नेपालगञ्जमा सर्वदलीय सहमति विना शालिक नराख्ने निर्णय
बाँकेको नेपालगञ्जमा सर्वदलीय सहमति विना कसैको पनि शालिक नराख्ने सहमति भएको छ।
बिहीबार शालिक राख्ने विषयमा विवाद भई तनाव सिर्जना भएपछि स्थितिलाई नियन्त्रण गर्न प्रहरीले हवाई फायर गरेको थियो। आगामी दिनमा शालिकको विषय लिएर त्यस्तो घटना पुनः दोहोरिन नदिन उक्त निर्णय गरिएको बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले बताए।
शर्माको पहलमा बिहीबार बेलुका सर्वदलीय बैठक बसेको थियो। बैठकले नेपालगञ्जमा सर्वदलीय सहमति विना कसैको पनि शालिक निर्माण र पुनःस्थापना नगर्ने निर्णय गरेको निमित्त प्रमुख जिल्ला अधिकारी शर्माले बताए।
उनका अनुसार‚ राजा वीरेन्द्रको शालिक राख्ने क्रममा केही युवाको समूहले तोडफोड गरेको शहीद सेतु विकको शालिकको मर्मत नेपालगञ्ज उपमहानगरपालिकाले गर्ने सहमति भएको छ। धम्बोजी चोकमा पूर्व राजा वीरेन्द्रको शालिक राख्न प्रहरीले नदिएपछि राजतन्त्रका पक्षधरहरूले ढुङ्गामुढासँगै जनआन्दोलनकी शहीद सेतु विकको शालिक तोडफोड गरेका थिए।
सर्वदलीय बैठकमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी लगायत दलका प्रतिनिधि उपस्थिति थिए। यसै गरी नेपालगञ्ज उपमहानगरका मेयर प्रशान्त विष्ट पनि उपस्थित थिए।