तारा एअर दुर्घटनाः २२ जनाकै शव र ब्ल्याकबक्स फेला
तारा एअरको जहाज दुर्घटनामा मृत्यु भएका २२ जनाकै शव भेटिएको छ। जहाज दुर्घटना भएको तेस्रो दिन सबै जनाको शव भेटिएको हो।
नेपाली सेनाको पोखरास्थित मध्य कमान्ड हेडक्वार्टरका जनसम्पर्क अधिकृत प्रेम पौडेलले २१ जनाको सोमबार र एक जनाको शव मंगलबार बिहान भेटिएको जानकारी दिए। कोबाङ नउरिकोटमाथिको सानुसरे पहाडको खोंचमा अड्किएको शव र तल खोलाको छेउमा रहेको शव पनि बाहिर निकालिएको पौडेलले बताए।
सोमबार १० जनाको शव काठमाडौं लगिसकिएको छ। आज थप १२ जनाको शव नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं पठाउने तयारी भएको जनसम्पर्क अधिकृत पौडेलले बताए। मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले दुर्घटनास्थलबाट जहाजको ब्ल्याकबक्स समेत भेटिएको जानकारी दिए।
आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको ‘९ एन–एईटी’ जहाज सम्पर्कविहीन भएको थियो। त्यसको भोलिपल्ट यार्सागुम्बा खोज्न गएका युवाले मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित सानुसरेको पहाडमा दुर्घटनाग्रस्त जहाज फेला पारेका थिए।
भौगोलिक रूपमा विकट, कुहिरो लाग्ने, पानी र हिउँ परिरहने भएकाले चार हजार २०० मिटर उचाइको भीरमा छरिएर रहेका शव र यात्रुका सामान सङ्कलन गरेर थासाङ गाउँपालिकाको केन्द्र कोबाङमा ल्याउन ढिलाइ भएको हो। कोबाङबाट घटनास्थल पुग्न चार घण्टा उकालो हिंड्नुपर्छ।