९४ प्रतिशत नेपालीको घरमा बिजुली
करीब ९४ प्रतिशत नेपालीको घरमा विद्युत्को पहुँच पुगेको छ।
शनिबार सार्वजनिक गरिएको आर्थिक सर्वेक्षण २०७८/७९ का अनुसार, गत फागुनसम्म बहुसङ्ख्यक नेपालीका घरमा विद्युत् पहुँच पुगेको हो।
सर्वेक्षणका अनुसार, गत फागुनसम्म नेपालमा विद्युत्को जडित क्षमता दुई हजार २०५ मेगावाट पुगेको छ। गत असारमा विद्युत्को जडित क्षमता एक हजार ६ सय ८५ मेगावाट थियो।
माथिल्लो तामाकोशी लगायतका विद्युत् परियोजनाको निर्माण सकिएर उत्पादन शुरू भएपछि विद्युत् जडित क्षमता उल्लेख्य बढेको हो।
यसमध्ये जलविद्युत्गृहको जडित क्षमता दुई हजार २२ मेगावाट छ। सौर्य प्लान्टबाट ४९.७६ मेगावाट, थर्मल प्लान्टबाट ५३.४ मेगावाट, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट ७४ मेगावाट तथा चिनी मिलबाट ६ मेगावाट विद्युत् उत्पादनको क्षमता छ।
निजी क्षेत्रले एक हजार ४४० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडेको छ।