बलात्कारजन्य अपराध निम्त्याउने यस्ता छन् संरचनागत विकृति
समाजको कुन चलन, प्रवृत्ति, अभ्यास र संरचनाले स्त्रीद्वेषी भावना बढाएर बलात्कार जस्तो जघन्य अपराध निम्त्याइरहेको छ भन्ने जरा तत्त्व नकेलाई यसको समाधानमा पुग्न सकिंदैन।
सञ्चार माध्यमहरूमा बलात्कारका समाचार दैनिकजसो आउने गरेका छन्। यौन हिंसा र दुर्व्यवहारका घटनाले सामाजिक सञ्जाल पनि तरङ्गित बनाएका छन्। पछिल्लो समय खास गरी सौन्दर्य प्रतियोगितासँग जोडिएको र विद्यालयमा शिक्षकले विद्यार्थीमाथि गरेको यौन हिंसाको घटना चर्चाको केन्द्रमा छ। मनोरञ्जन क्षेत्र र शिक्षण पेशा सम्बद्ध घटना सार्वजनिक भएपछि कतिपय व्यक्तिले आफूलाई उक्त क्षेत्र र पेशाको मान्छे भन्न नै लाज भएको सामाजिक सञ्जालमा लेखेको देखियो।
तर, समग्र पेशा नै विकृतिको जड हो त? कि त्यस पेशाभित्र रहेका विकृत मनोभाव भएका मानिसहरू समस्याका कारक हुन्?
बलात्कार तथा यौन हिंसाका घटना बढ्नुका थुप्रै कारण छन्। जसमध्ये प्रमुख हुन्, पितृसत्तात्मक एवं स्त्रीद्वेषी समाज, चरम उपभोक्तावादी बजार व्यवस्था, पूँजीवादी अर्थव्यवस्था आदि। सन्धि भएर बनेको बलात्कार शब्दमा रहेको ‘बलात्’ को अर्थ बलजफ्ती हुन्छ। बलजफ्तीमा दोस्रो पक्षको भावनात्मक, मानसिक, शारीरिक अवस्था निष्क्रिय हुन्छ।
जबर्जस्ती करणी र यौन दुर्व्यवहारले महिलाको मानसिक अवस्थामा गहिरो असर पार्छ। अपरिपक्व उमेर, व्यक्तिगत र पारिवारिक ‘इज्जत’ गुम्ने चिन्ता, सामाजिक बदनामीको डर आदिका कारण महिलाहरू जिन्दगीभर या लामो समयसम्म आफ्नो पीडा सार्वजनिक गर्न सक्दैनन्, र भित्रभित्रै तड्पिएर मानसिक रोगको शिकार बन्छन्। तर, यस्ता भावनात्मक र मानसिक पक्षको बेवास्ता गर्दै समाजका शिक्षित वर्ग समेत ‘घटनाबारे उतिवेलै नबोलेर किन अहिले भनिस्’ भन्दै उल्टै पीडितलाई मानसिक यातना दिइरहेका हुन्छन्।
बलात्कार र यौन हिंसाका पछिल्ला घटनामा अमुक क्षेत्र र पेशा जोडिंदैमा आफ्नो कार्यक्षेत्रलाई धिक्कार्दै थकथकी मान्न जरुरी छैन। बरु उनीहरूले पीडितलाई न्याय र पीडकलाई कारबाहीका लागि बोल्नुपर्छ र आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ।
सौन्दर्य क्षेत्र र बलात्कार
सौन्दर्य प्रतियोगिताका नाममा यौन अपराधको घटना हालै उजागर भए पनि यस्ता प्रतियोगिताको नेपालमा विगतदेखि नै विरोध हुँदै आएको छ। महिलालाई बजारको वस्तु जस्तो बनाएर नारीदेहलाई फित्ताले नाप्ने गरेको भन्दै यी प्रतियोगिता बन्द हुनुपर्ने आवाज विभिन्न समयमा उठ्दै आएका छन्।
सौन्दर्य प्रतियोगितालाई युवा महिलाको प्रतिभा प्रस्फुटनको माध्यम भनिने गरे पनि खासमा सुन्दरताको निश्चित ढाँचा बनाएर त्यसका आधारमा शारीरिक नापनक्सा लिने काम महिलामाथिको अभौतिक हिंसा हो, जसले महिलालाई शरीरकै घेरामा खुम्च्याउन प्रेरित गर्छ। अर्कातिर, यी प्रतियोगिता सौन्दर्य प्रसाधन तथा कस्मेटिक उत्पादनको विशाल बजारसँग जोडिन्छन्।
प्रतियोगिता मार्फत सुन्दरताको मानक जनमानसमा फैलाएर निश्चित समूहले उपभोगवादी संस्कृति मार्फत लाभ लिइरहेको हुन्छ। यससँगै प्रतियोगिताका सहभागीहरूले पाउने चर्चाबाट लोभिएर भर्खरका किशोरीहरू पनि प्रतियोगी बन्न पुग्ने र थाहै नपाई गलत व्यक्तिबाट प्रयोग हुने जोखिम निम्तिने गरेको छ। मनोरञ्जन क्षेत्रमा पनि नभनिएका कति यस्तै कथाव्यथा होलान्।
सौन्दर्य प्रतियोगिताको आवरणमा महिलामाथि भएका अभौतिक र भौतिक हिंसाले यो उद्योगको कुरूप पाटोबारे बृहत् बहस खोजेको छ। हुन त यस सम्बन्धी चर्चा यौन दुर्व्यवहार विरुद्धको अभियान ‘मीटू’ बाटै शुरू भइसकेको हो। तर, हाम्रो समाजमा हिंसालाई भरथेग गर्ने संरचनागत कारणहरूलाई चिर्दै पीडितहरूले बोलेका मीटूका घटनालाई पनि दबाइने वा बेवास्ता गरिने गरेको छ। पितृसत्ताको चिन्तन र व्यवहारका कारण यस्ता पीडालाई सुनेको नसुन्यै गरिदिने प्रवृत्ति रहे पनि पीडितको मुख कहिलेसम्म थुनिरहने? पीडक आफ्नो कर्मको फल नभोगी कहिलेसम्म उम्किरहने?
सौन्दर्य प्रतियोगिताको आवरणमा यसका मालिकहरूले किशोरी र युवतीलाई सुन्दरताको बर्को ओढाएर त्यसैको आडमा गर्ने गरेका शोषण र दुर्व्यवहारको घटना थप उजागर हुँदै जाला। पीडितले साहस जुटाएर वर्षौंपछि वेदना पोख्दा पीडितलाई थप पीडा दिने र लाञ्छित गर्ने अभिव्यक्ति देख्दा हाम्रो समाज यौन हिंसा र दुर्व्यवहारलाई छोप्ने र दोषीलाई जोगाउने अपराधी प्रवृत्तिको देखिने गरेको छ। तर, सचेत मानिसहरूको निरन्तरको खबरदारीले पीडितले निर्धक्क बोल्ने र पीडकलाई सजायको दायरामा ल्याउने वातावरण पक्कै बन्नेछ।
विद्यालयमा यौन दुर्व्यवहार
पछिल्लो समय विद्यालयहरूमा केही संस्थाले यौन दुर्व्यवहारबारे सचेतना कक्षा चलाउँदा तथा समयसँगै विद्यार्थीमा बुझाइ विकसित हुँदै जाँदा केही बालिकाले आफूमाथि शिक्षकले गरेको व्यवहार दुर्व्यवहार भन्ने बुझे। उनीहरूले आफ्नो भोगाइबारे गुनासो गर्दा शिक्षक र शिक्षिका नै मिलेर ती आवाज दबाउँदै र टार्दै आएका थिए। तर, विद्याको मन्दिरको पर्खाल नाघेर केही वर्षयता यौन दुर्व्यवहारका विभिन्न घटना सार्वजनिक भइरहेका छन्। वर्षौंअघिको घटनामा पनि छात्राहरूले पूर्व शिक्षकको चरित्र उदाङ्गो पारिरहेका छन्।
शिक्षकहरूले छात्रामाथि गरेको बलात्कार र यौन दुर्व्यवहारको घटना आइरहँदा शिक्षक वर्गले आफ्नो पेशालाई र अन्यले यो क्षेत्रलाई नै कलङ्कित सम्झेको पनि देखिन्छ। तर, कुनै पेशा वा क्षेत्र आफैंमा खराब हुने हैन, मानवीय चरित्र र व्यवहार खराब हुने हो। यो खराब चरित्र विरुद्ध बोल्न थालेका विद्यार्थीहरूको आवाजले बरु शिक्षालयभित्रका नकारात्मक सोचलाई सबक सिकाउँदै सम्भावित घटना रोक्न सहायक भूमिका खेल्नेछ।
मनोरञ्जन, शिक्षा जस्तै स्वास्थ्य क्षेत्रमा पनि यौन दुर्व्यवहारका घटना आइरहेका छन्। सेना, नेता, पत्रकार, साधुसन्त लगायत पनि यौन दुर्व्यवहारका घटनामा संलग्न भएको हामीले समाचारहरू पढ्दै आएका छौं। यसरी हेर्दा, यौन दुराचारी कुनै पेशाविशेषमा मात्र हुने कुरा हैन। परिवारभित्रै पनि बाबु वा दाजुभाइ, आफन्तजनबाट पनि यस्तो दुष्कर्म हुने गरेका छन्।
हाम्रो समाजमा यौन दुराचारीहरू किन बढिरहेका छन्? यो मनोविकार हो कि समाजबाट प्राप्त शक्तिको दुरुपयोग? दुर्व्यवहारको शिकार बनिएला भन्दै महिला सधैं डर र सतर्कतामै बस्नुपर्ने हो? अनि, समाजले यौन दुराचारीलाई किन जोगाउन खोज्छ? अपराधको संरक्षक र पीडितप्रति अनुदार र उल्टै पीडक बन्ने समाजको प्रवृत्ति अध्ययनको विषय हो।
दुर्व्यवहारको पीडाबाट गुज्रेका सबैले आफ्नो भोगाइ भन्न सक्दैनन्। पढेलेखेकै महिलाहरूलाई पनि दुर्व्यवहारबारे खुल्न सजिलो कहाँ छ र, ‘इज्जत’ जो महिलाको जिम्मामा छ। यौन पिपासु बन्दै बलात्कार गर्छ पुरुष, तर ‘इज्जत’ जान्छ महिलाको। हाम्रो समाजले महिलाको यौनाङ्गमा इज्जत राखिदिएको छ। जसका कारण कसैको यौन आवेगको शिकार भएपछि आफ्नो, परिवार र समाजको इज्जत, प्रतिष्ठा जोगाउन चूपचाप बस्दा पीडित महिला अन्ततः गहिरो मानसिक समस्यामा फस्न पुग्छन्।
पीडितले आफूमाथिको दुर्व्यवहारबारे बोल्दा उल्टै बदनाम र लाञ्छित हुने भएपछि यो विषय त भन्न नहुने रैछ भने मनभित्रै दबाइएका घटना कैयौं होलान्। यो स्थिति चिर्न र सङ्कोच हटाउन यौन दुर्व्यवहारबारे सामाजिक चेतना र यौन शिक्षा विस्तार गर्नुपर्ने देखिन्छ।
यौन हिंसाका घटना रोक्न के गर्ने?
– यौन हिंसा र दुर्व्यवहारका सम्भावित घटनाको जानकारी पाउनासाथ त्यस विरुद्ध बोल्ने।
– असहज किसिमका प्रस्तावलाई सीधै ‘नाइँ’ भन्ने र यस्ता प्रस्तावबारे आफ्ना अभिभावक वा निकटका अन्य व्यक्तिलाई खबर गर्ने।
– कतै कसैलाई ललाइफकाई वा जबर्जस्ती घटना भएका छन् भने जानकारीमा आउने बित्तिकै सम्बन्धित निकायमा खबर गर्ने र पीडितको अवस्थामा ध्यान दिने।
– पीडितलाई आवश्यक मानसिक, आर्थिक तथा कानूनी उपचारका लागि सम्बन्धित पक्षले सहयोग गर्ने।
– किशोरावस्था, प्रजनन, यौन शिक्षाबारे प्रभावकारी पाठ्यक्रम बनाएर पढाउने व्यवस्था गर्ने।
– आत्मरक्षा, सुरक्षाका तालीम व्यापक बनाउने।
– बलात्कारी अपराधी हो, ऊ सजायको भागीदार हुन्छ र इज्जत पनि उसैको जान्छ भन्ने मनस्थिति बनाएर घटना विवरण सार्वजनिक गर्ने।
– बलात्कार सम्बन्धी विद्यमान कानून सर्वसाधारणलाई जानकारी दिने कानूनी साक्षरता कार्यक्रम चलाउने।
– दण्डहीनता अन्त्य गरी बलात्कारमा संलग्नले सजाय पाउने कानूनी प्रत्याभूति दिलाउने।
घटनापछि पीडितलाई मानसिक, सामाजिक सहयोग र पीडकलाई कारबाही गर्ने विषय त छँदै छ, बलात्कार र यौन हिंसाका घटना बढ्नुको मूल कारण के हो भन्नेमा विषयविज्ञ सहित अनुसन्धान गर्नु पनि उत्तिकै जरुरी देखिएको छ। समाजको कुन चलन, प्रवृत्ति, परम्परा, अभ्यास, संरचनाले पुरुषहरूलाई स्त्रीद्वेषी बनाएर बलात्कार जस्तो जघन्य अपराधमा धकेलिरहेछ भन्ने जरा तत्त्व नकेलाई यसको समाधानमा पुग्न सकिंदैन।