एकीकृत समाजवादीमा किन भयो मन्त्री फेर्ने छलफल?
नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी मन्त्रीलाई फेरबदल गर्ने तयारी गरेको छ।
स्थानीय चुनावको समीक्षा गर्न बसेको एकीकृत समाजवादीको सचिवालय बैठकमा मन्त्री फेरबदलका विषयमा छलफल भएको छ। शनिबारको बैठकमा मन्त्री हेरफेरका विषयमा पनि छलफल भएको एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले बताए।
अहिले एकीकृत समाजवादीबाट पाँच जना मन्त्री सरकारमा सहभागी छन्। विरोध खतिवडा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री, प्रेम आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, रामकुमारी झाँक्री शहरी विकास मन्त्री, कृष्णकुमार श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र गोविन्दप्रसाद शर्मा (गोविन्द बन्दी) कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री छन्।
एकीकृत समाजवादीले शुरूआतमा ६ महीनाका लागि भनेर सरकारमा पठाएको थियो। ६ महीना पूरा भएकाले हेरफेरका विषयमा छलफल भएको उपमहासचिव तुलाधरको भनाइ छ। “मन्त्रीहरूलाई ६ महीना भनेर पठाएका थियौं, ६ महीनाभन्दा बढी भइसक्यो,” तुलाधरले भने।
कसलाई फिर्ता बोलाउने र कसलाई पठाउने भन्ने टुङ्गो लाग्न बाँकी रहेको उनको भनाइ छ। यसका लागि सचिवालय बैठकले सत्तारूढ गठबन्धनका शीर्ष नेतासँग छलफल गर्न अध्यक्ष माधवकुमार नेपाललाई जिम्मेवारी दिएको छ।
उपमहासचिव तुलाधरले भने, “शीर्ष नेताहरूबीचमा बसेर छलफल गरी समझदारी बनाउँछौं। कति हेरफेर गर्ने शीर्ष नेताले नै तय गर्नुहुन्छ।”
मन्त्री हेरफेरलाई स्वाभाविक रूपमा लिनुपर्ने उनको भनाइ छ। “पार्टीका तर्फबाट उहाँहरू सरकारमा सामेल हुनुभएको हो। पार्टीले ठानुन्जेल मन्त्रीका रूपमा रहनुहुन्छ। पार्टीले अर्को आवश्यक ठान्यो र उहाँहरूका ठाउँमा अर्कोलाई पठाउन आवश्यक ठान्यो भने पनि स्वाभाविक रूपमा लिनुपर्छ।”
यसलाई अहिले सरकारमा सहभागी मन्त्री र भोलि सरकारमा सामेल हुने पार्टीका मन्त्रीले पनि स्वाभाविक रूपमा लिने उनले बताए। “हाम्रा जो मन्त्री छन्, उहाँहरूले स्वाभाविक रूपमा लिनुहुन्छ र भोलि सम्भावित जानेहरूले पनि स्वाभाविक रूपमा लिनुहुनेछ,” उपमहासचिव तुलाधरले भने, “हामी कहिल्यै आफूलाई प्रधान ठान्दैनौं, र हाम्रा मन्त्रीहरूले पनि ठान्दैनन् भन्ने मलाई लाग्छ।”