कर्णाली चिनाउने विज्ञ दृष्टि
लोकसाहित्य स्थानीयको बाँच्ने आधार र सौन्दर्य हो। नेपालमा प्रचलित सबै संस्कृतिको पहिचान र संरक्षण भए मात्र राष्ट्रिय एकता कायम गर्न सकिन्छ।
२०२७ सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानका सहसदस्य सत्यमोहन जोशीको नेतृत्वमा विभिन्न पाँच विधाका विज्ञहरूले बहुविधागत पद्धति अपनाएर गरेको अध्ययनको उपज हो- कर्णाली लोकसंस्कृति। नेपाली भाषाको उत्पत्तिस्थल मानिने सिञ्जा उपत्यकामै ५० दिनसम्म खटिएर विश्वविद्यालयहरूले समेत कम अनुसन्धान गर्दै आएको लोकसंस्कृतिबारे वैज्ञानिक पद्धतिबाट सर्वेक्षण गरी तयार पारिएको प्रतिवेदनलाई पुस्तकको रूप दिइएको थियो।
५० वर्षपछि अप्राप्य जस्तै भइसकेको पुस्तकलाई सोसल साइन्स वहाःका लागि हिमाल किताबले पुनः प्रकाशन गरेर अध्येता र पाठकलाई गुन लगाएको छ। पुस्तक विभिन्न पाँच खण्डमा विभक्त छ। पहिलो अर्थात् इतिहास खण्डको लेखन-अनुसन्धानको नेतृत्व जोशी स्वयंले गरेका छन्।
यस खण्डमा कर्णाली क्षेत्रको इतिहासलाई काठमाडौं उपत्यकाको इतिहाससँग जोडेर कालचक्रको तुलनात्मक अध्ययन गरिएको छ। हालसम्म नेपालको समग्र इतिहास प्रकाशन नभएको अवस्थामा पुस्तकले २०२७ सालतिरै राष्ट्रिय इतिहास निर्माण गर्नुपर्नेमा जोड दिएको छ। इतिहास लेखनमा प्राप्त प्राथमिक स्रोतहरूको सङ्कलन र विश्लेषण गरी आधिकारिकता दिइएको छ।
पुस्तकमा उल्लेख भए अनुसार सिञ्जाका राजा जितारी मल्लले विसं १३४४, १३४५ र १३४६ गरी तीन पटक नेपाल उपत्यकामा आक्रमण गरेका थिए। तीनै पटक विजेता बनेका उनी आक्रमणपछि मुख्य मुख्य देवस्थलको दर्शन गरी फर्किए। पृथ्वीनारायण शाहले राज्य एकीकरणपछि नेपाल उपत्यकालाई राजधानी घोषणा गरेर यहीं बसेका थिए। तर, जितारी मल्ल तीन पटक विजयी हुँदा पनि यहाँ नबसी सिञ्जा नै फर्किए।
सिञ्जा खोलाको अध्ययनका सिलसिलामा भौगोलिक र सांस्कृतिक वातावरणको सम्बन्ध बुझ्दा यथार्थमा संस्कृतिलाई बुझ्न सकिने राय प्रस्तुत गरिएको छ।
शायद आर्थिक दृष्टिकोणले सिञ्जा राज्य नै सम्पन्न थियो कि? वा सामाजिक, सांस्कृतिक विशेषता फरक भएकाले पनि उनी नेपाल उपत्यकामा नबसेका हुन् कि? यस्तै विषय उठाउँदै पहिलो खण्डमा इतिहासले संस्कृतिमा पारेको प्रभावबारे अध्ययन गरिएको छ।
दोस्रो खण्डमा कर्णाली लोकसंस्कृतिमा भूगोलले पारेको प्रभावबारे उल्लेख छ। यो खण्डको नेतृत्व स्थिर जंगबहादुर सिंहले गरेका छन् जसमा भौगोलिक कारणले जनजीवनमा पारेको प्रभाव तथा जनजीवनसँग प्रकृति संरक्षण र व्यवस्थापनको सम्बन्धबारे चर्चा गरिएको छ। पुस्तकमा वन, खानी, जलस्रोत, जलवायुको विवरण प्रस्तुत छ। विभिन्न विदेशी विद्वान्ले गरेका अध्ययनलाई सन्दर्भ सामग्रीका रूपमा लिई तिनलाई विधिसम्मत तरीकाले प्रस्तुत गरिएको छ।
सिञ्जा खोलाको अध्ययनका सिलसिलामा भौगोलिक र सांस्कृतिक वातावरणको सम्बन्ध बुझ्दा यथार्थमा संस्कृतिलाई बुझ्न सकिने राय प्रस्तुत गरिएको छ। भौगोलिक अवस्थितिका आधारमा जीवनको दुर्गमता/सुगमता निर्धारण हुने र यसैबाट जीवनपद्धति, पेशा-व्यवसाय सिर्जना हुने उल्लेख छ। भूगोलकै कारणले कसरी सिञ्जा क्षेत्रका मानिस तिब्बत र भारतसँग व्यापारको माध्यम बन्न पुगे भन्नेबारे पनि पुस्तकले खुलाएको छ।
तेस्रो खण्डमा जनजीवन, खास गरी दियार गाउँका ठकुरीबारे चर्चा गरिएको छ। यसको लेखन विहारीकृष्ण श्रेष्ठले गरेका छन्। पछिल्ला वर्ष बढी प्रचलित खस आर्य शब्दलाई एउटै समूहमा राखी अर्थ्याउने गरिएकोमा पुस्तकले खस र आर्य फरक फरक समुदाय रहेको विवरण दिन्छ।
नेपाल एकीकरणको लामो समयपछि अर्थात् २०२७ सालसम्म पनि गैरजुम्लीलाई कसरी गोर्खालीको व्यवहार गरिन्थ्यो, जुम्ली र गोर्खालीबीचको खाडल हाल कसरी हराउँदै राष्ट्रिय एकताको भावना बलियो बनेको छ भन्ने दृष्टान्त पुस्तकले दिएको छ। मस्टो देवतालाई एकताको प्रतीक मान्दै मस्टोका पुजारीले औषधोपचार लगायत सामाजिक व्यवस्था कायम गर्न पुर्याएको योगदानबारे उल्लेख गरिएको छ।
जनजीवनमा परेको प्रभाव उजागर गर्नुका साथै पुस्तकमा प्रकृतिसँग तादात्म्य राखी जीवन चलाउन कसरी संस्कृतिको निर्माण र विकास गरियो भन्ने चर्चा छ।
हाल प्रचलनमा रहेको उपभोक्ता समिति/समूहको भ्रूण हाट सिञ्जामा कसरी विकास भएको थियो भन्ने कुरा जचौरी कुलो र त्यसको दिगो व्यवस्थापनको परम्परागत ज्ञान संरक्षित रहेको सन्दर्भले प्रष्ट्याउन खोजिएको छ।
चौथो खण्डमा भाषालाई समेटिएको छ। चूडामणि बन्धुले लेखेको यो खण्डले राष्ट्रभाषा नेपाली र सिञ्जाली भाषाका समानता र विविधताबारे दुई महत्त्वपूर्ण तथ्य उजागर गरेको छ। पहिलो, सिञ्जाली भाषालाई नेपाली राष्ट्रभाषाको मूल स्रोत हुने गौरव प्राप्त भएको छ।
दोस्रो, हाल सिञ्जाली भाषाभाषीका निम्ति नेपाली भाषा पूर्ण रूपले बोधगम्य छैन। यसले के देखाउँछ भने, नेपाली र सिञ्जाली एउटै मूल भाषाबाट आएका भए पनि यिनीहरू विसं १३१२ देखि १५९० को बीचमा छुट्टिएका हुन्। यसबाट कर्णाली क्षेत्रमा सदियौं पहिलेदेखि पृथक् सभ्यताको विकास हुँदै आएको देखिन्छ।
प्रदीप रिमालले लेखेको पाँचौं खण्डमा लोकसाहित्य र सङ्गीत कलामा सिञ्जाको विशेषतालाई समेटिएको छ। लोकसाहित्य स्थानीयको बाँच्ने आधार र सौन्दर्य हो। त्यसले जनजीवनमा परेको प्रभाव उजागर गर्नुका साथै पुस्तकमा प्रकृतिसँग तादात्म्य राखी जीवन चलाउन कसरी संस्कृतिको निर्माण र विकास गरियो भन्ने चर्चा छ। नेपालमा प्रचलित सबै संस्कृतिको पहिचान र संरक्षण भए मात्र राष्ट्रिय एकता कायम गर्न सकिन्छ।
नेपाल खाल्डो केन्द्रित इतिहास लेखनको प्रवृत्तिलाई परिवर्तन गर्दै क्षेत्रीय इतिहास र संस्कृतिको खोजी हुनुपर्ने सन्देश यो पुस्तकमा छ। नेपाल सांस्कृतिक विविधताको समग्र स्वरूप हो। यी विविध संस्कृतिको पहिचान, अध्ययन, संरक्षण र अभ्यास गरिए मात्र नेपाललाई समग्रतामा बुझ्न सकिन्छ। यसले राष्ट्रिय एकताको भाव बढाई राष्ट्रिय अखण्डता सुदृढ बनाउन पनि सघाउँछ।
पुस्तक: कर्णाली लोक संस्कृति (पाँच पुस्तकको सँगालो), लेखक: सत्यमोहन जोशी, स्थिर जङ्गबहादुर सिंह, बिहारीकृष्ण श्रेष्ठ, चूडामणि बन्धु, प्रदीप रिमाल, प्रकाशक: हिमाल किताब मूल्य: रु. १५५०