तारा एअरको बेपत्ता विमानका बाह्र घण्टा
पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको विमान हराएको १२ घण्टासम्म कुनै सुराक मिलेको छैन।
पोखराबाट उडेको तारा एअर ‘९ एन-एईटी’ को जहाज कुनै अवरोध नआएको भए आइतबार बिहान १०ः१५ बजे जोमसोम विमानस्थलमा अवतरण गर्ने थियो। तर, राति १० बजेसम्म पनि जोमसोम विमानस्थलमा त पुगेका छैन नै, कुनै सुराक पनि मिलेको छैन।
पोखराबाट आइतबार बिहान ९ः५५ बजे १९ यात्रु र चालक दलका तीन सदस्य बोकेर उडेको विमान अबेर रातिसम्म पनि सम्पर्कविहीन नै छ। अबेर रातिसम्म पनि विमानको अवस्था अज्ञात रहेको तारा एअरले जनाएको छ।
यो जहाजमा दुई जना जर्मन, चार जना भारतीय र चालक दलका सदस्य सहित १६ जना नेपाली नागरिक छन्।
नेपाली सेनाको टोलीले आइतबार अबेर रातिसम्म हराएको जहाज खोजी जारी राखेको भए पनि खराब मौसमका कारण कठिनाइ भइरहेको जनाएको छ। पोखरादेखि गएका नेपाली सेनाका हेलिकोप्टरहरू खराब मौसमका कारण जोमसोम फर्किएका छन्। बादलका कारण फिस्टेल एअरको हेलिकोप्टर तीन पटक प्रयास गर्दा पनि मानापाथी हिमालतिर जान सकेन।
नेपाली सेनाको ६५ जनाको ‘रेस्क्यू टीम’ मुस्ताङको घासास्थित पोस्टबाट पैदल खोजी हिंडेको छ। तर, अबेर रातिसम्म कुनै नयाँ जानकारी आएको छैन।
सेनाको पोखरास्थित मध्य कमान्डका सेनापति बाबुराम श्रेष्ठका अनुसार, मानापाथी हिमालको फेदीमा जहाजको ‘एरिया लोकेट’ भए पनि यकिन जानकारी पाउन नसकेको बताए। उनले विमान ‘लोकेट’ भएको स्थानमा हेलिकोप्टर जान नसकेपछि नेपाली सेनाको टोली सम्भावित स्थलतर्फ पैदलै गइरहेको बताए।
चौंरी गोठालाले धौलागिरी र मानापाथी हिमालको फेदमा पर्ने लंकी खोलाको शिरमा आगो बलेको खबर गरेका थिए। त्यही सूचनाको आधारमा सेना र प्रहरीको टोली मानापाथी हिमालतर्फ हिंडेको हो। तर, स्थानीयले आगो बलेको देखे पनि दुर्घटनाको अनुमान गर्न मात्र मिल्ने र अझै पुष्टि नभएको श्रेष्ठको भनाइ छ।
पाइलट प्रभाकर घिमिरको मोबाइलबाट ‘टावर कनेक्सन’ भए पनि यही ठाउँ हो भन्ने पत्ता नलागेको उनले बताए। नेपाल टेलिकमले गरेको मोबाइल ट्र्याकिङ अनुसार समुद्री सतहबाट पाँच हजारदेखि पाँच हजार पाँच सय मिटरको उचाइको क्षेत्रमा जहाज गएको अनुमान गरिएको छ। सोमबार बिहान ५ बजेदेखि नै खोजतलास शुरू हुने श्रेष्ठले बताए।
पोखरा-जोमसोम रुटका चार दुर्घटना
सात वर्षअघि २०७३ भदौ ३ गते १९ जना यात्रु बोकेर जोमसोमबाट पोखराका लागि उडेको तारा एअरको ‘९ एन-एमईक्यू’ ट्वीनअटर कालीगण्डकी नदी नजिकै दुर्घटना भएको थियो।
२०५६ सालमा पनि जोमसोम रुटमै अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा लुम्बिनी एअरको विमान दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो।
२०६९ जेठ १ गते पोखराबाट जोमसोमका लागि उडेको अग्नि एअरको विमान जोमसोम विमानस्थल नजिकै पानीट्याङकीमा दुर्घटना हुँदा १५ जनाको ज्यान गएको थियो।
त्यस्तै, २०५९ भदौ ३ गते जोमसोमबाट पोखरा फर्किएको सांग्रिला एअरको विमान पोखरा नजिक दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए।