जङ्गली च्याउ खाएर विरामी परेका छ जनाको मृत्यु
पाल्पाको निस्दी गाउँपालिकामा जङ्गली च्याउ खाँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
२४ जेठमा जङ्गलबाट ल्याइएको च्याउ तरकारीकाे रुपमा खाँदा बिरामी परेका चार परिवारका ११ जना मध्ये ६ जनाकाे मृत्यु भएकाे हाे ।
बिरामीमध्ये निस्दी – ३ सार्कीडाँडाका नौ वर्षीया निर्मलासिं ठुकरी, चारवर्षीय विष्णुसिं ठकुरी, सातवर्षीय सुमनसिं ठकुरी, निशासिं ठकुरी, निरुतासिं ठकुरी र ४५ वर्षीय पुरन खाम्चाको निधन भएको सङ्घीय सांसद दलबहादुर रानाले जानकारी दिए ।
बिरामीमध्ये निर्मलाको मध्यविन्दु अस्पताल नवलपरासी विष्णुको पुरानो मेडिकल कलेज भरतपुर तथा अन्यको काठमाडौंका विभिन्न अस्पतालमा निधन भएको हो ।
३६ वर्षीया चनकुमारी खाम्चा, उनकी छोरी १५ वर्षीया विमला, ३० वर्षीया दानमायासिं ठकुरी र धनकुमारी सिंको सघन उपचार कक्षमा उपचार भइरहेको छ । ८० वर्षीय प्रेमसिं ठकुरी भने उपचारपछि घर फर्केका छन् ।
यस अघिपनि पटक पटक पाल्पाका विकट भेगमा च्याउ खाएकै कारण मानिसको मृत्यु हुने गरेको राससले जनाएको छ ।