कार्यक्षेत्र नछोड्न जनप्रतिनिधिलाई निर्वाचन आयोगको आग्रह
स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई तत्काल आफ्नो कार्यक्षेत्र नछोड्न निर्वाचन आयोगले आग्रह गरेको छ।
जिल्ला समन्वय समिति (जिसस) को निर्वाचन बाँकी नै रहेकाले त्यो पूरा नहुँदासम्म कार्यक्षेत्र नछोड्न आयोगले आग्रह गरेको हो। जिससको निर्वाचनमा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिका मेयर तथा उपमेयर मतदाता रहन्छन्।
जिससको निर्वाचन प्रक्रिया शुरू भइसकेपछि नरोकिने भएकाले त्यसमा सहयोग गर्न आयोगले आग्रह गरेको छ। आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनको कार्यक्रम शुरू भइसकेपछि कानूनमा उल्लेखित समयावधिभित्र सम्पन्न गरिसक्नुपर्ने र बीचमा रोक्न नमिल्ने भएकाले जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न नभएसम्मका लागि उक्त निर्वाचितलाई प्रभावित हुने गरी स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई लक्षित गरेर कुनै पनि प्रकारका प्रशिक्षण, गोष्ठी, सेमिनार लगायत कार्यक्रमहरू आयोजना नगर्न नगराउन नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार तथा सम्पूर्ण राजनीतिक दल एवं अन्य सरोकारवालाहरूलाई आयोग हार्दिक आग्रह गर्दछ।’
यथाशीघ्र जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न गर्न सबै मुख्य निर्वाचन अधिकृतहरूलाई आयोगबाट निर्देशन गरिसकिएको आयोगले जनाएको छ। आयोगले भनेको छ, ‘जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न नभएसम्मका लागि आफ्नो कार्यक्षेत्र नछाड्न सबै स्थानीय तहका जनप्रतिनिधिहरूलाई समेत आयोग हार्दिक आग्रह गर्दछ।’