कार्यपालिका र जिससमा पनि तालमेल गर्न गठबन्धनको निर्देशन
सत्तारुढ पाँच दलीय गठबन्धनले स्थानीय तहको कार्यपालिका र जिल्ला समन्वय समिति गठनमा पनि तालमेल गर्न निर्देशन दिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचनका समीक्षा गरेको छ। बैठकले ७७ वटै जिल्ला समन्वय समिति र स्थानीय तहका कार्यपालिका सदस्यको निर्वाचनमा पनि सहमति गरी अगाडि बढ्ने निर्णय गरेको छ।
यसका लागि आ–आफ्ना दलका प्रदेश र जिल्ला समितिलाई निर्देशन दिने निर्णय गरेको छ। स्थानीय तहमा कार्यापालिका सदस्यका लागि निर्वाचन हुने गरेको छ।
त्यस्तै, समन्वय समिति गठनका लागि पनि निर्वाचत हुन्छ। यसमा स्थानीय तहका सदस्य तथा पदाधिकारीले मतदान गर्छन्।
बैठकपछि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेल संयुक्त विज्ञप्ति जारी गरी निर्णयबारे जानकारी दिएका छन्।