विमान दुर्घटना: परिवारलाई बुझाइयो मृतकको शव
तारा एअरको ट्वीनअटर जहाज दुर्घटनामा मृत्यु भएका यात्रु तथा चालक दलका सदस्यको शव परिवारलाई बुझाइएको छ।
जहाज दुर्घटनामा मृत्यु भएका सबै २२ जनाको शव बिहीबार मृतकका परिवार तथा आफन्तलाई बुझाइएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ। दुर्घटनामा मृत्यु भएका सबैको त्रिवि शिक्षण अस्पतालमा बुधबार पोस्टमार्टम गरिएको थियो।
जहाज दुर्घटनामा १६ जना नेपाली, चार जना भारतीय र दुई जना जर्मन नागरिकको मृत्यु भएको थियो। भारतीय नागरिकको पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए।
त्यस्तै, जर्मन नागरिकको शव भने जर्मनी नै पठाइने भएको छ। उनीहरूका आफन्तजनले आफ्नै देश लग्ने भएका छन्।
जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको जहाज अर्को दिन बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेस्थित मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो। जहाजमा सवार १९ यात्रु र चालक दलका तीन जना सदस्यको मृत्यु भएको थियो।