नेपालगञ्जमा तनाव, स्थिति नियन्त्रणमा लिन हवाई फायर
शालिक राख्ने विषयलाई लिएर नेपालगञ्जमा तनाव उत्पन्न भएको छ भने स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड हवाई फायर गरेको छ।
राजतन्त्र पक्षका केही व्यक्तिले बिहीबार नेपालगञ्जको धम्बोजी चोकमा राजा वीरेन्द्रको शालिक राख्न खोजेका थिए। प्रहरीले शालिक राख्न नदिएपछि प्रदर्शनमा उत्रिएका उनीहरूले ढुङ्गामुढा गरेका हुन्।
धम्बोजी चोकमा राजा वीरेन्द्रको शालिक राख्न नदिएपछि उनीहरूले न्यूरोडमा रहेको जनआन्दोलनकी शहीद सेतु विकको शालिक तोडफोड गर्न खोजेका थिए। त्यही क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो।
उनीहरूले प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले बताए। उनका अनुसार, स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड हवाई फायर गरेको छ।
प्रदर्शनकारीको ढुङ्गा प्रहारबाट केही प्रहरी घाइते भएका छन्। घाइते चार प्रहरीलाई भेरी अस्पतालमा भर्ना गरिएको छ। उनीहरूको हात र खुट्टामा चोट लागेको डीएसपी न्यौपानेले बताए।
स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ।
तनावपूर्ण स्थिति नियन्त्रणमा लिन संवादको पहल भइरहेको नेपालगञ्जका मेयर प्रशान्त विष्टले बताए। उनले संवादमा आउन सबैलाई अपील गरेका छन्।