यस्तो छ मधेश प्रदेशको नीति तथा कार्यक्रम (पूर्ण पाठ सहित)
आगामी आर्थिक वर्षका लागि मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरिएको छ।
आइतबार प्रदेश प्रमुख हरिशंकर मिश्रले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेका हुन्। प्रदेश सरकारको नीति तथा कार्यक्रममा विगतकै कार्यक्रमलाई निरन्तरता दिइएको छ।
मधेश आन्दोलन र सशस्त्र द्वन्द्वका शहीदको सम्मान तथा आर्थिक सहयोगलाई निरन्तरता दिइने उल्लेख छ। प्रदेशमा सञ्चालित जिल्ला आदर्श बस्ती विस्तारलाई निरन्तरता दिएको छ।
‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियानलाई निरन्तरता दिइनुका साथै निम्न आय भएको परिवारमा जन्मिने छोरीका लागि विशेष छात्रवृत्ति प्रदान गरिने भएको छ। प्रदेश सरकारले मुख्यमन्त्री स्वच्छता अभियानलाई पनि निरन्तरता दिने भएको छ।
प्रदेश सरकारले केही नयाँ कार्यक्रम पनि ल्याएको छ। जसमा प्रदेशको समग्र विकासमा योगदान पुर्याउने व्यक्तिलाई सम्मान स्वरूप प्रदेश पदक प्रदान गरिने भएको छ।
त्यस्तै, प्रादेशिक छापाखाना सञ्चालन गरिने भएको छ। प्रदेशको राजधानी जनकपुर र आर्थिक राजधानी वीरगञ्जको विकासका लागि प्राधिकरणको स्थापना गरिने सरकारको योजना छ।
प्रदेश सरकारले सवारी साधनको राजस्व अनलाइन मार्फत भुक्तानीको व्यवस्था गर्ने भएको छ। सरकारले प्रतिष्ठान बोर्ड जस्ता निकायको कार्य प्रगतिको समीक्षा गरी एकै प्रकृतिका निकायलाई एकीकरण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।
नियमित संरचनाबाट सम्पादन हुने कामका लागि आर्थिक व्यय भार पर्ने गरी थप निकायको स्थापना नगर्ने सरकारले नीति लिएको छ। प्रदेशको क्षेत्राधिकारभित्र रहेका बीमाको दर्ता र नवीकरण समन्वयका लागि आवश्यक कानून निर्माण गरिने भएको छ।
महोत्तरीको मटिहानीमा रहेको संस्कृत विद्यालयलाई अन्तर्राष्ट्रिय स्तरको अनुसन्धानमूलक विद्यालयका रूपमा विकास गरिने प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।
श्रमिक अभाव भई कृषि क्षेत्रमा प्रभावकारी काम नभएकाले विकल्पका रूपमा यान्त्रिकीकरणलाई बढावा दिइने भएको छ। असन्तुलित रासायनिक मलको प्रयोग कम गर्न प्राङ्गारिक मलको उपयोग बढाएर माटो मलिलो बनाउन तथा माटोको उर्वराशक्ति बढाउन प्राङ्गारिक खेतीलाई प्रोत्साहन गरिनेछ।
सप्तरी, सिरहा, महोत्तरी, सर्लाही र धनुषा जिल्लालाई आँपको ‘सुपर जोन’ का रूपमा तथा धनुषाको ढल्केबर, सर्लाहीको लालबन्दी सहित बागमतीसम्मको क्षेत्रलाई गोलभेंडाको ‘सुपर जोन’ का रूपमा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
रामायण सर्किट अन्तर्गत जनकपुरधाम र अयोध्यालाई जोड्ने क्रममा रामजानकीको पदचिह्न भएका प्रमुख ठाउँलाई धार्मिक, आध्यात्मिक स्थलका रूपमा विकास गर्न संघीय सरकारसँग सहकार्य गर्ने, प्रदेशको धार्मिक पर्यटनलाई व्यावसायिक बनाउन जनकपुरधाममा त्रेतायुग स्मरण गराउने गरी रामायण तथा मिथिला संस्कृति भल्किने गरी जानकी मन्दिर र राम मन्दिरसँगैको विवाहमण्डप र मणिमण्डपलाई सौन्दर्यीकरण गर्ने नीति सरकारले लिएको छ।
मधेश प्रदेशको नीति तथा कार्यक्रम: