कुनै वेला ‘नुनदेखि सुन’ पाइने कोइलाबास किन भयो सुनसान?
कुनै वेला वीरगञ्जपछि धेरै कारोबार हुने कोइलाबास नाका सुनसान हुँदा दैनिक उपभोग्य सामानका लागि समेत स्थानीयबासीले भारतीय हाटबजार धाउनुपरेकाे छ।
पूर्व-पश्चिम राजमार्ग बनेपछि झापादेखि कञ्चनपुरसम्मको जनजीवनमा परिवर्तन आयाे। १०२८ किलाेमिटर लामाे राजमार्गले आवतजावत मात्रै सहज भएकाे हाेइन, सडक वरपर कैयौं नयाँ शहर बसे। लाखौं मान्छेको दैनिकी बदलियाे।
तर, यही राजमार्ग बन्नाले एउटा शहरकाे भने उल्टाे यात्रा शुरू भयाे। हाे, कुनै वेला पर्साकाे वीरगञ्जपछि धेरै काराेबार हुने शहरका रूपमा परिचित दाङको कोइलाबासको अहिले अस्तित्व सङ्कटमा छ।
राजमार्ग बनेयता कोइलाबासबासी बिहान-बेलुकाको छाक टार्न पनि भारतमा लाग्ने हाटबजारमा निर्भर बन्न पुगे। “कुनै वेला कोइलाबास देशकै आम्दानीको स्रोत थियो, तर पूर्व-पश्चिम राजमार्ग बनेपछि ओझेल मात्रै परेन, खण्डहर बन्यो,” स्थानीय उमाकान्त पन्थ गुनासो गर्छन्।
राजमार्ग बन्नुअघि कोइलाबासमा जिल्ला विद्युत्, हुलाक, भन्सार लगायत जिल्ला कार्यालय थिए। पछि बहुदलीय व्यवस्था आएपछि राजनीतिक खिचातानी पनि शुरू भयो। सरकारले कोइलाबास नाका बन्द गर्यो। त्यहाँ भएका कार्यालय राजमार्ग नजिकको घोराही सारिए। “नाका बन्द भएपछि सबै कार्यालय घोराही सरे, कोइलाबास उजाड बन्यो,” उनी भन्छन्।
स्थानीय बासिन्दाका अनुसार, यो क्षेत्रमा पहिले घना जङ्गल थियो। “कोइला पनि देखिन्थे, यताउताबाट कोइला खोज्न आउँथे,” स्थानीय पन्थ भन्छन्।
कोइला खोज्न आएका मान्छे त्यहीं वरपर बस्न थाले। जङ्गल नासिंदै गयो। बिस्तारै बस्ती नै बस्यो। कोइला खोज्न आएका मान्छे बसेकाले कोइलाबास नाम भएको बूढापाकाले सुनाउने गरेको पन्थ बताउँछन्।
त्यो बस्ती बजारमा परिणत भयो। भारत जान सजिलो र छोटो नाका भएकाले चर्चित पनि बन्यो। ‘नुनदेखि सुन’ पाइने ठाउँको नामले पनि चर्चित यो बजार पूर्व-पश्चिम राजमार्गको लमहीबाट ३३ किलोमिटर दक्षिणमा पर्छ। नजिकको भारतीय बलाम्पुर बजार १५ किलोमिटर मात्रै टाढा छ।
दाङसँगै रोल्पा, रुकुम, सल्यान, प्यूठान लगायत जिल्लाका बासिन्दा यही बजारमा निर्भर थिए। उनीहरू नुन, तेल, लत्ताकपडा किन्न कोइलाबास पुग्थे।
त्यस्तै, भारत जान पनि यही नाका प्रयोग हुन्थ्यो। भारतका मुख्य शहर लखनउ, दिल्ली, मुम्बई, अमृतशर आउजाउ गर्नेको सजिलो नाका यही थियो। “राजमार्ग बनेपछि नाका बन्द भयो, सरसामान किन्न पनि नेपालगञ्जको जमुनाहा नाका प्रयोगमा आयो,” पन्थ भन्छन्, “यता कच्ची बाटो थियो, उता पक्की सडक बन्यो, उतै सजिलो भयो।”
कोइलाबासमा अहिले भने न नुन पाइन्छ, न त सुन नै। स्थानीय बासिन्दालाई खाद्यान्न खरीद गर्न पनि कठिनाइ हुने गरेको छ। “दाल, चामल किन्न पनि भारत जानुपर्छ,” स्थानीय पतिराम यादव भन्छन्, “भारतबाट खरीद गर्न पनि सजिलो छैन।”
भारतको बलाम्पुरमा सातामा एक दिन हाटबजार लाग्छ। जुन कोइलाबासबाट १५ किलोमिटर दक्षिणमा पर्छ। त्यहीं गएर दैनिक उपभोग्य सामान खरीद गर्ने गरेको उनी बताउँछन्। “हरेक साताको आइतबार बलाम्पुरमा मेला लाग्छ, त्यही मेलाबाट सरसामान किनेर ल्याउँछौं,” यादव भन्छन्, “भात खानका लागि पनि भारतको मेला पर्खिनुपर्छ।”
स्थानीय बासिन्दाले हरेक साता बलाम्पुर पुग्नुपर्छ, सरसामान ल्याउन। किनकि, एकै पटक धेरै सामान ल्याउन पाउँदैनन्। “भारतले त जति सामान पनि ल्याउन दिन्छ,” स्थानीय बासिन्दा यादव गुनासो गर्छन्, “तर, हाम्रो देशका सुरक्षाकर्मीले २५ किलोभन्दा बढी ल्याउन दिंदैनन्।”
यहाँका १८४ परिवार खाद्यान्नका लागि भारतमै निर्भर रहेको गढवा गाउँपालिका-८ का वडाध्यक्ष अब्दुल खालिफ सिद्दीकी बताउँछन्। “सिंचाइको सुविधा नहुँदा तोरी, मकै र अरहर बाहेक अन्य उब्जनी हुँदैन, त्यसैले भारतबाटै ल्याउनुपर्छ,” वडाध्यक्ष सिद्दीकी भन्छन्।
सिंचाइको व्यवस्था भए धान र गहुँ उत्पादन गर्न सकिने उनी बताउँछन्। सरकारले सहयोग गरेमा खाद्यान्न उत्पादनमा आत्मनिर्भर हुन सकिने उनको भनाइ छ। “हामीले सिंचाइका लागि जलाशय निर्माण गर्ने योजना बनाएका छौं,” वडाध्यक्ष सिद्दीकी भन्छन्, “तर, प्रदेश र संघीय सरकारले सहयोग नगरेकाले काम गर्न सकिएको छैन।”
कोइलाबासका बासिन्दालाई खाद्यान्न र सिंचाइको मात्रै होइन, खानेपानीको पनि समस्या छ। खोला र कुवाको पानी पिउँदै आएको उनी बताउँछन्। “खानेपानीको ट्याङ्की त बनाएका थियौं, तर डीप बोरिङ सफल भएन,” उनी भन्छन्।
तीन दशकदेखि कठिनाइ झेल्दै आएका यहाँका बासिन्दा अहिले भने केही आशावादी भएका छन्। लुम्बिनी प्रदेशको राजधानी दाङ हुने भएपछि उनीहरू फेरि कोइलाबासको दिन फर्किने आशामा छन्।
प्रदेश सरकारले लुम्बिनीको राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ। यसलाई प्रदेश सभाले पनि पारित गरिसकेको छ। भालुवाङ कोइलाबासबाट करीब ४८ किलोमिटर टाढा छ। जसले गर्दा यो नाका पनि खुल्न सक्ने आशा बढेको वडाध्यक्ष सिद्दीकी सुनाउँछन्। “कोइलाबास नाका खुल्यो भने प्रदेशकै समृद्धिमा सहयोग पुग्छ, प्रदेशको आयस्रोत बढ्छ,” उनी भन्छन्, “हाम्रा लागि नभए पनि लुम्बिनी प्रदेशलाई आर्थिक रूपमा बलियो बनाउन पनि यो नाका खोल्नुपर्छ।”
अहिले आगो निभेको कोइला जस्तै बनेको कोइलाबास फेरि जुर्मुराउने स्थानीय बासिन्दाको विश्वास छ। उनीहरूलाई लाग्छ- भारतसँगको नाका खुल्यो भने मात्रै पनि फेरि कोइलाबास बजार बलेको कोइला जस्तै भरभराउनेछ।