तारा एअरको जहाज खोज्न सेना र प्रहरी परिचालन
प्रतिकूल मौसमका कारण हवाईमार्गबाट तारा एअरको जहाजको खोजी कार्य प्रभावित भएपछि स्थलमार्गबाट सेना र प्रहरी परिचालन गरिएको छ।
आज बिहान ९ः५५ बजे पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको तारा एअरको ९एन एईटी जहाज १०ः०७ बजे सम्पर्कविहीन भएको थियो। घोडेपानीबाट अन्तिम पटक सम्पर्क भएको र त्यसपछि सम्पर्कविहीन भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ।
जहाजको खोजीका लागि फिस्टेल एअरको हेलिकोप्टर पठाइएको थियो। तर, प्रतिकूल मौसमका कारण हेलिकोप्टर जोमसोम फर्किएको केन्द्रले जनाएको छ।
केन्द्रले प्रेस विज्ञप्ति जारी गरी प्रतिकूल मौसमका कारण हवाईमार्गबाट खोजी कार्य प्रभावित भएको जनाएको छ। मौसम खुल्ने बित्तिकै खोजीमा पठाउन काठमाडौं, पोखरा र जोमसोम विमानस्थलमा हेलिकोप्टर तयारी अवस्थामा राखिएको छ।
हवाईमार्गबाट खोजी कार्य प्रभावित भएपछि स्थलमार्गबाट नेपाली सेना र नेपाल प्रहरीको टोली पठाइएको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ।
सम्पर्कविहीन जहाजमा तीन जना चालक दलका सदस्य तथा १९ यात्रु सवार छन्।