बालेन्द्र साहको आगमन स्वाभाविक देखाउने नेवार–मधेश प्राचीन सम्बन्ध
मधेशी समुदायका थुप्रैले काठमाडौं उपत्यकामा नेवारका रूपमा सदियौंदेखि आफ्नो पहिचान बनाउँदै आएको सन्दर्भमा काठमाडौं महानगरमा बालेन्द्र साह मेयर हुनुलाई अनपेक्षित र अचम्म मान्नुपर्ने ठाउँ नै छैन।
काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह (बालेन)ले उम्मेदवारी दिएदेखि र निर्वाचित भएपछि पनि एउटा प्रश्न तरङ्गित भइरह्यो– नेवार बाहुल्य क्षेत्रमा मधेशी समुदायको मानिस मेयर?
यो प्रश्न गर्नेहरूलाई पहिले साहको उम्मेदवारी र विजय अस्वाभाविक, असम्भव लागेको थियो, अहिले जित अनपेक्षित हुन पुग्यो।
वास्तवमा त्यो प्रश्न नै औचित्यपूर्ण होइन।
काठमाडौं महानगर मात्रै नभएर पूरै काठमाडौं उपत्यका वा नेवार परम्पराको इतिहास आत्मसात् गर्नेका लागि यहाँ कोही मधेशी अगाडि आउनु र हेलमेल भएर बस्नु कुनै नयाँ घटना होइन। उपत्यकामा यसअघि गैरनेवार समुदायबाट चुनावमा सहभागी र निर्वाचित हुनेहरूको सूची लामै बन्छ। तर, पहिले गैरनेवार व्यक्ति सम्बन्धी प्रश्न कहिल्यै नउठ्नु तर मधेशका एक युवा मेयरमा उठ्नासाथ तरङ्ग आउनुले नेवार र मधेशीबीच भर्खर मात्रै सम्पर्क भएको हो कि भन्ने गलत बुझाइ बन्न सक्छ, वा त्यही बुझाइकै परिणाम हो त्यस्तो प्रश्न।
काठमाडौंमै जन्मेका तथा हुर्केका साहका विभिन्न अन्तर्वार्ता सुन्दा उनी स्थानीयतामा घुलमिल हुनुका साथै यहाँको जनजीवन र संस्कृतिलाई धेरै मात्रामा बुझेको देखिन्छ। तर, साहका समर्थक तथा उपत्यकामा भर्खर भर्खर प्रवेश गरेका, स्थानीयतालाई आत्मसात् नगरेका वा ऐतिहासिकतामा उदासीन कतिपयले यसलाई नेवार समुदाय विरुद्धको चुनौतीका रूपमा प्रस्तुत गरिरहेका छन्। जुन अतिवादी सोच हो।
वर्षौंदेखि राजनीति गर्दै आएका व्यक्ति तथा दलहरूसँगको असन्तुष्टि र नयाँ अनुहारबाट केही अपेक्षाका कारण बालेन्द्र साहप्रति जनमत ढल्किएको देखिन्छ। तर, यस लेखमा त्यसबारे चर्चा नगरी नेवार समुदाय र काठमाडौं उपत्यकासँग मधेशको ऐतिहासिक, सामाजिक, सांस्कृतिक तथा परम्परागत सम्बन्ध र त्यसको वर्तमान स्थितिबारे विमर्श गरिनेछ।
को हुन् नेवार?
को हुन् नेवार भन्ने विषयमा छलफल नगरी नेवार र मधेशको सम्बन्धमा चर्चा गर्नु अलि अपूरो हुन्छ।
नेपाल र नेवारको सन्दर्भमा ऐतिहासिक विमर्श गर्दा हामी किरात विषयवस्तुभन्दा अलि अगाडि बढ्नैपर्छ। भूगर्भ विज्ञानले पनि पुष्टि गरेको र प्रायः वाङ्मयमा उल्लिखित विवरण अनुसार काठमाडौं उपत्यका शुरूमा एउटा ठूलो तलाउ थियो। यहाँको पानीले निकास पाएपछि बनेको उपत्यकामा पछि मानव सभ्यताको विकास भयो।
ध्यान दिनुपर्ने के छ भने, यो उपत्यका सबै समथर भूमि नभएर अग्लो–होचो भूबनोट छ। पूरै उपत्यका पानीले भरिएको तलाउ थिएन। उँचा भूभागहरू पनि एकअर्कोसँग जोडिएको पाइन्छ। यस अनुसार तलाउ छँदै यहाँ मानव बसोबास थियो र एक ठाउँबाट अर्कोमा आउजाउ पनि हुन्थ्यो।
उपत्यका तलाउका रूपमा छँदादेखि नै कीर्तिपुर, सतुंगल, बलम्बु लगायत दक्षिण–पश्चिम भूभाग तथा उत्तरतिर पनि मानव सभ्यताको विकास भइसकेको थियो। कीर्तिपुर क्षेत्रका नेवारहरू सन्दर्भविशेषमा धिनाचो पर्वत (चम्पादेवी) पुगिराख्नु र काठमाडौंको ‘कोर सिटी’ का ज्यापू समुदायको सांस्कृतिक सम्बन्ध नुवाकोटको कविलास क्षेत्रसँग हुनुले सुदूर अतीतबारे अनुमान गर्न सघाउँछ।
वंशावलीमा यस उपत्यकाको पहिलो शासक वा राज्य व्यवस्थाको केही झलक पाइन्छ। गाईपालक समुदायलाई संंस्कृतकरण गरी गोपालवंश र महाभारतको श्रीकृष्णसँगै नेपाल आएका ग्वालाहरू भनी धार्मिक रङ दिइयो। बौद्धहरूले पनि मञ्जुश्रीले यहाँको पानी निकास गरी मानवबस्ती बसाएर धर्मपाललाई राजा बनाएको भनी बौद्धकरण मार्फत अनौठो कथा सिर्जना गरे। अतीतका ती कुरा जस्तोसुकै भए पनि तिनले एउटा कालखण्डको सभ्यता र संस्कृतिको सङ्केत गर्छन्। यस पक्षलाई पन्छाएर इतिहासलाई किरातबाट शुरू गर्नु उक्त लामो कालखण्ड र सभ्यतालाई छाड्नु वा बिर्सनु हो।
गाईपालक समुदायलाई स्थानीय नेवार समाजमा ‘सापू’ वा ‘ग्वाः’ भनेर चिनिन्छ र यिनीहरूलाई अहिले ज्यापू समुदायभित्र गणना गरिन्छ। अझै पनि चित्लाङ, टिस्टुङ, पालुङ लगायत क्षेत्रमा यो समुदायको बाक्लो बसोबास छ। यो समुदायको उपस्थिति प्राचीन कालदेखि कीर्तिपुरमा रहेको जनाउ दिने ग्वाःपुखू’, ‘ग्वाःछें’ लगायत अवशेषहरू अझै पनि छन्। कीर्तिपुर क्षेत्रमा यो समुदाय नाशिनु हुँदैन भन्ने सांस्कृतिक मान्यता अनुसार अन्तैबाट भए पनि ल्याएर राख्नुपर्छ। कीर्तिपुरको सागल टोललाई वंशावलीमा संस्कृतमा अनुवाद गरी ‘गोपुर’ भनिए पनि व्यवहारमा प्रचलित छैन। सापू जस्तै स्थानीय ‘मेयपू’ हरूलाई वंशावलीमा संस्कृतमा ‘महिषपाल’ भनिए बुझ्न सकिन्छ।
सापू, मेयपू, फैपू, हँयपू आदि नामका समुदाय ज्यापू समुदायभित्र विद्यमान छन्। सापूहरूको जीवनशैली तथा आचारविचार कुनै पनि कुरा महाभारतको श्रीकृष्णसँग सम्बन्धित भनिएका यादवहरूसँग नमिल्ने भएकाले यसलाई छुट्टै रूपमा अध्ययन गर्न जरुरी छ।
समुदाय भएपछि उनीहरूको भाषा, संस्कृति र आस्था पनि हुने नै भए। त्यसका लागि इतिहास र परम्पराको अध्ययन गर्नु जरुरी छ। रमाइलो कुरा त, उक्त प्राचीन परम्परा धान्दै आएको समुदाय नेवारभित्र विद्यमान हुनु हो। यस अवस्थामा काठमाडौं उपत्यका र नेवारको इतिहास किरातबाट शुरू भएको मान्न सकिंदैन। लामो समयदेखिको परम्परामा बरु किरात समुदाय बीचमा मिसिन आइपुगेको देखिन्छ।
काठमाडौंको इतिहास, संस्कृति र परम्पराको अध्ययन गर्दा विभिन्न जातीय समुदाय यहाँ प्रवेश गर्दा आफूसँगै भाषा, धर्म, साहित्य, संस्कृति, कला पनि साथमा लिएर आउने र स्थानीयकरण हुने गरेको पाइन्छ। यही अन्तर्घुलन गर्ने क्रममा विकास भएको सभ्यता नेवार हो। काठमाडौंमा आगन्तुक बनेर आएकाहरू शासकसम्म भएको पाइन्छ, तर शासन सत्ताबाट बाहिरिंदा बाहिर फेरि पलायन नभई यहीं बसेको पाइन्छ। किरातहरूलाई लिच्छविहरूले हराएको र त्यसपछि पूर्वतिर पलायन भएको भन्ने कथन प्रायः उल्लेख गरिन्छन्। तर, यो इतिहाससम्मत देखिंदैन।
किरातहरूलाई सत्ताबाट हटाउने काम लिच्छवि वंशबाट नभएर वर्मा वंशबाट भएको हो। लिच्छविभन्दा अगाडि काठमाडौं उपत्यकामा वर्मा वंशले पनि लामो समय शासन गरेको पाइन्छ। चाँगुनारायण, विशंखुनारायण, इचंगुनारायण र शेषनारायणको स्थापना वर्मा शासककै देन हो। केही दशकअघि काठमाडौंको माली गाउँमा प्राप्त आदम कदको ढुङ्गेमूर्ति (हाल राष्ट्रिय संग्रहालय, छाउनीमा) यही वंशका राजा जय वर्माको हो।
किरातहरू काठमाडौंबाट पलायन भई पूर्वतिर लागेको भन्ने कथनमा पुनर्विचार गर्नुपर्ने देखिन्छ। त्यस कथनलाई सही मान्ने हो भने स्वयं किरात समाजमा स्थापित कतिपय मिथकको खण्डन हुन जान्छ। किरातहरू इतिहासको कुनै कालखण्डमा काठमाडौंमा कतैबाट प्रवेश गरेको र हाल बसोबास रहेको पूर्वको ठाउँमा काठमाडौंबाटै गएको मान्दा स्वयं किरात समुदायमा प्रचलित अरुण नदीको तीरैतीर भई खुवालुङकफ पूजा गरी माथि पहाडमा प्रवेश गरेको भन्ने परम्परागत मिथकसँग पनि मेल खाँदैन।
सुम्निमा र पारुहाङ लगायतका कुरा सुदूर पूर्वको घटना भनिन्छन्, तर किरातलाई काठमाडौं उपत्यकासँग जोड्दा ती परम्परागत मान्यता वा प्रसङ्ग निकै नयाँ, ईश्वी संवत् शुरू भइसकेपछिको मात्रै ठहरिन पुग्छ। यसैलाई बरु हाल किरात बाहुल्य रहेको पूर्वी भेगबाट एक हुल किरात काठमाडौं उपत्यकामा प्रवेश गरेको, रहँदाबस्दा उनीहरू पनि काठमाडौं उपत्यकाकै समाज र सभ्यतामा घुलमिल भएर बसेको मान्न सकिन्छ।
सत्ता परिवर्तन हुँदा पनि किरातहरू पूर्वतिर भाग्नुपरेको देखिंदैन। थोरै सङ्ख्यामा पलायन भए होला, जसले सम्पूर्ण किरातको प्रतिनिधित्व गर्दैन। आफूलाई त्यति वेलाका किरात भनेर परिचय दिने जनसमुदाय अहिले पनि नेवारभित्र भेटिनु यसको बलियो प्रमाण हो। यसरी नै वर्मा, लिच्छवि, गुप्तहरू पनि काठमाडौंका नेवारभित्र देख्न पाइन्छ।
काठमाडौंमा प्रवेश गरी यस क्षेत्रलाई आफ्नो भूमिको रूपमा अपनाएर बसिसकेकाहरू कोही पनि फर्केर गएको इतिहास नपाइएका कारण किरात समुदाय मात्रै फर्केको कुरा तथ्यसङ्गत लाग्दैन। बेग्लाबेग्लै ऐतिहासिक पृष्ठभूमि भएका समुदायहरू नेपाल नामको भूगोलमा बसोबास गरी अन्ततोगत्वा बनाएको संयुक्त पहिचान नै नेवार हो।
मधेशसँगको सम्बन्ध
बुद्धको जीवनकालमा नै बौद्ध धर्म काठमाडौं उपत्यकामा प्रवेश भइसकेको थियो। बुद्धको विचरण भूमिहरूमध्ये हालको मधेश क्षेत्र पनि एक हो। त्यति वेला यो बज्जी गणराज्य अन्तर्गत पर्थ्यो। काठमाडौंमा बौद्ध धर्मको प्रवेश मधेश भूमिबाटै भएको हो। काठमाडौं त्यति वेला नै एउटा व्यापारिक केन्द्रका रूपमा विकास भइसकेको तथ्य प्रमाणित छ। यस अवस्थामा मधेशसँग गहिरो सम्बन्ध भइसक्ने कुरा नकार्न सकिंदैन।
मधेश क्षेत्रमा हुने राजनीतिक, धार्मिक तथा सांस्कृतिक उथलपुथलहरूको प्रत्यक्ष प्रभाव काठमाडौं उपत्यकामा पर्ने गरेको पाइन्छ। बुद्धको समय मात्रै नभएर त्यसपछि पनि लामो समयसम्म यो क्षेत्रमा बौद्ध प्रभाव देख्न पाइन्छ। वीरगन्जको भिसुवामा रहेको विशाल स्तूप यसैको एक उदाहरण हो। त्यहाँ बौद्ध धर्मसँग सम्बन्धित थुप्रै मूर्ति तथा अन्य तथ्य फेला परेका छन्। त्यस क्षेत्रबाट अवलोकितेश्वरको मूर्ति पाइनुको अर्थ हो, पछि यहाँ महायानी बौद्ध सम्प्रदायको प्रभाव रह्यो र ईश्वीको चौथो/पाँचौं शताब्दीयता पनि बौद्ध प्रभाव कायमै थियो। सम्भवतः कर्नाटवंशी राज्यव्यवस्था स्थापना हुनुअघिसम्म मधेश क्षेत्रमा बौद्ध धर्मको प्रभाव थियो र त्यसको सम्बन्ध काठमाडौंसँग पनि रह्यो।
वर्तमान मधेशको सामाजिक तथा सांस्कृतिक जीवनमा कर्नाटवंशीय राज्यसत्ताको ठूलो प्रभाव छ। तत्कालीन नेपाल वा काठमाडौं उपत्यकाको राज्यसत्ताबीच वैवाहिक सम्बन्ध पनि गहिरो नै मान्नुपर्छ। कर्णालीको खस साम्राज्य मात्रै नभएर दक्षिणको कर्नाटवंशी राज्यसत्ता पनि काठमाडौं उपत्यकामा आक्रमण गर्न पटक पटक आउँथ्यो। यो आक्रमणको प्रकृति अन्य जस्तो नभएर आफ्नो पक्षीय राजसत्तालाई सघाउने तथा विपक्षीलाई अँचेट्ने खालको थियो। तत्कालीन नेपालमा द्वैध शासन थियो र देवनामधारी राज्यसत्तालाई सघाउन कर्णालीबाट र मल्ल नामधारी राज्यसत्तालाई सघाउन कर्नाटवंशी राज्यसत्ताका सैनिकहरू आउँथे। यसबाट पनि बुझ्न सकिन्छ, मधेश क्षेत्रसँग काठमाडौंको राजनीतिक सम्बन्ध प्रगाढ थियो।
पछि मुसलमानी आक्रमण थेग्न नसकी पलायन भएका कर्नाटवंशी अन्तिम राजा हरिसिंहदेव उत्तरतिर लाग्नुको अर्थ हो, ससुराली राज्यमा शरण लिन आउनु। रानी देवलदेवी भक्तपुर राजदरबारकी राजकुमारी थिइन्। दरबारमा आफ्नी आमा पदुमलदेवीसँग मिलेर आफ्नो माइती राजखलकलाई सशक्त बनाएकी थिइन्। अझ दरबारमा राजकुमारी नायकदेवीलाई हुर्काउने तथा उनीबाट प्राप्त राजकुमारी राजल्लदेवीको विवाह गराउन मधेशबाट स्थिति मल्ललाई दोलाका रूपमा झिकाइएको थियो। स्थिति मल्लपछि नेपालको राजनीतिले कोल्टे फेरेको मात्रै नभएर त्यसपछिका दिनहरूको अध्ययन मधेशलाई बेवास्ता गरेर गर्न सकिन्न।
काठमाडौंको नेवार सांस्कृतिक जीवनमा मिथिलाको संस्कृति भलै पछि जोडिन आएको हो, तर अभिन्न भएर नेवार संस्कृतिकै रूपमा विकास भएको छ। नेवार संस्कृतिले मिथिला वा मधेश संस्कृतिसँग कृतज्ञ हुनैपर्छ। यसरी नै मधेशको तत्कालीन राजनीतिक, सामाजिक, सांस्कृतिक लगायत विषयको अध्ययन गर्न काठमाडौं उपत्यका एउटा राम्रो स्रोत हो।
नेवार सभ्यतामा मधेशको साहित्य र सङ्गीत
भाषा, साहित्य र सङ्गीतमा नेवार सभ्यतालाई उच्च मानिन्छ, तर यसको स्रोत मधेश रहेको पाइन्छ। मैथिली भाषा–साहित्यमा महाकवि विद्यापतिको ठूलो स्थान छ। विद्यापतिका रचना मिथिलाञ्चलमा लोकप्रिय हुनु र गाइनु त स्वाभाविकै हो, तर उनका रचना मधेश क्षेत्र बाहिर नेपालमा गाइने भूगोल काठमाडौं उपत्यका मात्रै हो। विद्यापतिका रचनाहरू आजभोलि पनि उपत्यकाका नेवार बस्तीहरूमा साँझपख भजनमा गाउने परम्परा कायमैै छ।
नेपाल भाषा–साहित्यमा काव्य तथा नाटक रचना गर्नमा उपत्यकाका नेवार मल्ल राजाहरू अग्रणी थिए। उनीहरूले नेपाल भाषा बाहेक मैथिली भाषामा पनि प्रशस्त काव्य तथा नाटक रचना गरेको पाइन्छ। प्राचीन मैथिली साहित्यको अध्ययन गर्दा काठमाडौं उपत्यकामा सिर्जना गरिएका साहित्यलाई छुटाउन सकिंदैन।
नेवार–मधेश सम्बन्धमा खाडल
मधेशसँग नेवारको सम्पर्क कहिलेबाट पातलियो भन्ने कुरा झट्ट किटेर भन्न सकिन्न। आधुनिक नेपालको निर्माणपछि, अझ राणाकालमा काठमाडौं उपत्यकाको सहज प्रवेशमा रोक लगाइएको पाइन्छ। सम्भवतः त्यही रोकले सम्बन्धलाई प्रभाव पारेको हुन सक्छ। तर, सदियौं अगाडि नै काठमाडौं आएर नेवारकै पहिचान बनाइसकेका झा, मिश्र लगायत मैथिल ब्राह्मण समाजको सम्पर्क मिथिलाञ्चलसँग हुन्थ्यो नै। यो सम्बन्ध अझै पनि देख्न पाइन्छ।
नेवार र मधेशको सम्बन्धबारे चर्चा गर्दा नकारात्मक रूपमा प्रयुक्त ‘मनु मखु मर्स्या खः’ भन्ने वाक्य प्रायः उल्लेख गरिन्छ। मधेशी समुदायका लागि यो वाक्य मुटुमा बिझाउने खालको छ नै, यो कुरा नेवार समुदायलाई पनि निको लाग्दैन। मधेशी मान्छे नै नगन्ने भाव प्रकट भएको यो वाक्य वास्तवमा नेवारको मुखबाट निस्किने वाक्य संरचनामा छैन। कुनै अर्कै भाषाको वाक्य संरचनालाई नेवार भाषामा शब्दशः अनुवाद गरेर नेवार समुदायमा हठात् थोपरिदिएको मात्रै देखिन्छ। तसर्थ, उक्त वाक्य नेवारसँग सम्बन्ध नभएको तर कोही तेस्रो पक्षले दुई समुदायबीच फाटो ल्याउन र समाजमा वैमनस्यता बढाउन फैलाएको हौवा भन्न सकिन्छ।
अन्त्यमा, काठमाडौं महानगरका नवनिर्वाचित मेयर बालेन्द्र साहले एक अन्तर्वार्तामा आफू पनि नेवार नै भएको अभिव्यक्ति दिएका छन्। नेवार समुदायमा जन्मेको, हुर्केको, भाषा बोलेको, नेवार समुदायलाई बुझेको, मन परेको लगायत आधार मात्रै नभएर आफूले आफैंलाई नेवार भनेर आत्मसात् गरेपछि त्यसलाई नकार्न नसकिने परम्परा नेवार सभ्यताको परम्परा नै हो। मधेशी समुदायका थुप्रैले नेवारका रूपमा सदियौंदेखि आफ्नो पहिचान बनाएर आएको सन्दर्भमा बालेन्द्र मात्रै त्यसबाट अलग हुन सक्ने कुरै आउँदैन। यस अनुसार उनी नेवारका लागि चुनौती पनि होइनन्। यो तर्कले नेवार इतिहास र सभ्यता वर्तमानमा पनि उत्तिकै जीवन्त रहेको सङ्केत दिन्छ। काठमाडौं उपत्यका र यहाँको नेवार समुदायलाई मानवशास्त्रीय भाषामा ‘मेल्टिङ पट’ भनेर उपमा दिनुको खास तात्पर्य पनि यही हो।