यी हुन् चर्चामा नआएकी कबड्डी–४ की पम्फा
बेलायतको नेपाली समुदायकी ‘पब्लिक फिगर’ गौमाया गुरुङ पछिल्लो समय ट्राभल–भ्लग बनाएर नेपाली भाषा, संस्कृति र जनजीवनसँग सम्बन्ध गाँसिरहेकी छन्।
(फिल्म ‘कबड्डी–४ द फाइनल म्याच’की सहनायिका गौमाया गुरूङ पम्फाको भूमिकामा छिन्। २०७७ चैत २२ गते ‘यी लाहुरेकी छोरी, जो नेपालीलाई नेपालीमै विश्व बुझाउने प्रयत्नमा छिन्’ शीर्षकमा छापिएको यो लेख सान्दर्भिक भएकाले पुनः प्रकाशित गरिएको हो।)
यूट्युब र सामाजिक सञ्जालमा राख्न हिजोआज धेरैले ट्राभल भ्लग बनाउने गरेका छन्। भ्लग बनाएरै कतिपय युवाले चर्चा कमाएका छन्। गौमाया गुरुङको कुरा भने धेरै हिसाबले फरक छ।
एक उनी चर्चित भइसकेपछि भ्लगतिर लागेकी हुन्। अर्को, नेपाल छोडेर बेलायत बस्न थालेको १५ वर्षपछि नेपाली भाषामा उनले भ्लग बनाउँदै आएकी छन्। मिस यूके नेपाल–२०११ की ताज विजेता गौमायालाई घुमफिर गर्ने रुचिले पुर्खाको देशको भाषासँग जोडेको हो।
उनले साथी दिवस गुरुङसँग मिलेर २०२० अगस्टमा ‘खुला आकाश’ नामको यूट्युब च्यानल खोलेकी हुन्। यसमा राखिने यात्रा सम्बन्धी भ्लगमा पूर्ण रूपमा नेपाली भाषामा यात्रा विवरण वाचन गरिन्छ। दिवस पर्दा पछाडि बस्न रुचाउँछन्, यसैले भ्लगमा आवाज गौमायाको हुन्छ।
उनीहरूको यूट्युब च्यानलमा अहिलेसम्म जम्मा पाँच वटा भिडिओ अपलोड गरिएको छ। जसमा फोक्सुण्डो ताल, माथिल्लो डोल्पा लगायतको यात्रा–वर्णन छ।
भूतपूर्व बेलायती गोर्खा सैनिकका सन्तान हुन्, गौमाया र दिवस। पुर्खाको देश छोडेर बेलायत बस्न थालेको डेढ दशकपछि उनीहरू देश चिन्न र चिनाउन खोज्दै छन्। नेपाली भाषा, संस्कृति, इतिहास र यहाँका युवा तथा पाको पुस्तासँग नजिक हुने चाहना पूरा गर्न ट्राभल भ्लगको सहारा लिएको गौमायाले बताइन्।
यस क्रममा नेपाली भाषाप्रति उनीहरूको चाख अचम्मसित उर्लिएको छ। भाषाको माया भ्लग मार्फत झन् प्रगाढ भइरहेको छ।
भ्लग नेपाली भाषामै बनाउन के कुराले हुटहुटी जगायो त?
“विदेश बसेकाहरूले पनि नेपालीमा वाचन गरेको सुन्दा अरूलाई प्रेरणा मिलोस् भनेर हो। बाजे–बजूले पनि बुझ्नुहुन्छ,” बेलायतमा रहेकी गौमायाले ह्वाट्सएप मार्फत भनिन्, “नेपाली भाषालाई प्राथमिकता दिइरहँदा यसप्रति म आफैंलाई पनि प्रेम बढिरहेको छ।”
भ्लग बनाउन थालेपछि गौमायालाई आफ्नो नेपाली भाषा सुधार्न जरुरी रहेको महसूस भएछ। यसका लागि मिहिनेत गरिरहेकी छिन्। वाक्यमा नेपाली शब्दको प्रयोगमा उनी कति सचेत छिन् भनेर उनको भ्लगको यात्रा वृत्तान्तबाट थाहा हुन्छ।
विगतमा नेपालमा छँदा र देश छोडेपछि पनि उनले नेपाली लेख्न र बोल्न खासै ध्यान दिइनन् रे। “पहिला स्कूल पढ्दा नेपालीको जाँच दिनै दिक्क लाग्थ्यो,” उनी भन्छिन्, “स्कूलहरूले पनि अङ्ग्रेजीमै जोड दिन्थे। त्यसले गर्दा म सधैं नेपालीमा कमजोर भएँ।”
त्यो वेला खासै चासो नदिएको भाषामा राम्रो पकड बनाउन गौमाया अचेल घोत्लिरहेकी हुन्छिन्। कतिपय अंग्रेजी शब्दको नेपाली अर्थ पत्ता लगाउँदा उनी एकसाथ चकित र खुशी हुन्छिन्। जस्तो, ‘कोलोनी’ लाई नेपालीमा उपनिवेश वा ‘ट्रान्सजेन्डर’ लाई पारलैङ्गिक भन्छन् भन्ने थाहा पाउँदा उनी दङ्ग परिन्।
अघिल्ला भ्लगका लागि अनुकूल, अपरिहार्य, पश्चात् जस्ता शब्द कसरी उच्चारण गर्ने भनेर निकै सोधीखोजी गर्नुपरेको उनले बताइन्। “नेपाली भाषा साह्रै मीठो छ,” उनी भन्छिन्, “मैले आफूलाई भाषामा अझै सपार्नु छ।”
चार वर्षमा ४० देश
काठमाडौंमा कक्षा १० पढेर गौमाया १५ वर्षअघि लन्डन गएकी थिइन्। अप्टोमेट्री (दृष्टिविज्ञान सम्बन्धी अध्ययन) मा स्नातकोत्तर पूरा गरेपछि हेल्थ प्राक्टिस्नरका रूपमा काम थालिन्।
विश्वविद्यालयमै छँदा, सन् २०११ मा मिस यूके नेपालका लागि आवेदन दिइन्। ताज जितेपछि उनको चर्चा फैलियो। विभिन्न क्षेत्रमा संलग्न भइन्। कथा–कविता लेख्ने, कार्यक्रममा उद्घोषण गर्ने मात्र होइन, अभिनय र मोडलिङमा समेत उनको सक्रियता बढ्यो।
सन् २०१२ मा मिस यूके नेपालको बिदाइ समारोहमा मन्तव्य दिने क्रममा गौमायाले भनेकी थिइन्, “मेरो यात्रा अन्त्य भएको छैन।” त्यो वेला उनले ‘यात्रा’ लाई विम्बात्मक रूपमा प्रयोग गरेकी थिइन्, तर समयक्रममा त्यो विम्ब उनको वास्तविकता बन्न पुग्यो। उनी अहिले साँच्चिकै यात्री बनेकी छिन्।
पछिल्ला चार वर्षमा गौमाया विश्वका ४० देश डुलिसकिन्। नेपालकै पनि थुप्रै ठाउँ पुगेकी छिन्। सगरमाथा क्षेत्रको कालापत्थरदेखि शे–फोक्सुन्डोसम्म पुग्दाका उनका ट्राभल भ्लग यूट्युबमा छन्। कहिलेकाहीं कामको सिलसिलामा र कहिले आफ्नै रुचिले उनी घुमघाममा निस्किन्छिन्।
गौमायाले मिस यूके नेपाल बन्दा ताका गरेको वाचा भ्लग गर्ने क्रममै पूरा गरिन्। त्यो वेला उनले नेपालको ग्रामीण भेगमा निःशुल्क आँखा शिविर आयोजना गर्ने बताएकी थिइन्।
सन् २०१८ मा उनको अग्रसरतामा ‘ग्लासेस टु गोरखा’ कार्यक्रम सञ्चालन गरी गोरखास्थित चिप्लेटी गाउँका ४५६ जनाको आँखा परीक्षण गरिएको थियो। उनको समूहले आवश्यक परेकालाई निःशुल्क चश्मा वितरण पनि गरेको थियो।
“नेपाल गएको वेला नयाँ ठाउँ घुम्न मन लाग्छ,” उनी भन्छिन्, “म हाम्रा ठाउँहरूको नयाँ परिभाषा खोज्दै छु। तराई मेरा लागि के हो, वा डोल्पा मेरो लागि के हो भनेर पत्ता लगाउनु छ।”
गौमाया भ्लगको कामलाई लिएर निकै उत्साहित छिन्। त्यो उत्साह भिडिओहरूमा यात्रा विवरण सुनाउँदा उनको आवाजमा झल्किन्छ। यात्रामा भेटिएका पात्रका रोचक प्रसङ्ग र आत्मीय व्यवहार सुनाउँदा उनी थप गद्गद् हुन्छिन्।
अहिलेसम्मका भ्लगहरूमा नेपाली भूगोल र मानिसका कथा देखाएका गौमाया र दिवस नयाँ भिडिओमा अन्य देशमा पुग्नेछन्।
“अबको भागमा हामी फिलिपिन्सको मनिलादेखि कोरोन शहर देखाउनेछौं,” गौमाया भन्छिन्, “त्यहाँ कुनै बेला अमेरिकी सेनाले प्रयोग गरेका बेन्ट्लीका गाडीहरूलाई अहिले यात्रु बोक्ने गाडीमा परिणत गरिएका रहेछन्। ती अलिअलि नेपाली ट्रक जस्तै देखिन्थे।”
नेपाल र अन्य देशको भूगोल, भूदृश्य, मानिस, रीतिरिवाज आदिबारे तुलना गर्नु गौमायाको आदत हो। उनी नेपालका के–के कुरा विश्वसँग मिल्दाजुल्दा वा फरक छन् भनेर नियाल्दै हिंड्छिन्। र, यिनै कुरा भ्लगमा देखाउँछिन्।
खुशी खोज्दै देश–देशावर
विभिन्न विधामा सक्रिय रहेकी गौमायाको जिन्दगीमा सबैथोक ठीकठाक चलिरहँदा उनलाई कता के नपुगे जस्तो रित्तोपन महसूस भइरहेको थियो। काम र सम्बन्धहरूबाट उनी खुशी खोज्दै थिइन्, तर खल्लोपन ज्युँका त्युँ थियो।
त्यत्तिकैमा सन् २०१५ मा नायग्रा फल्स हेर्न न्यूयोर्क गइन्, एक्लै। “त्यो ठाउँ हेरेपछि अझै कति कुरा हेर्नै बाँकी छ जस्तो लाग्यो,” उनी भन्छिन्, “त्यसपछि अस्ट्रिया गएँ, स्किइङ सिकें, स्कुबा डाइभिङ गरें। त्यो यात्राले मलाई म यो संसारको स्वतन्त्र नागरिक रहेछु, अझै घुम्न, सिक्न र अनुभव गर्न बाँकी रहेछ भन्ने सिकायो।”
भ्रमणपछि गौमायाका बेचैनी र रित्तोपन मेटिए। खुशी र सन्तुष्टिलाई नयाँ तरीकाले बुझ्न थालेको उनले बताइन्।
“मान्छे काम र सम्बन्धहरूबाट सन्तुष्टि खोज्दो रहेछ, र आफ्नो सन्तुष्टिको जिम्मा अरूलाई दिंदो रहेछ। तर, खुशी र सन्तुष्टिमा आफ्नै सर्वाधिकार हुनुपर्छ,” उनी भन्छिन्, “यो कुरा बुझेपछि म सबथोक छोडेर घुम्न थालें।”
घर (लन्डन) मा छँदा उनी फ्रिलान्स रूपमा काम गर्छिन्। बिरामीको आँखा जाँचबाट नियमित आम्दानी हुन्छ। फिल्म हेर्ने, नयाँ पहिरन किन्ने वा क्याफे/रेस्टुरेन्ट जाने क्रम घटाएकी छिन्। यो कटौती भ्रमणका लागि रकम जोहो गर्ने उनको उपाय हो।
“अब म अनुभव हासिल गर्ने कुरामा मात्रै लगानी गर्छु,” उनी भन्छिन्, “भ्रमणले मलाई एकअर्काको संस्कृति, इतिहास, भाषा, शैली बुझ्न सिकाइरहेको छ। नेपाली भाषाप्रति नजिक बनाइरहेको छ।”
भाषासँगको यो सामीप्यले गौमाया खुशी त छिन्, तर यत्तिमै सन्तुष्ट छैनन्। उनलाई रचनात्मक क्षेत्रमा थप निखार ल्याउनु छ। भन्छिन्, “म रचनात्मक क्षेत्रमा अझै लागिपर्छु। रचनात्मक खोजी भनेको खाना खाए जस्तै हो। आत्मालाई तृप्त पार्ने त्यस्तो खोजी जीवनभर गरिरहनुपर्छ।”
त्यही आत्मतृप्तिको भोकले उनलाई यात्री र विभिन्न कुरामा जिज्ञासु बनाएको छ। आमासँग तमू भाषा पनि सिक्दै छिन्। सँगसँगै उनलाई लेखन, अभिनय र वाचन कला पनि निखार्नु छ।
अभिनय र मोडलिङ
गौमायाले गोर्खाः बिनिथ द ब्रेभरी र चुकुल फिल्ममा अभिनय गरेकी छिन्। ...बिनिथ द ब्रेभरी बेलायतको सर्वोच्च सैन्य पदक भिक्टोरिया क्रस प्राप्त गर्ने पहिलो नेपाली गोर्खा सैनिक स्व. कुलवीर थापामाथि बनाइएको फिल्म हो।
एफएक्स टीभी र बीबीसीले निर्माण गरेको ब्ल्याक नार्सिसस टेलिशृङ्खलामा पनि उनको अभिनय छ। रुमर गडेनको सन् १९३९ को यही नामको उपन्यासमा आधारित उक्त शृङ्खलाको पहिलो भागमा गौमायाले ओमकी आमाको भूमिका निर्वाह गरेकी छिन्।
गडेनको उक्त उपन्यासमाथि सन् १९४७ मा फिल्म नै बनेको थियो जसले प्रोडक्सन डिजाइन र सिनेमाटोग्राफी विधामा ओस्कर अवार्ड समेत जितेको थियो।
गौमायाले मानसिक स्वास्थ्य, घरेलु हिंसा, लागूपदार्थ दुर्व्यसनीबारे बनाइएका सूचनामूलक छोटा फिल्म– माई हेयर माई लभ, डन्ट आस्क मी ह्वाई, स्टप अनसिइङ द सिनमा पनि अभिनय गरेकी छिन्। युगल गुरुङको ‘तिमी...’ लगायत केही म्यूजिक भिडिओमा उनलाई मोडलका रूपमा देखिन्छ।