पर्यावरण शहीद
मोबाइलमा रहेको फोटोमा टिप्परको चक्कामुनि दिलीपको रक्ताम्य शरीर र ड्राइभर ढोकाबाट बाहिर हेरिरहेको अजितको अनुहार स्पष्ट देखिन्छ।
दिलीप महतोको हत्या!
ओ माई गड! यही दु:खद घटना सम्बन्धी समाचारको लिङ्क सहित एक स्टेटस सानोट अधिकारीको फेसबूक वालमा मैले देखें।
हत्तपत्त लिङ्कमा क्लिक गर्ने बित्तिकै दिलीपसँगको कुराकानी दिमागमा घुम्न थाल्यो।
दिलीप र मेरो प्रत्यक्ष भेट नभए पनि फेसबूकमा जोडिएको केही समय बितिसकेको थियो। उसको मृत्युको समाचारले स्तब्ध बनायो।
समाचारमा लेखिएको थियो-
धनुषाको मिथिला नगरपालिकामा शुक्रबार बिहान एक युवकको हत्या भएको छ। मिथिला नगरपालिका-५ श्रीपुरस्थित औरही खोलामा अवैध गिट्टी-बालुवा उत्खननको विरोध गर्दै आएका २४ वर्षीय दिलीपकुमार महतोलाई नदीमै टिप्परले किचेर हत्या गरिएको ढल्केबर इलाका प्रहरी कार्यालयले जनाएको छ।
शवलाई पोस्टमार्टमका लागि जनकपुर अस्पताल पठाइएको छ। साथीसँग मर्निङवाक गएका वेला महतोको हत्या भएको स्थानीयको आरोप छ। हत्याको विरोधमा स्थानीयले टायर बालेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।
दिलीपको श्यामश्वेत फोटो समाचारमा देखेपछि उनीसँगका कुराकानी झन् दिमागमा खेल्न थाले। उज्यालो नेटवर्क रेडियोको बुलबुल कार्यक्रममा मैैले अच्युत घिमिरेसँग पर्यावरणीय संरक्षणका कुरा र केही इको कविता वाचन गरेको थिएँ।
त्यसपछि मलाई दिलीपको ‘फ्रेन्ड रिक्वेस्ट’ आएको थियो। उसको पनि मेरो जस्तै रुचि देखेर ‘एक्सेप्ट’ मा क्लिक गरेको थिएँ।
त्यसको अर्को साता काठमाडौंमा ‘इको पोयट्री’ कार्यक्रम थियो। ऊ कार्यक्रममा उपस्थित हुन त सकेन, तर मलाई एउटा मेसेज गरेको थियो-
ब्रायन दाइ, हजुरको कार्यक्रममा आउन मन थियो, तर भोलि नै म भोपालतिर लाग्दै छु, इन्जिनीयरिङ डिग्रीका लागि। म हजुरहरू जस्तो पर्यावरणीय कवि त परिनँ, तर कविता सुन्न खुबै रुचाउँछु। तपाईं पर्यावरण साहित्य कोर्दै हुनुहुन्छ, म पर्यावरण जोगाउने आन्दोलन गर्दै छु। आउँदा दिनहरूमा सहकार्य गर्दै गरौंला। कार्यक्रम सफलताको शुभकामना!
त्यसपछि नियमितजसो कुराकानी हुन थाल्यो। च्याटमा भन्ने गर्थ्यो- ब्रायन दाइ, हेर्नोस् न, वातावरणीय समस्या यति चरम बिन्दुमा पुग्दा पनि कोही आवाज उठाउँदैन। हामी जस्तो सजग युवाले पनि बोलेनौं भने कसले बोल्ला? प्रशासन सम्बद्ध व्यक्ति उल्टै हाम्रा अभियानलाई लगाम लगाउन खोज्छन्। म तिनका धम्कीबाट कहिल्यै ‘डिसकरेज’ हुनेवाला छैन।
मैले थुप्रै मानिस देखेको छु, तर दिलीप जस्तो मानव जगत्लाई नै आवश्यक पर्ने पर्यावरणको संरक्षणार्थ दिलोज्यान दिने एक उत्साही नेपाली युवक भने देखेको थिइनँ। उसको हत्याको समाचारले विचलित बनायो।
उसको अन्त्येष्टिमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न धनुषातिर लागें।
मूलबाटोमा बसबाट उत्रिएपछि श्रीपुरतिर लागें। श्रीपुर बस्तीको बीचैबीचबाट कच्ची धुलाम्य बाटो औरही खोलातिर लाग्छ। खर र खपटाले छाएका घर सुनसान उभिइरहेका थिए। लाग्यो, घरहरू पनि दिलीप गुमाउँदा शोकमग्न छन्।
घरका भित्ता र पर्खालमा लेखिएको थियो-
दिलीप महतो तिमीलाई मारियो, तर तिम्रो आवाज जिउँदै छ।
पर्यावरण लुट विरुद्ध एक हौं।
स्वर्गीय दिलीपलाई न्याय भन्नु नै वातावरणलाई न्याय हो।
वातावरणीय प्रजातन्त्रलाई सुनिश्चित गर।
संविधानले व्यवस्था गरेको वातावरणीय मौलिक हकलाई कार्यान्वयन गर।
बस्तीबाट गुज्रेर खोला किनर पुगें। किनारको दाहिनेतिर ‘चुरियामाई गिट्टी-बालुवा प्रशोधन केन्द्र’ लेखिएको साइनबोर्डमा आँखा अडिए। दिलीपको हत्या गरिएको स्थान त्यही हुनुपर्छ भनेर ठम्याउन गाह्रो भएन।
साइनबोर्डसँगैको जमीनमा गिट्टी-बालुवाका थुप्रा, रबरको बेल्ट, अचल अवस्थाका केही प्लान्ट-मशिन थिए। किनारको देब्रेतिर दिलीपलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न आएका तीन-चार सय मानिसको भीड।
त्यही भीडमा एक युवतीको आडमा उभिएँ। उनी अरूभन्दा निकै स्तब्ध देखिन्थिन्।
मैले केही नबोल्दै उनैले सोधिन्- सर, कहाँबाट आउनुभयो?
मैले धेरै टाढाबाट आएको भनें।
सरलाई कता कता चिने जस्तो लाग्यो।
होला, शायद हामी फेसबूकमा साथी छौं कि?
हजुरको फेसबूकमा नाम के छ?
ब्रायन, ब्रायन हितान।
ए, ल ल। मैले चिनें। दिलीपको स्टेटसमा खुबै कमेन्ट गर्नुहुन्थ्यो। मैले नि ‘फ्रेन्ड रिक्वेस्ट’ पठाएकी थिएँ, तर हजुरले ‘एक्सेप्ट’ गर्नुभएन।
ए, होला, सरी। हजुरको नाम?
करीना, करीना बेगम।
ओहो! माफ गर्नुहोला। अब साथी बन्नुपर्छ।
एक पटक दिलीपको स्टेटसमा हजुरले ‘विनाश विद्रोह’ भनेर कमेन्ट गर्नुभएको थियो। त्यसबाट खुबै प्रभावित भएँ। त्यति वेला लन्डनमा ‘इक्सटिङ्शन रिबेलिअन’ को आन्दोलन चलिरहेको थियो, हैन सर?
त्यति वेला जलवायु परिवर्तन अभियानकर्ताले सडक र स्क्वायरहरूमा क्याम्प नै खडा गरेर लन्डनलाई हप्तौंसम्म ठप्प पारेका थिए। तपाईंले त्यसैलाई इङ्गित गर्न खोज्नुभएको जस्तो लागेको थियो। त्यसपछि फेरि फ्रेन्ड रिक्वेस्ट पठाएकी थिएँ। तपाईंले फेरि पनि एक्सेप्ट गर्नुभएन।
करीनाले त्यति बोलेपछि मलाई दिलीपले त्यति वेला गिट्टी-बालुवा उत्खननको कारण गाउँ डुबानमा परेको स्टेटस लेखेर पोस्ट गरेको सम्झना आयो। सरोकारवालालाई वातावरणीय समस्याप्रति सचेत बनाउन ‘इक्सटिङ्शन रिबेलिअन’ जस्तो आन्दोलन नेपालमा पनि शुरू गरिनुपर्छ, अनि मात्रै हरियाली जोगाउन सकिन्छ भन्ने मनसायले त्यति वेला दिलीपको स्टेटसमा कमेन्ट गरेको थिएँ।
मैले बोल्न नपाउँदै उनले फेरि थपिन्- हजुर जस्ताको त्यस्तै कमेन्ट पाएर होला, दिलीप अझै जोशिएर अगाडि बढेको!
मैले भनें- मलाई पनि त्यस्तै लाग्छ।
उनले भनिन्- उसो भए केही हदसम्म दिलीपको हत्याको कारण तपाईं पनि हुनुहुँदो रहेछ!
मेरो मुटु चिसिक्क भयो। बोल्ने शब्दै निस्केन। त्यसैको प्रायश्चित्त महसूस गरेर त त्यति टाढाबाट आएको छु, अन्तिम श्रद्धाञ्जली अर्पण गर्न भनूँ जस्तो लागेको थियो, तर रोकिएँ।
उता आगोमा दिलीपको शव जलिरहेको थियो। यता हाम्रो कुराकानी पनि चलिरहेकै थियो।
मैले सम्हालिएर जवाफ दिएँ- हो! म, तपाईं, हामी सबै उसको मृत्युका कारण हुन सक्छौं। उसले तपाईं-हामी लगायत गाउँ, राष्ट्र र सम्पूर्ण जगत्लाई ऋणी बनाई छाडेर गएको छ।
उनी पनि केही बेर चूपचाप बसिन्।
हेर्दाहेर्दै दिलीपको पार्थिव शरीर खरानी भयो। दिलीपलाई अन्तिम श्रद्धाञ्जली दिएर फर्किंदा करीमासँगको कुराकानी जारी रह्यो।
दिलीपलाई नजिकबाट चिन्नेहरूमा उनी पनि रहिछन्। मैले दिलीपसँगको यात्राबारे सोधें। उनले यसरी सुनाइन्-
दिलीपले भोपालबाट आउँदै छु भनेर मेसेज गरेको थियो। आधा रातसम्म ऊसँग च्याट भएको थियो।
अर्को बिहानै जनकपुर बसपार्क पुगें।
‘रातभरि पढेर हो कि दुब्लाएको?’ देख्ने बित्तिकै मैले जिस्क्याएँ।
‘हैन, तिम्रो पीरले होला नि!’ यति बोलेर उसले मेरो हात समात्यो।
बस चढेपछि उनले प्रश्न सोध्न थाल्यो- श्रीपुर कस्तो छ? आजकल धुँवाधूलो उड्छ कि उड्दैन? औरही खोलाको बालुवा उत्खनन मापदण्ड अनुसार भएको छ कि छैन?
उसका यस्तै प्रश्नको जवाफ दिंदै हामी मिथिलातिर हुइँकिएका थियौं।
मैले सोधेकी थिएँ- नेपाल टेक्न भ्याएका छैनौ, उही गिट्टी-बालुवा रे! उही क्रसर रे! बरु तिम्री करीना कस्ती छ?
तिमी त जून जस्तै राम्री छ्यौ भनेर फेसबूकमा अपलोड गरेका फोटोबाट अवगत नै छु नि!
उनले यति भन्दा मैले ठुस्सिएँ जस्तै गरेकी थिएँ।
ऊ सधैं वातावरणकै कुरा गर्थ्यो। संरक्षणमै तल्लीन हुन्थ्यो। यी सबै कुरा बुझेर नै उसको अभियानलाई सघाउँदै आएकी थिएँ। हाम्रो प्रेम पनि सयपत्री फूल जस्तै मौलाउँदै थियो।
पोहोर साल भोपालबाट छुट्टीमा आएको बखत पनि एक दर्जन क्याम्पसका विद्यार्थीलाई लिएर गिट्टी उत्खननले खोलाको बहाव परिवर्तन हुन जाँदा पानी सुक्न थालेको भनेर सीडीओलाई ज्ञापनपत्र बुझाएको थियो।
दिलीपका यस्ता गतिविधिले गिट्टी-बालुवा र सिमेन्टको कारोबारीलाई चिढ्याएको थियो। त्यसैले आफ्नो ज्यान जोखिममा पारेर यस्ता काममा मरिहत्ते नगर्नु भनेर सम्झाउँथें पनि। ऊ भन्ने गर्थ्यो- उनीहरूसँग डराएर बस्यो भने कसले संरक्षण गर्छ? हाम्रो जस्तो जैविक विविधता सम्पन्न हिमाल, पहाड र मधेशलाई मरुभूमि बनाउन दिनु छ र!
म यसरी एकातिर सन्त्रास त, अर्कोतिर आत्मसन्तुष्टि बोकेर बाँचिरहेकी थिएँ, एकाएक यो अप्रिय घटना भयो।
कसले हत्या गर्यो भनेर घोत्लिंदा अजितको अनुहार आँखामा आउँछ। अजित, यही औरही खोलामा सञ्चालित गिट्टी-बालुवा प्रशोधन केन्द्रको मालिकको छोरा। ऊ, दिलीप र म एउटै स्कूलमा पढेका हौं।
अवैध रूपमा सञ्चालित क्रसर उद्योगको विरुद्धमा दिलीपले आवाज उठाएको अजितलाई मन परेको थिएन। सँगै पढेको भए पनि तिक्तता चुलिंदै गएको थियो।
खोलाबाट गिट्टी-बालुवा नझिक्ने, अन्तैबाट गिट्टी ल्याएर कुट्ने भन्ने शर्तमा नगरपालिकाले क्रसर उद्योगका लागि अनुमति दिएको थियो। तर, तोकिएको मापदण्ड विपरीत खोलाको गिट्टी उत्खनन गरी क्रसरमा पेलेर बेचिने गरेको थियो। रातमा पनि क्रसर र टिप्पर चल्थे।
दिलीप भोपाल पढ्न गएपछि अजितसँग दुई-तीन पटक भेट भएको थियो। एकपटक सँगै पढेका साथीको विवाहमा अजितले मलाई दुर्व्यवहार पनि गरेको थियो।
उसले भनेको थियो- के छ विचार? क्रसर उद्योगी मालिक्नी हुन मन छैन?
मैले पनि स्कूलको प्रसङ्ग निकाल्दै जवाफ दिएकी थिएँ- यस्तै कुरा गर्दा स्कूलमा दिलीपले भकुरेको बिर्स्यौ कि क्या हो! फेरि गोदाइ खान मन छ?
त्यहाँ पनि उसले दिलीपले गरिरहेका कामको विरोध गरेको थियो। विकास विरोधी इन्जिनीयर भनेको थियो।
मैले नि उसलाई ‘विध्वंसकारी’ भनेकी थिएँ।
अहिले दिलीपको हत्याको आरोपमा क्रसर उद्योग सञ्चालकका छोरालाई पुर्पक्षका लागि थुनामा राखिएको छ। मलाई लाग्छ- त्यसमा बाबुको भन्दा छोराको हात छ।
अजितले यस्तै कुराको ‘हिन्ट’ च्याटमा दिइरहेको छ। अजितसँगको कुराकानी पनि अहिले अलि बढेको छ।
एक मनले सोच्छु- एउटा साथी मरिहाल्यो, अर्को साथीलाई किन चिढ्याई राखूँ। अर्को मनले भन्छ- होइन, मेरो दिलीपको हत्यारालाई नै कसरी त्यतिकै छोड्न सक्छुर?
कुराकानी गर्दागर्दै घर पुगेको पत्तै भएन। उनी आफ्नो घरतिर लागिन्, म बसपार्कतिर लागें।
दिलीपको फोटोमा फूलमाला चढाइएको छ। फोटोको वरिपरि दीप प्रज्वलन गरिएको छ। सबै मौन उभिइरहेका छन्। म पनि सुटुक्कै त्यही भीडमा उभिएँ।
दिलीपको हत्या भएको ठ्याक्कै तीन वर्ष भएछ। तेस्रो स्मृति दिवसमा सबै उनको स्मरण गरिरहेका छन्। उनको हत्यारालाई कारबाही गर्न माग गरिरहेका छन्।
एकाएक करीमा पनि मेरो छेउमै आइन्। त्यही मेसोमा उनलाई दिलीपको हत्यारालाई कारबाहीका लागि के भइरहेको छ भनेर सोधे। उनले सरसर्ती सुनाइन्-
पहिलो स्मृति दिवसमा दिलीपको हत्या भएको स्थान वरिपरिको भूभागलाई उसकै नामको उद्यान बनाउने स्थानीय सरकारले घोषणा गरेको थियो। उसको नाममा गठित प्रतिष्ठानको अगुवाइमा महोगनी, नीम, अमला, सतीसाल, तेजपात र कपूरका बिरुवा रोपेका थियौं। प्रथम राष्ट्रपति रामवरण यादव लगायत विशिष्ट व्यक्ति आउनुभएको थियो। पाँचौं स्मृति दिवसमा शालिक निर्माण गर्ने घोषणा गरिएको छ।
मैले पनि उद्यानको बीचमा वर-पीपलको बिरुवा रोपेकी छु।
अजितसँगको हिमचिम पनि बढ्दै गएको छ। रातदिन कुराकानी भइरहन्छ। मेरो जन्मदिन पारेर ‘आईफोन सेभेन’ उपहार दिएको थियो। भ्यालेन्टाइन डेमा घरमै गुलाब पठाएको थियो।
ऊसँगको निकटताले अजितको हत्याराका बारेमा ‘क्लु’ पाउँदै गएकी छु। एक दिन औराही खोलामै घुम्न गएका थियौं, उसले केही कुरा बतायो। अजितले नै दिलीपको हत्या गरेको रहेछ।
त्यो बिहान आफ्ना दुई मजदुरलाई फलामको डन्डीले पछाडिबाट दिलीपको टाउकोमा हिर्काउन लगाएछ। भुइँमा ढलेपछि अजितले नै दिलीपमाथि टिप्पर चढाइदिएको रहेछ।
यो कुरा चाल पाएपछि छाँगाबाट खसेजस्तै भएँ। तैपनि सम्हालिएँ।
उसले त्यो घटनाका केही फोटो पनि खिचेको रहेछ। उसको मोबाइलमा रहेको फोटोमा टिप्परको चक्कामुनि दिलीपको रक्ताम्य शरीर र ड्राइभर ढोकाबाट बाहिर हेरिरहेको अजितको अनुहार स्पष्ट देखिन्छ।
ती फोटोहरू मेरो मोबाइलमा सुटुक्क ट्रान्सफर गरेकी थिएँ। प्रहरीलाई पनि बुझाइसकेकी छु।
मुद्दा जारी छ। तीन वर्ष त यस्तैमा बित्यो। कहिले मुद्दाको पेशी चढ्दैन, कहिले स्थगित हुन्छ। अदालतमा सुनुवाइ नै हुन सकेको छैन। आशा छ, चौथो स्मृति दिवससम्म दिलीपका हत्यारालाई जेल सजाय भएको सुन्न पाउनेछौं।
यति बोलेर उनी चूप लागिन्। दिलीपको फोटो नजिक जलिरहेको दीप झन् प्रज्वलित भयो। म नि त्यही चौथो स्मृति दिवसको पर्खाइमा छु, जुन दिन हत्यारा जेल गएको दिलीपको फोटोलाई सुनाउन पाउनेछु। र, भन्नेछु- पर्यावरण शहीद दिलीप अमर छौ!