भारतीय चर्चित गायक केकेको निधन
भारतको कोलकातामा गीत गाउँदागाउँदै असहज महसूस गरेका चर्चित गायक केकेको निधन भएको छ।
५३ वर्षीय गायक केकेले गएराति साढे ८ बजे कोलकातामा कन्सर्टमा गीत गाउँदागाउँदै अहसज महसूस गरेका थिए। त्यसपछि आराम गर्न होटलमा आएका थिए।
होटलमा झन् समस्या भएपछि कोलकातास्थित सीएमआरआई अस्पताल लगिएको थियो। अस्पताल पुर्याउने बित्तिकै चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए।
उनी दुई दिनदेखि कोलकातामा कन्सर्ट गरिरहेका थिए। मंगलबार पनि उनी कोलकातास्थित नज्रुल मञ्चमा आफ्नो प्रस्तुति दिइरहेका थिए।
उनको खास नाम कृष्णकुमार कन्नथ भए पनि सांगीतिक क्षेत्रमा केकेका नामबाट परिचित थिए।
उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विपक्षी दलका कांग्रेस नेता राहुल गान्धी लगायतले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। उनीहरूले प्रतिभाशाली गायक गुमाउनुपरेको उल्लेख गरेका छन्।
उनले दर्जनौं लोकप्रिय गीत गाएका छन्। उनका ‘तडप तडप’, ‘दिल इबादत’, ‘ओला जान’, ‘डोला रे डोला’, ‘पिया आए ना’ लगायत कैयौं गीत चर्चित छन्।