पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश
बलात्कार मुद्दामा उच्च अदालत पोखराले कलाकार पल शाहलाई थुनामै राख्न आदेश दिएको छ।
नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोगमा उच्च अदालतले जिल्ला अदालतकै आदेशलाई निरन्तरता दिएको हो। बिहीबार न्यायाधीश उज्वल शुक्ला र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले जिल्ला अदालत तनहुँको आदेशलाई सदर गरेको हो।
उच्च अदालतमा पलका तर्फबाट कमलामोहन वाग्ले, जगदीशचन्द्र पाण्डे र मिलनध्वज शाहले बहस गरेका थिए। त्यस्तै, पीडितका तर्फबाट सरकारी कानून व्यवसायी सहन्यायाधिवक्ता ईश्वरीप्रसाद ढकालले बहस गरेका थिए।
कारागार चलान गर्ने जिल्ला अदालतको फैसला विरुद्ध पलका वकीलहरूले उच्च अदालतमा निवेदन दिएका थिए। उनीहरूले पललाई साधारण तारेखमा रिहा गर्न माग गरेका थिए।
उच्च अदालतको यो आदेशसँगै पलले पुर्पक्षका लागि थुनामै बस्नुपर्नेछ।