तारा एअरको जहाज खोजीमा गएको हेलिकोप्टर जोमसोम फर्कियो
सम्पर्कविहीन तारा एअरको जहाज खोजीका लागि गएको फिसटेल एअरको हेलिकोप्टर खराब मौसमका कारण जोमसोम फर्किएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले मौसम सफा भएपछि हेलिकोप्टर पठाइने जनाएको छ। खोजीका लागि काठमाडौं‚ पोखरा र जोमसोम विमानस्थलमा हेलिकोप्टर तयारी अवस्थामा राखिएको प्राधिकरणले बताएको छ।
अहिले जहाज खोजीका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली स्थलमार्गबाट त्यसतर्फ प्रस्थान गरिसकेको प्राधिकरणले जनाएको छ।
आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको कल साइन ९एनएईटी ट्वीनअटर जहाज म्याग्दी र मुस्ताङको सीमा नजिक पुगेर हराएको छ। ६ जना विदेशी सहित १९ यात्रु लिएर उडेको जहाज बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो।