एमाले र माओवादीले अघिल्लो पटकभन्दा कम जनप्रतिनिधि जिते
स्थानीय तह निर्वाचन २०७९ मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले २०७४ को निर्वाचनमा भन्दा कम जनप्रतिनिधि जितेका छन्।
एमालेले यस पटक ११ हजार ८८३ जनप्रतिनिधि जितेको छ। जबकि अघिल्लो निर्वाचनमा उसका १४ हजार १०० जनप्रतिनिधि निर्वाचित भएका थिए।
यस पटक एमालेले ८२ मेयर, १२३ अध्यक्ष, १२३ उपमेयर, १२६ उपाध्यक्ष, २१२९ वडाध्यक्ष, २३४३ महिला सदस्य, २२८७ दलित महिला सदस्य र ४६८० वडा सदस्य जितेको हो।
तेस्रोमा आएको माओवादी केन्द्रको पनि जनप्रतिनिधि संख्या अघिल्लो निर्वाचनमा भन्दा घटेको छ। त्यति वेला माओवादीले ५ हजार ४४० जनप्रतिनिधि निर्वाचित गरेको थियो। यस पटक माओवादीले जम्मा ५ हजार ४५ जनप्रतिनिधि जितेको छ।
माओवादीले २५ मेयर, ९६, अध्यक्ष, ३३ उपमेयर, ९५ उपाध्यक्ष, १०५३ वडाध्यक्ष, ९६३ महिला सदस्य, ९७३ दलित महिला सदस्य र १८०७ वडा सदस्य जितेको निर्वाचन आयोगले जनाएको छ।
यस्तै, २०७४ मा १८६ जनप्रतिनिधि जितेको राष्ट्रिय जनमोर्चा यस पटक १५९ स्थानमा खुम्चिएको छ। जनमोर्चाले सत्ता गठबन्धनबाट चुनाव लडेको हो।
७५३ पालिकामध्ये उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना जारी छ भने बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने भएको छ। त्रियुगामा केही मत गन्न बाँकी रहँदा मेयरमा कांग्रेसका वसन्तकुमार बस्नेतको जित सुनिश्चित भएको छ। उपमेयरमा भने एमालेकी महेश्वरी राई अगाडि छिन्।
अघिल्लो चुनावमा ११ हजार ४५६ स्थानमा जितेर दोस्रो ठूलो दल बनेको नेपाली कांग्रेसले यस पटक सबैभन्दा बढी १३ हजार ७१२ स्थानमा जित हासिल गरिसकेको छ।
अघिल्लो चुनावमा सहभागी नभएको नागरिक उन्मुक्ति पार्टीले ९९ र जनमत पार्टीले ९६ स्थानमा जितेको छ।