त्रियुगाको मेयरमा कांग्रेसका वसन्त बस्नेत निर्वाचित
उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार वसन्त बस्नेत निर्वाचित भएका छन्।
सोमबार सम्पन्न मतगणनाअनुसार, उनी नेकपा (एमाले)का भागवत राउतलाई दुई हजार ८६ मतले पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन्। उनले १३ हजार ९५९ मत पाए भने एमालेका राउतले ११ हजार ८७३ मत पाए।
नेकपा (एकीकृत समाजवादी)का बलदेव चौधरी तेस्रो नम्बरमा रहे। उनले नौ हजार १४७ मत पाए।
उपमेयरमा भने एमालेकी उम्मेदवार महेश्वरी राई निर्वाचित भएकी छन्। उनले १३ हजार ७०३ मत पाएकी छन्। उनकी प्रतिस्पर्धी कांग्रेसकी उम्मेदवार सरिता राईले ११ हजार ९८१ मत पाइन्।
त्यस्तै, नेकपा (माओवादी केन्द्र) की उम्मेदवार गीता खड्काले ६ हजार ५६८ मत पाइन्। माओवादी र एकीकृत समाजवादीले तालमेल गरेका थिए।
योसँगै देशभरका ७५२ स्थानीय तहको मतगणना सम्पन्न भएको छ। अब बाजुराको बुढीगंगा नगरपालिकाको मात्रै बाँकी छ। बुढीगंगामा पुनः मतदान गर्ने निर्वाचन आयोगले निर्णय गरेको छ।