेर मात्र हुदैन, समानताको अधिकार दिइनुपर्छ,” घिसिङले भने।
अर्का वक्ता लेखक खगेन्द्र संग्रौलाले भने यस किसिमको समानताको अधिकार पाउन पनि लाहुरेहरू एकजुट भएर बोल्नुपर्ने सुझाए। अहिलेसम्म लाहुरेको आन्दोलनलाई शूरवीर र देशका लागि मर्ने-मार्ने भनेर पनि नपुग्ने बताए। “उहिलेदेखि नै लाहुरेहरूमा वीरता हुन्छ, उनीहरूमा पनि प्रेम र आँसु हुन्छ भन्ने सिकाइएन,” उनले भने, “अहिलेसम्म न बेलायत न त नेपाल सरकार कसैले पनि वीरताको पछाडिका समस्याहरू बुझेको छैन।”
कार्यक्रममा बोल्दै अभिनेत्री गौमाया गुरुङले लाहुरेको कथा मात्र भनेर लाहुरेनीहरूको पीडा भुल्न नहुने बताइन्। “मैदानमा पुरुषले लडे, तर मनमा त महिलाको पनि लडाइँ भएको छ। दाजु, भाइ, श्रीमान्, छोरा गुमाएपछिका दिन र अञ्जान शहरमा कामकाजी हुनुपरेका महिलाको संघर्ष अझै बाहिर आएको छैन,” गुरुङले भनिन्, “लाहुरेहरूको समानताको लडाइँ छँदै छ, यसमा रहर भएर पनि महिलाहरू भने लाहुर जान पाएका छैनन्। यो विषय पनि उठाउनुपर्छ।”