नेपालमा हराएका विमान खोज्न किन हुन्छ कठिन?
नेपालमा हराएका विमान खोज्न जहिल्यै कठिन हुने गरेको छ भने एउटा हेलिकोप्टर त हराएको २० वर्ष भइसक्दा पनि अझै पत्तो छैन।
पोखराबाट जेठ १५ गते बिहान जोमसोमका लागि उडेको केही बेरमै सम्पर्कविहीन भएको ट्वीनअटर विमान दोस्रो दिन मात्रै फेला परेको छ। सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका-२ स्थित सानुसरेमा भेटिएको विमानमा रहेका १६ जनाको शव भेटिएको छ भने अन्य यात्रुको खोजी भइरहेको छ।
पोखराबाट उडेको तारा एअरको डीएचसी-६ विमानमा २२ जना सवार थिए। जसमा १३ नेपाली, चार भारतीय, दुई जर्मन यात्रु र तीन जना चालक दलका सदस्य थिए।
तर, पछिल्लो २४ घण्टा भने तनावपूर्ण रह्यो। विमान सम्पर्कविहीन भएदेखि शुरू भएको खोजी कार्य साँझसम्म जारी रह्यो। बादल र वर्षाका कारण हवाईमार्गबाट चलिरहेको खोजी कार्य राति स्थगित गर्नुपर्यो।
यद्यपि, स्थलमार्गबाट गएको टोली भने लेते नजिकै पुगेको थियो, जहाँ हराइरहेको जहाजका पाइलट प्रभाकर घिमिरेको माबाइल सम्पर्कमा रहेको देखिएको थियो। टुकुचे नजिकै रहेका एक प्रत्यक्षदर्शीले बादलमाथि विमान फर्किरहेको देखेको बताएका थिए। त्यसकै आधारमा जेठ १६ गते बिहानैदेखि खोजी शुरू भएको थियो।
घोरेपानी पास कटेपछि विमानको जोमसोम एअर ट्राफिक कन्ट्रोलरसँगको सम्पर्क विच्छेद भएको थियो। यो नेपालको आन्तरिक उडानमा झण्डै ६ वर्षपछि भएको दुर्घटना हो। नेपालको बिग्रँदो हवाई सुरक्षालाई लिएर चिन्ता व्यक्त भइरहँदा सन् २०१६ यता आन्तरिक हवाई उडानमा ठूलो दुर्घटना भएको थिएन।
यसै पनि पोखरा र जोमसोमको हवाई उडान चुनौतीपूर्ण हुन्छ। यो क्षेत्रमा अन्नपूर्ण र धौलागिरी हिमाल बीचको खोंच विश्वकै गहिरो खोंच हो, जहाँ ठूलो हावा चल्ने गर्छ र बादल पनि लाग्ने गर्छ। यस क्षेत्रमा खराब मौसममा पनि उडान गरिंदा नराम्रा दुर्घटना हुने गरेका छन्।
नेपालमा अधिकांश हवाई दुर्घटना वर्षातको मौसममा हुने गरेको छ। जब पाइलट अलमलमा पर्छन् र पहाडहरू पनि बादलभित्र लुकेका हुन्छन्। नेपाली भूगोलको विशेषताका रूपमा रहेका खोंच र पहराहरूले गर्दा पनि हराइरहेको विमान भेट्टाउन गाह्रो हुने गरेको छ। त्यसमाथि खराब मौसमले झन् कठिनाइ हुन्छ।
सन् २००२ मा हराएको एउटा हेलिकोप्टर त अझसम्म भेटिएको छैन। मकालु आधारशिविरबाट लुक्ला जाँदै गरेका आरोहण दलका गाइड बोकेको हेलिकोप्टर ठीक २० वर्षअघि ३१ मे, २००२ मा हराएको थियो।
एशिएन एअरलाइन्सको त्यो एमआई-१७ हेलिकोप्टर हराएको हरायै भयो। त्यसमा आठ जना आरोही गाइड र चालक दलका दुई सदस्य थिए, जसमा एक रसियन पाइलट थिए।
त्यो हेलिकोप्टरको हप्तौंसम्म खोजबिन गर्दा पनि नभेटिएपछि खोजी कार्य नै रोकिएको थियो। हवाई खोज र स्थलगत खोज गर्दा पनि कठिन भूगोल भएको ठाउँमा विमान भेट्न सकिएन।
मकालु वरुणमा चराहरूको खोज अध्ययनमा संलग्न पन्छीविद्हरूले अरुण उपत्यकाको दुर्गम भागमा हेलिकोप्टरले चक्कर लगाएको सुनेको बताएका थिए। के अनुमान गरियो भने हेलिकोप्टरले हिमाललाई ठक्कर दियो, त्यही ठक्करबाट झरेको हिमपहिरोमा पुरियो।
भूगोल र मौसमका कारण हिमालमाथिको उडान चुनौतीपूर्ण हुन्छ। त्यही कारणले गर्दा खोजी कार्य पनि प्रभावित हुने गर्छ।
सन् १९६२ अगस्टमा तत्कालीन शाही नेपाल वायुसेवा निगमको डीसी-३ विमान हरायो। काठमाडौंबाट दिल्लीका लागि उडेको विमान दुर्घटनाग्रस्त हुँदा चालक दलका चार जना सदस्य र ६ यात्रुको मृत्यु भयो। जसमा नेपालका लागि भारतका तत्कालीन राजदूत पनि थिए।
त्यो जहाजलाई भारतीय हवाई सेनाको विमानले १० दिनपछि ढोरपाटनको दुर्गम पहाडी इलाकामा भेट्यो। उद्धारका लागि त्यस क्षेत्रमा पठाइएको पिलाटस पोर्टर पनि दुर्घटनाग्रस्त हुन पुग्यो।
सन् १९९२ जुलाईमा थाई इन्टरनेशनल एअरबस-३१० ब्यांककबाट काठमाडौं आउँदै गर्दा बेपत्ता भएको थियो। त्यो विमान पत्ता लगाउन चार दिन लाग्यो। विमानले बाटो बिराउँदा काठमाडौंदेखि २० किलोमिटर उत्तरको लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा दुर्घटनाग्रस्त हुन पुगेको थियो। विमानमा सवार सबै ११३ यात्रुको मृत्यु भएको थियो। त्यो दुर्घटनालाई नेपाली उड्डयन क्षेत्रको एउटा नराम्रो घटना मानिन्छ।
सन् १९९६ को मनसुनमा जोमसोमबाट पोखराका लागि उडेको लुम्बिनी एअरको ट्वीनअटर पहाडमा ठोक्किंदा १८ जनाको मृत्यु भयो। त्यो वेला पनि मौसम र भूगोलका कारण विमान पत्ता लगाउन गाह्रो भएको थियो।
सन् २००६ सेप्टेम्बरमा कञ्चनजंघा हिमालको मुनिबाट उडेको एमआई-१७ हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा केही दिनसम्म भग्नावशेष पत्ता लगाउनै सकिएको थिएन। त्यसमा सवार २२ जनाको मृत्यु भएको त्यो दुर्घटना नेपाली संरक्षण क्षेत्रमा कालो दिनका रूपमा रहेको छ, जसमा नेपालका उच्च तहका संरक्षणकर्मीको मृत्यु भएको थियो।
त्यस्तै, सन् २०१४ मा अर्घाखाँचीमा नेपाल एअरलाइन्सको ट्वीनअटर दुर्घटनाग्रस्त हुँदा एक दिनपछि मात्र फेला पार्न सकिएको थियो, त्यो पनि एक यात्रुले मोबाइलका कारण। भूगोल र मौसमका कारण नेपाल हराएका विमान खोज्न समस्या हुने गरेको छ। जुन यस पटकको तारा एअरको ‘९ एन-एईटी’ विमान दुर्घटनामा पनि देखियो।