‘महिला नेतृत्वमा आएर के फरक भयो भन्ने देखिनुपर्छ, त्यो देखिने गरी काम गर्छौं’
सुदूरपश्चिम प्रदेशका दुई वटा स्थानीय सरकारको नेतृत्वमा आएका महिलाले नयाँ ढङ्गले काम गरेर देखाउने योजना बुनेका छन्।
सुदूरपश्चिमका ८८ वटा स्थानीय तहमध्ये गत वैशाख ३० गते ८७ स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ भने बाजुराको बुढीगंगा नगरपालिकामा फेरि मतदान हुने भएको छ। तर, प्रदेशभर दुई जना महिला मात्रै नेतृत्वमा आएका छन्।
अछामको पञ्चदेवल विनायक नगरपालिकाको मेयरमा अम्बिका चलाउने र कैलालीको लम्कीचुहा नगरपालिकाको मेयरमा सुशीला शाही निर्वाचित भएका छन्। दुवै जना कांग्रेसबाट मेयरमा निर्वाचत भएका हुन्।
उनीहरू पाँचवर्षे कार्यकालमा फरक शैलीबाट काम गरी नमूना स्थानीय तह बनाउने बताउँछन्। पञ्चदेव विनायककी मेयर चलाउने सुदूरपश्चिमका अधिकांश स्थानीय तहको समस्या सामान भए पनि आफ्नो पालिकामा केही नयाँ काम गर्ने योजना बुनेको बताउँछिन्। “गत निर्वाचनमा उपमेयर भएकी थिएँ, तर राम्रो योजनाको प्रस्ताव ल्याउँदा समेत निर्णयमा समेटिएन,” चलाउने भन्छिन्, “त्यसैले यो पटक मेयरमा उठेकी थिएँ, जनताले जिताए। अब काम गरेर जिम्मेवारी पूरा गर्छु।”
उनी देशभरका अझ सुदूरपश्चिमका स्थानीय तहका समस्या साझा भए पनि काम गर्ने शैली भने फेरिनुपर्ने बताउँछिन्। त्यसका लागि पाँचवर्षे आवधिक योजना निर्माण गर्नुपर्ने उनको भनाइ छ। विज्ञ टोली बनाएर आवधिक योजना बनाउने उनको तयारी छ।
पञ्चदेवल विनायकमा बिजुली छैन। खानेपानीको समस्या छ। सडक पूर्वाधारको अभाव छ। स्वास्थ्य र शिक्षा त झनै राम्रो हुने कुरै भएन। पाँच वर्षमा फेरबदल नै गर्न नसकिए पनि सुधार ल्याउन सकिने उनको विश्वास छ।
बिजुली पुर्याउने त उनले चुनावी घोषणा नै गरेकी थिइन्। निर्वाचित भएपछि सीधै धनगढी पुगेर प्रदेश सरकार र नेपाल विद्युत् प्राधिरकणको क्षेत्रीय कार्यालयसँग छलफल गरिसकेकी छन्।
महिलाका समस्या त उनले देखेभोगेकै हुन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका समस्या समाधान गर्ने गरी काम गर्ने उनको भनाइ छ। “महिला नेतृत्वमा आएर के फरक भयो भन्ने देखिनुपर्छ, म त्यो देखिने गरी काम गर्नेछु,” उनी भन्छिन्।
स्वास्थ्यमा महिलाको सहज पहुँच पुर्याउने तथा सुत्केरी महिलाका लागि विशेष कार्यक्रम ल्याउने उनको तयारी छ। यससँगै हिंसामा परेका महिलालाई न्यायका लागि सघाउने योजना बनाएकी छन्। उनले उपमेयर हुँदा नै सुत्केरी आमालाई निःशुल्क एम्बुलेन्सको व्यवस्था, हजार दिनका आमालाई पोषण, खोप, स्वास्थ्य सामग्री र स्वास्थ्य शिक्षामा परामर्श लगायत कार्यक्रम शुरूआत गरेकी थिइन्। यसलाई निरन्तरता दिने उनले बताइन्।
आगामी आर्थिक वर्षको बजेटमा सबै वडाका स्वास्थ्य केन्द्रमा ल्याबको व्यवस्था गर्ने उनको योजना छ। कृषि उत्पादनमा आत्मनिर्भर बनाउने गरी कार्यक्रम ल्याउने उनी बताउँछिन्। यसका लागि किसानलाई अनुदानको व्यवस्था गरिने भएको छ।
त्यस्तै, कैलालीको लम्कीचुहा नगरपालिकाकी मेयर शाही डुँडेझाडीमा औद्योगिक क्षेत्र स्थापना गर्ने लक्ष्य बोकेर आएको बताउँछिन्। “औद्योगिक क्षेत्र नभएकाले लम्कीचुहाका धेरै उद्योग नेपालगञ्ज सरेका छन्, जसले गर्दा यहाँका नागरिकले रोजगारी गुमाउनुपरेको छ,” शाही भन्छिन्, “कम्तीमा एउटा औद्योगिक क्षेत्र स्थापना गर्न सकियो भने उद्योगधन्दा खुल्नेछन्, नगरमै रोजगारी सिर्जना हुनेछ।”
डुँडेझाडीमा औद्योगिक क्षेत्र स्थापना गर्न पहल गर्ने प्रतिबद्धता गरेकाले नै चुनाव जितेको उनी बताउँछिन्। यससँग नागरिकलाई रोजगार र स्वरोजगारमा जोड्ने कार्यक्रमलाई प्राथमिकता दिने उनको तयारी छ। “बेरोजगार युवा र महिलालाई लघु उद्यममा सहभागी गराउन प्रोत्साहित गर्ने योजना ल्याउँछौं,” मेयर शाही भन्छिन्।
स्वास्थ्य, शिक्षा, विद्युत् र खानेपानीको योजना त उनको घोषणापत्रमै थियो। लम्कीचुहामा ढल निकास सहित सडक निर्माणलाई प्राथमिकतामा राखेको उनी बताउँछिन्। सडकसँग जोडिएर आउने विषय हो- दुर्घटना। अझ लम्की बजार क्षेत्र धेरै दुर्घटना हुनेमा पर्छ। सडक सुरक्षालाई ध्यानमा राखेर कार्यक्रम ल्याउने उनको तयारी छ।
आगामी पाँच वर्ष गर्ने कामका २१ वटा सूची बनाएकी छन्। जसमा शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, पूर्वाधार विकास र रोजगारी, मझौला तथा लघु उद्यम सञ्चालनसँग सम्बन्धित विषय छन्। “महिलालाई सीपमूलक तालीम दिएर लघु उद्यम गर्न प्रोत्साहित गर्ने कार्यक्रम ल्याउँछौं,” मेयर शाही भन्छिन्, “एक घर, एक रोजगार दिने लक्ष्य सहित काम गर्छु।”
लम्कीचुहा नगरपालिका सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार हो। कर्णाली चिसापानीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उनको योजना छ। त्यसका लागि नगर पर्यटन विकास समिति निर्माण गर्न लागेको उनले बताइन्।
लम्कीचुहाको अर्को समस्या हो- जग्गा। यहाँ वर्षौंदेखि ऐलानी जमीनमा बसोबास गर्दै आएका सुकुम्बासीले लालपुर्जा पाएका छैनन्। “दलित, अपाङ्ग, शहीद परिवार तथा अति विपन्न परिवारलाई जग्गामा लाग्ने कर छूट दिएर दुई वर्षभित्र जग्गाधनी प्रमाणपत्र वितरण गर्छौं,” उनी भन्छिन्।
सुदूरपश्चिममा निर्वाचन सम्पन्न भएका ८७ स्थानीय तहमध्ये ८५ तहमा पुरुष नै नेतृत्वमा छन्। सत्तारुढ र विपक्षी गठबन्धनका कारण अझ २० वटा स्थानीय तहको प्रमुख र उपप्रमुखमा पुरुष नै आएका छन्।