विमान दुर्घटना: २१ जनाको शव भेटियो, काठमाडौं लग्ने तयारी
पोखराबाट जोमसोमका लागि उडेको जहाज दुर्घटनामा परी मृत्यु भएका २१ जनाको शव भेटिएको छ।
नेपाली सेनाको पोखरास्थित मध्य कमान्ड हेडक्वाटर जनसम्पर्क अधिकृत प्रेम पौडेलका अनुसार एक जनाको शव भेटिएको छैन। सेना र प्रहरीको टोलीले खोजी जारी राखेको छ।
आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको ‘९ एन-एईटी’ जहाज दुर्घटना भएको थियो। यार्सा गुम्बा खोज्न गएका युवाले सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका-२ स्थित सानुसरेको पहाडमा दुर्घटनाग्रस्त जहाज फेला पारेका हुन्।
जहाज दुर्घटनामा मृत्यु भएका २१ जनाको शव पहाडबाट तल मुस्ताङको कोबाङमा ल्याउन लागिएको छ। “अहिलेसम्म १० जनाको शव मुस्ताङको कोबाङ ल्याइएको छ। खराब मौसमका कारण ११ जनाको शव तल झार्न कठिन भइरहेको छ,” मध्य कमान्ड हेडक्वाटरका जनसम्पर्क अधिकृत पौडेलले हिमालखबरसँग भने, “कोबाङमा ल्याइसकेका शवलाई काठमाडौं लाने तयारी गरिरहेका छौं।”
जहाजमा तीन जना चालक दलका सदस्य र १९ जना यात्रु सवार थिए। अहिलेसम्म फेला परेका २१ जनाको शवको पनि पहिचान हुन सकेको छैन।
आज पनि मौसमको खराबीका कारणले शव संकलन गर्न कठिनाइ भएको उनले बताए। “मौसम खुलिसकेको छैन। अहिले पनि शव संकलन गर्न एकदमै कठिनाइ भएको छ,” पौडेलले भने, “मौसमले साथ दिए आज सबै शव खोजेर काठमाडौं पुर्याउने तयारी गरिरहेका छौं।”