अन्तर्घातको आरोपमा बबईका उपाध्यक्ष सहित ६ जना कांग्रेसका नेतालाई कारबाहीको सिफारिश
गाउँपालिकाको कार्यपालिका सदस्यमा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोपमा दाङको बबई गाउँपालिकाका उपाध्यक्ष सहित ६ नेतामाथि कारबाहीका लागि सिफारिश गरिएको छ।
नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष बमकुमारी खड्का सहित पार्टीका नेताहरूले कार्यपालिका सदस्य निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवारलाई सघाएको आरोपमा उनीहरूलाई साधारण सदस्य समेत नरहने गरी कारबाहीका लागि जिल्ला समितिमा सिफारिश गरिएको हो।
गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा बबई गाउँपालिकामा कांग्रेस र एमालेबाट ३७ जना जनप्रतिनिधि निर्वाचित भएका थिए। तीमध्ये २० जना कांग्रेस र १७ जना एमालेका उम्मेदवार हुन्। तर, जेठ १५ गते भएको कार्यपालिका सदस्यको निर्वाचनमा कांग्रेसका उम्मेदवार पराजित भएका थिए। आफ्नो बहुमत हुँदा पनि पार्टीका तर्फबाट निर्वाचित उपाध्यक्ष खड्का सहित नेताहरूका कारण पराजित हुनुपरेकाले उनीहरूलाई कारबाही गर्नुपरेको कांग्रेस बबई गाउँपालिका समितिले बताएको छ।
कांग्रेस दाङका सभापति शंकर डाँगीले उपाध्यक्ष खड्का सहित वडा नम्बर ३ की दलित महिला सदस्य मीनाकुमारी विक, वडा नम्बर ५ का क्षेत्रीय प्रतिनिधि प्रशाराम भुसाल, पार्टीका क्रियाशील सदस्य सेवेन्द्र देवकोटा, नरबहादुर परियार, क्षेत्र नम्बर ३ का क्षेत्रीय प्रतिनिधि उर्मिला बस्याललाई कारबाहीका लागि जिल्लामा सिफारिश आएको जानकारी दिए।
उनले पार्टीका उम्मेदवारलाई अन्तर्घात गर्ने जोकोहीमाथि कारबाही हुने बताए। स्थानीय तहको निर्वाचनमा अन्तर्घात गर्नेहरूमाथि छानबिन भइरहेको बताउँदै पार्टीको नीति विपरीत काम गर्नेलाई पार्टीको विधान बमोजिम कारबाही हुने उनको भनाइ छ।