राप्रपा नेता श्रेष्ठको निधन
मोटरसाइकलको ठक्करबाट घाइते भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता जीवनकुमार श्रेष्ठको निधन भएको छ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारमा प्रदेश १-०५-००१ प ६८३७ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा ५६ वर्षीय श्रेष्ठ गम्भीर घाइते भएका थिए। उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पताल पुर्याइएका श्रेष्ठको आइतबार निधन भएको राप्रपाका केन्द्रीय सदस्य रविन चाम्लिङले जानकारी दिए।
श्रेष्ठ राप्रपा खोटाङका निवर्तमान अध्यक्ष हुन्। करीब १५ वर्ष जिल्ला अध्यक्षको जिम्मेवारी निर्वाह गरेका उनी भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयरका उम्मेदवार थिए।
दुर्घटनामा मोटरसाइकलमा सवार दिक्तेल रुपाकोट मझुवागढी–५ लफ्याङकी ४८ वर्षीया विष्णुकुमारी राई पनि घाइते भएकी छन्। उनको पनि न्यूरो अस्पतालमै उपचार भइरहेको छ। मोटरसाइकल चालक लफ्याङका १७ वर्षीय अभिषेक राईलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। घाइते विष्णुकुमारी र अभिषेक आमाछोरा हुन्।