जेसीबीको ठक्करबाट तीनको मृत्यु, पाँच घाइते
कञ्चनपुरको भीमदत्तनगरपालिका–८ वनगाउँस्थित पूर्वपश्चिम राजमार्गमा शुक्रबार बिहान जेसीबीले ठक्कर दिँदा अटोरिक्सामा सवार तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।
पश्चिम दिशातर्फ आइरहेको से१त ७३३ नंको जेसीबीले ठक्कर दिँदा से१ह ७६३ नंको अटोरिक्सामा सवार एक महिला र दुई पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
त्यसगैरी अटोमा सवार पाँच घाइते भएका छन् । घाइतेको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा उपचार हँुदैछ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मृतकको उद्धार भइरहेको बताउँदै पहिचान हुन नसकेको जानकारी दिएको छ । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
दुर्घटनामा घाइते भएका भीमदत्त नगरपालिका–१० का १८ वर्षीया जगदीश पार्की, बैतडी देहीमाडौंका ३२ वर्षीया लक्ष्मी बोहरा, उनका तीन वर्षीया छोरा निशान्त बोहरा, भीमदत्तनगरपालिका–११ का २६ वर्षीय प्रेम थापा र बेल्डाँडी गाउँपालिका–७ का २६ वर्षीय सन्तोष लुहार रहेका छन् ।
जेसीबी चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।