त्रियुगा नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमालेलाई अग्रता
उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका वसन्तकुमार बस्नेत जित नजिक पुगेका छन्।
निर्वाचन आयोगका अनुसार बस्नेतले १३ हजार ६४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का भागवत राउतले १० हजार ४७९ मत पाएका छन्।
नेकपा (एकीकृत समाजवादी) का बलदेव चौधरीले ८ हजार ७३१ मत पाएका छन्।
उपमेयरमा एमालेकी उम्मेदवार महेश्वरी राई १२ हजार १४६ मत सहित अग्रता लिएकी छन्। उनकी प्रतिस्पर्धी कांग्रेसकी सरिता राईले ११ हजार २४४ मत प्राप्त गरेकी छन्।
उपमेयरमै नेकपा (माओवादी केन्द्र) की गीता खड्काले ६ हजार २७६ मत पाएकी छन्। यो पालिकामा माओवादी र एकीकृत समाजवादीबीच तालमेल भएको हो।
वैशाख ३० गते निर्वाचन सम्पन्न भएका ७५२ पालिकामध्ये त्रियुगाको मात्रै परिणाम आउन बाँकी छ। बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान गराउने आयोगले निर्णय गरेको छ।