मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै
मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ। आइतबार अपराह्न ४ बजे बोलाइएको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ।
सरकारले तयार पारेको नीति तथा कार्यक्रम मन्त्रिपरिषद्ले शनिबार स्वीकृत गरिसकेको छ। नीति तथा कार्यक्रममा आर्थिक स्थिरता कायम गर्ने, आर्थिक वृद्धिदर बढाउने, अनुत्पादक खर्च नियन्त्रण गर्ने, प्रशासनिक क्षेत्रमा अनुशासन कायम गर्ने, स्वरोजगार प्रवर्द्धन गर्ने र शिक्षा, स्वास्थ्यमा सुधार ल्याउने योजना राखिएको प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष भोगेन्द्र झाले जानकारी दिए।
यस्तै‚ चुरे संरक्षण, स्वास्थ्य क्षेत्रको सुधार तथा महिलाको समग्र विकासलाई प्राथमिकतामा राखिएको छ। आन्तरिक र बाह्य लगानी भित्र्याउने योजना पनि प्राथमिकतामा रहेको झाले बताए। उद्योगको प्रवर्द्धन गर्न सडक निर्माण र विद्युत्को व्यवस्था गरिदिने नीति तथा कार्यक्रममा रहेको बताइएको छ।