उत्पादन वृद्धि, निर्यात र आयात प्रतिस्थापनका दृष्टिले बजेट सकारात्मक: पूर्व अर्थ सचिव खनाल
पूर्व अर्थ सचिव रामेश्वर खनालले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आन्तरिक उत्पादन र निर्यात वृद्धि गर्न तथा आयात निरुत्साहित गर्ने दृष्टिले सकारात्मक भएको बताएका छन्।
बजेटका सम्बन्धमा हिमालखबरसँग कुरा गर्दै खनालले बजेटले सूचना प्रविधि, कृषि, सिमेन्ट-क्लिङ्कर सहितका उद्योग आदिलाई लक्षित सहुलियत सकारात्मक भएको बताए।
बजेटले सूचना प्रविधिमा आधारित सेवा तथा बिजनेस प्रोसेस आउटसोर्सिङको निर्यातमा आठ प्रतिशतसम्म नगद अनुदान दिने घोषणा गरेको छ। त्यस्तै, सूचना प्रविधिमा आधारित सफ्टवेयर सहितका सेवाको निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने व्यक्तिलाई आयमा एक प्रतिशत मात्रै कर लाग्ने व्यवस्था गरेको छ।
“यो एकदमै ठूलो सुविधाको घोषणा हो। यसले आगामी वर्ष सूचना प्रविधिको क्षेत्रमा अभूतपूर्व परिवर्तन ल्याउन सक्छ, खासगरी नेपालको सेवा निर्यात बढ्छ,” खनालले भने।
उनले आफूले अर्थ मन्त्रालयलाई सूचना प्रविधि सेवा निर्यात गर्नेलाई सहुलियत दिन पटक पटक सुझाव दिएको बताए। अहिले सूचना प्रविधिमा काम गर्ने नेपाली कम्पनीले विदेशमा समेत कम्पनी राखेर वार्षिक रु.एक खर्बसम्मको कारोबार गर्ने गरेको र बजेटको घोषणापछि रु.दुई खर्बसम्मको कारोबार गर्न सक्ने उनले बताए। अब नेपालमा गैरआवासीय नेपाली र विदेशी नागरिकले पनि सूचना प्रविधि क्षेत्रमा लगानी गर्न सक्ने उनको अनुमान छ।
खनालले सिमेन्ट, क्लिङ्कर, प्रशोधित पानी आदिको निर्यातमा दिइएको आठ प्रतिशत नगद सुविधाले निर्यात बढाउन सक्ने बताए। बजेटले उद्योगहरूलाई विद्युत् महसूलमा पनि १५ प्रतिशतसम्म छूट दिएको छ।
यसले गर्दा, नेपालले बाङ्लादेशसम्म क्लिङ्कर निर्यात गर्न सक्ने खनाल बताउँछन्। “त्यसका लागि भारतसँग बाङ्लादेशसम्म सहज ढुवानी सुविधा दिन छुट्टै अनुरोध गर्दै कूटनीतिक पहल गर्नुपर्छ,” पूर्व सचिव खनाल भन्छन्।
कृषि क्षेत्रमा पनि प्राथमिक कृषि वस्तुको आयात घटाउने, पाँच वर्षमा आयात र निर्यात बराबर पार्ने लगायत घोषणा पूरा गर्न सकिने खालको भएको उनको तर्क छ।
बजेटको रु.१७ खर्ब ९३ अर्ब ८३ करोडको आकार ज्यादै ठूलो नभएको उनको तर्क छ। “यो विस्तारकारी बजेट भन्न मिल्दैन,” उनी भन्छन्।
खनालका अनुसार, बजेटको राजस्व सहित ऋण आम्दानीको प्रक्षेपण पनि सन्तुलित नै छ। “बजेटको आलोचना गर्नुपर्ने पक्ष यो छरिएको, एउटै उद्देश्यमा केन्द्रित छैन र कतिपय पूरा नहुने घोषणा पनि गरिएका छन्,” उनी भन्छन्।