बलात्कार सम्बन्धी मुद्दामा हदम्याद हटाउन संकल्प प्रस्ताव दर्ता
बलात्कार सम्बन्धी मुद्दामा हदम्याद हटाउन माग गर्दै प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता भएको छ।
सांसदहरू डिला संग्रौला पन्त, सुजाता परियार, प्रमिला राई र रंगमती शाहीले सोमबार प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता गराएका हुन्। उनीहरूले दर्ता गराएको संकल्प प्रस्तावमा बलात्कारको उजुरी दिने हदम्याद हटाउन माग गरिएको छ। अहिले एक वर्षभित्र उजुरी दिनुपर्ने कानूनी व्यवस्था छ।
मुलुकी अपराध संहिताको दफा २२९ ले जर्बजस्ती करणी सम्बन्धी उजुरी दिने व्यवस्था गरेको छ। यसमा भनिएको छ, ‘कसुर भएको मितिले एक वर्षभित्र र यस परिच्छेद अन्तर्गतको अन्य कसुरमा त्यस्तो कसुर भएको कुरा थाहा पाएको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन।’
चार जना सांसदले दर्ता गराएको संकल्प प्रस्तावमा मुलुकी अपराध संहिता २०७४ को दफा २१९ उपदफा २ मा रहेको उजुरी दिने हदम्याद सम्बन्धी ब्यवस्थामा पीडितले उजुरी गर्न नसक्नुको भरपर्दो र मनासिव कारण देखाई उजुर गर्न आएमा त्यस्तो उजुरी दर्ता गरी अनुसन्धान गर्न सक्ने गरि कानून संसोधन गर्नुपर्ने माग गरिएको छ।
सौन्दर्य प्रतियोगितामा सहभागी युवतीले आफूमाथि आयोजकबाट बलात्कार भएको केही दिनअघि सार्वजनिक गरेकी थिइन्। उनले आठ वर्षपछि घटना सार्वजनिक गरेसँगै बलात्कार सम्बन्धी मुद्दामा हदम्याद हटाउनुपर्ने माग उठेको छ।