त्रियुगामा ३३ हजार मतगणना, कसको कति?
उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना अन्तिमतिर पुग्दा नेपाली कांग्रेसका उम्मेदवार वसन्त बस्नेतले झण्डै दुई हजारको अग्रता कायम गरेका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, आइतबार मध्याह्नसम्म ३३ हजार ६५८ मतगणना भएको छ। वैशाख ३० गते भएको निर्वाचनमा त्रियुगामा ४० हजार १७९ मत खसेको थियो।
अहिलेसम्मको मतगणना अनुसार, मेयरमा कांग्रेसका उम्मेदवार बस्नेतले ११ हजार ६५८ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का भागवत राउतले नौ हजार ७२४ मत पाएका छन्।
नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार बलदेव चौधरी तेस्रो नम्बरमा छन्। उनले सात हजार ७९५ मत पाएका छन्। यो नगरपालिकामा एकीकृत समाजवादी र नेकपा (माओवादी केन्द्र) बीच तालमेल भएको छ।
त्यस्तै, उपमेयरमा भने तीव्र प्रतिस्पर्धा छ। एमालेकी उम्मेदवार महेश्वरी राईले १० हजार ८४९ मत पाएकी छन् भने प्रतिस्पर्धी कांग्रेसकी सरिता राईले १० हजार २२६ मत पाएकी छन्।
उपमेयरमा माओवादी उम्मेदवार गीता खड्का भने पछाडि परेकी छन्। उनले पाँच हजार ८३८ मत पाएकी छन्।
त्रियुगामा वैशाख ३० गते मतदानपछि विवाद भएको थियो। जसले गर्दा मतगणनामा ढिलाइ भएको हो।