पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा दुई युवा अनशनमा
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा दाङका दुई युवा अनशन बसेका छन्।
लमही नगरपालिका–४ का बाबु रोका मगर र लमही–५ का डिल्लीराज खनाल शुक्रबारदेखि अनशन बसेका हुन्। उनीहरू लमही नगरपालिका बसपार्क नजिकै सडक छेउमा टेन्ट टाँगेर बसेका छन्। छाती र टाउकोमा प्लाकार्ड टाँसेका छन्।
सरकारले मूल्यवृद्धि फिर्ता नलिएसम्म अनशन जारी राख्ने मगरले बताए। “जनताको पक्षमा अनशन बसेकाले हामीलाई सबैले साथ दिइरहनुभएको छ,” उनले भने, “जबसम्म सरकारले मूल्यवृद्धि फिर्ता लिंदैन तबसम्म हाम्रो अनशन जारी रहन्छ।”
यसै गरी अनशनरत खनालले आफूहरूले जायज विषयमा शान्तिपूर्ण आन्दोलन गरेकाले सरकारले छिटै सम्बोधन गर्नेमा विश्वस्त रहेको बताए। आन्दोलन नेपाली नागरिकको पक्षमा भएकाले आम नागरिकको सहयोग र साथ पाउने उनको भनाइ छ।