'जहाज भेटिएको छैन, असान्दर्भिक फोटो र भिडिओ प्रयोग नगरिदिनुहोस्'
पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको जहाज आइतबार साँझसम्म भेटिएको छैन।
आइतबार बिहान १०ः०७ बजेदेखि '९ एन-एईटी' जहाज सम्पर्कविहीन भएको थियो। जहाजको खोजी भइरहेको र आइतबार साँझसम्म अवस्था अज्ञात रहेको जनाइएको छ।
तारा एअरले प्रेस विज्ञप्ति जारी गरी खराब मौसम र जटिल भूगोलका कारण खोजीमा समस्या भइरहेको उल्लेख गरेको छ।
तारा एअरले भनेको छ, “चौबीसै घण्टा खोज तथा उद्धार समन्वय केन्द्र खुला रहने व्यवस्था मिलाई खोजबिन कार्यलाई स्थल एवं हवाई माध्यमबाट सघन बनाइरहेको व्यहोरा समेत जानकारी गराउँदछौं।”
यससँगै तारा एअरले सञ्चार माध्यम र सामाजिक सञ्जालमा असान्दर्भिक फोटो तथा भिडिओ प्रयोग भइरहेकोमा ध्यानाकर्षण गराएको छ। “विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा आजको घटनासँग असान्दर्भिक फोटो, भिडिओहरू प्रयोग भइरहेको र यस्ता क्रियाकलापबाट चालक दल एवं यात्रुको परिवार तथा आफन्तजनको भावनामा थप आघात पुग्ने भएकाले आधिकारिक रूपमा सूचना, फोटो, भिडिओ नआएसम्म जथाभावी प्रयोग नगरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं,” विज्ञप्तिमा भनिएको छ।
जहाजमा चालक दलका तीन जना सदस्य र १९ यात्रु सवार छन्। यात्रुमध्ये १३ जना नेपाली र ६ जना विदेशी नागरिक छन्।