नेपाल–भोट युद्ध : खरखजाना र अन्नको जोहो
कप्तान जुद्धवीर अधिकारीले प्रधानमन्त्री जंगबहादुर र जबर कार्कीले जर्नेल कृष्णबहादुर कुँवरलाई चिठी लेखेर रसदपानीको सहज व्यवस्थापन गरिदिन आग्रह गरेका थिए।
राजधानीबाट धेरै टाढा पर्ने भएकाले हुम्लाको यारी सीमा नाकामा श्री ३ जंगबहादुर राणाले फौजका लागि पहिले नै खरखजाना र रसदपानी (अन्न) को ठूलो जोहो गराएका थिए ।
प्यूठानतिर खटिएका कप्तान जुद्धवीर अधिकारीले प्रधानमन्त्रीको आदेश अनुसार कर्णेल कृष्णध्वज कुँवरसँग मिलेर हुम्ला जान आवश्यक हतियारको जोरजाममा लागेको व्यहोरा पत्रमा उल्लेख गरेका थिए ।
प्रधानमन्त्रीलाई पठाएको पत्रमा उनले आफू मातहत रहेका बारुद, पत्थर, गोलीगट्ठा तयार पारिसकेको, जगेडा रहेका गोली ३४ हजार ४८६ र साना नालमा मिल्ने गोली २२ हजार २८३ तयार पारेको व्यहोरा जाहेर गरेका थिए ।
पाल्पाबाट पनि २० हजार १ गोली, १० हजार १ पत्थर, ३०० नाल बन्दूक र ५१ मुरी बारुद हुलाकबाट पठाइदिनू भन्ने आदेश आउनासाथै सबै जवान, पिपा र सामान तयार भएको व्यहोरा जुद्धवीरले प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।
खर्च अलि अपुग भएको उल्लेख गर्दै जाने आदेश आए लगत्तै रवाना हुने उनले बताएका थिए । रसदको कमी होला कि भनेर जागिरदारका जग्गा कमाउने मोहीहरूलाई बाली बराबरको रकम अग्रिम सरसापटीको रूपमा देओ भन्ने आदेश उताबाट आए युद्धमा जाने सिपाहीका लागि रसदपानीको गर्जो मिलाउन सहज हुन्थ्यो भन्ने आग्रह पनि उनले गरेका थिए ।
अर्का कप्तान जबर कार्कीले पनि जर्नेल कृष्णबहादुर कुँवर राणालाई पत्र लेखेका थिए । कप्तान जबरलाई भवानीबक्स कम्पनीका जवान लिएर डोटीका कर्णेलले खटाए बमोजिमको काम गरी हुम्ला जानुपर्ने आदेश दिइएको थियो ।
उनले पत्रमा हुम्ला हिंड्ने तर्खरमा लाग्दा जवानहरूले घरपरिवारलाई भेटेर आउने भनेकाले ८/१० दिनको बिदा दिएको, जवानहरू आएपछि माटो र कसिंगर मिसिएको बारुद केलाउन लगाएर हिंड्ने विचार गरेको उल्लेख गरेका थिए ।
यसैबीच, डोटीका कर्णेलले दशैंपछि मात्र हुम्ला जाने र आफूलाई पनि दशैं मानेर भवानीबक्सको निशान पूजा गरी हुम्ला आउन आदेश दिएकाले त्यसै अनुसार गर्ने जानकारी गराएका थिए ।
यो नयाँ कम्पनी भएकाले रसद जुटाउन मुखिया प्राण उपाध्यायबाट अन्न लिने बन्दोबस्त गरेको र उक्त रसद हुम्लामै पुर्याइदिने कबोल समेत गरेको कप्तान जबरले उल्लेख गरेका थिए ।
यसका लागि त्यहाँबाट पनि प्राण उपाध्यायको नाममा दस्तखत गरेर पठाए रसद तत्काल आउने र कम्पनीका जवान बाँच्ने पनि उनले बिन्ती बिसाएका थिए ।
श्रीमद्राजकुमार कुमारात्मज श्रीप्राइममिनिष्टरका हजुरमा कप्तान जुद्धवीर अधिकारीले चह्राइ पठायाको
तैयारी २ शये नाललाइ जनही गोली समेत्का कार्तोस १५० र ९/९ का हिसाबले चाहिन्या खजाना समेत् ली श्रीकर्णेल कृष्णध्वजकुँवर राणाजीसँग सामेल भै हुमला जान्या काम गर भनि हजुरबाट आयाका बडापत्र पुग्नीबित्तिकै ताकिति तत्पर गरि चाहिन्या खजानाको तर्जुमा गर्न लाग्छु. जगेराको सिसा गोली ३४४८६ छ. तेस्मध्ये पल्टनका फेसाली नालमा मिल्याको गोली २२२८३ को गठ्ठा पारि बाँकी साना बेकंवा गोली पार्न र कार्तोस्लाई कागज खरिदको सनद चाहिएला कि भन्या चित्तमा आयो र अघि हजुरमा अर्जी चह्राई पठायाको हो, यसो गर्नु भन्या मर्जि बक्त्तीस भै आउदा ७/८ हजार गठ्ठालाई गोली पार्न त्यो र अनेसा लाग्यो ञाहा जो भयाको बारुद पत्थर गोली गठ्ठा पिपा महजुतै तैयारी गरि सकियाको छ.
जैले मर्जि चह्राई बक्सनुहुन्छ छिनभर विलंभ गर्न्या छैन उसै घडिको सयेत गरि जान्याछु, पाल्पाबाट पनि गोली २०००१, पत्थर १०००१, बंदुक ३०१, बारुद मुरि ५१ हुलाक रवाना गरि पठाईदेउ भंन्या दस्खत आया. पत्थर बारुद बन्दुकका अर्थलाई दस्खत पुग्नेबित्तिकै तत्पर भै तैयार गर्यौं, गोलीलाई जगेराका नाल बेकंवा गोली र सिसा गोली फेसाली नालमा मिलन्या गोली पार्न्या र कार्तोसलाई कागज खरिदको सनद गरि बक्सन्या. सिसाले पुग्न्यासम्मको गोली पारी गठ्ठा चलाउँदा हुँ औ जागिरदारको खेत कमाउन्या मोहिगैह्रको नाउमा तल्सींले सापटी माग्दा बाली लेखाम्दा म्याद सम्म सापट दिनु भन्ने ब्यहोराको दस्खत विनति गरी झिकाइदियादेखि हामी जान्या जागीरदारहरूले मोहिसँग सापटी लि खर्च तुल्याई जाँदा हुँ भनि जागीरदारहरूले मसंग भंदा हजुरमा विंति चह्राई पठायाको हो. जो मर्जि.
११ साल आश्वीन सुदी ५ रोज ३ मुकाम प्यूठान शुभम्.
श्रीजनरल कृष्णबहादुर कुँवरराणाजीका हजुरमा कपतान जवर कार्कीले चह्राइ पठायाको
श्री भवानीबक्स कम्पनी ली डोटी कर्णौल संगै कर्णेललेलाया अह्रायाको कामकाजगरि हुमला जानु पन्र्याछ भन्या श्रीमिनिष्टर साहेबबाट सिक्षा अर्ति आउँदा सिरचह्राई सयत् गरि सिपाहिहरूलाई १०/८ दिनको विदा दि राख्याथ्या. सामेल भयापछि माटो कछिंगर भयाको बारुद केलाई हज्जार बाह्रसये गठ्ठा पारि हिडनु. तयार भयाका थिञ्यू डोटी श्रीकर्णेल साहेबबाट दशैपछि म हुमला जांछु. तिमि पनि दसै गरि श्रीभवानी बक्सका पर्द फेरि मलाई भेटाउँदै हुमला आउ भन्या शिक्षा अर्ति आउँदा दसैगरि श्रीनिसानका फर्द फेर्यौ चतुर्थी गरि हुमला जान्छु.
दशैको तिलक पाति श्री हजुरलाई रु.१ टिका भेट चह्राई पठायाको दाखिल होला औं पाहाडको रसदको विंतिगरी पठायाको केही शिक्षाअर्ति नआउँदा यो नयाँ कम्पनी छ म हुमलामा रसद बिना मर्ला भनि मुखिया प्राण उपाध्यायसंग हज्जार बाह्रशयेको रसद दिनु पर्छ भनि बन्दोबस्त गर्याको छ. रसद पुर्याउँला भनि कबोल गरि राख्याछन् मैले पनि श्रीमिनिष्टर साहेबका हजुरमा अर्जिलेखि चह्राई पठायाको छ. ताहा हजुरबाट समुझइ प्राणापाध्याका नाउमा कम्पनी रसदविना खानाले मर्ला तिमिले हजार तिमिले १२ सयेको रसद कम्पनी राख्याका ठाउँमा पुर्याउन्या काम गन्र्या भन्या बेहोराको दस्खत गरि पठाई बक्सनुभया रसद पुर्यान्याछ. रसद पुग्यो भने कम्पनी बाच्न्याछ, हजुरहरूका तजविजले जो ठहर्छ.
११ साल मिति आश्वीन शुदि १० रोज १ शुभम्.